अमेरिकी आक्रमणमा यमनमा ५ बालबालिकासहित ५३ मारिए 

चैत्र ४, २०८१

एजेन्सी

53 killed including 5 children in Yemen in US attack

साना/वासिङटन — अमेरिकाले लाल सागरमा पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको यमनस्थित हुथीविरूद्धको कारबाही तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार आफ्ना सेनाले हुथी विद्रोही समूहका अल जौफ र हुदैदाह क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ । 

अमेरिकाले आइतबार र सोमबार गरेका आक्रमणमा ५३ जनाको ज्यान गएको छ । हुथीद्वारा सञ्चालित  स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अल-अस्बाहीले सामाजिक सञ्जाल एक्समा ‘पाँच बालबालिका र दुई महिलासहित ५३ जनाको ज्यान गएको’ बताएका छन् । उनका अनुसार ९८ जना घाइते भएका छन् ।

अमेरिकाले आक्रमणमा केही प्रमुख हुथी नेताहरू मारिएको दाबी गरेको छ । तर यसबारे हुथी समूहले कुनै पुस्टि गरेको छैन । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले एबीसी न्युजसँग अमेरिकी आक्रमणमा ‘धेरै हुथी नेतालाई लक्षित गरिएको’ जनाएका छन् । ‘हामीले उनीहरूलाई अत्यधिक बल प्रयोग गरेर प्रहार गर्‍यौं र इरानलाई अब अति भयो भनेर कडा चेतावनी दियौं,’ उनले भने । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले हुथी आक्रमणहरू बन्द नभएसम्म अमेरिकाले कारबाही जारी राख्ने चेतावनी दिएका छन् । 

लाल सागरमा पानीजहाजमाथि आक्रमण गरेका कारण हुथीविरुद्ध कारबाही सुरु गर्नुपरेको ट्रम्पको भनाइ छ । ‘हुथीले इरानको आर्थिक सहयोगमा अमेरिकी विमानमा क्षेप्यास्त्र प्रहार गरेका छन् । हाम्रा सेना र सहयोगीलाई लक्षित गरेका छन्,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखेका छन् । हुथीको ‘डकैती, हिंसा र आतंकवादका कारण अर्बौं डलर खर्च भएको र धेरैको जीवन जोखिममा पारेको’ ट्रम्पको भनाइ छ ।

गाजामा इजरायल र हमासबीचको युद्धको प्रतिक्रियामा लाल सागरबाट हुने ढुवानीलाई लक्षित गर्न थालेको हुथी समूहले अमेरिकी आक्रमणको जवाफ दिने बताएको छ । हुथी विद्रोहीहरूको गढ रहेको साना र उत्तरी प्रान्त सादामा शनिबार साँझ श्रृंखलाबद्ध विस्फोटहरू भएको हुथीहरूले जनाएका छन् । उनीहरूको गढ रहेको सादा साउदी अरबको सिमाक्षेत्रमा पर्छ । 

इजरायललाई आफ्नो शत्रु मान्ने इरान समर्थित विद्रोही हुथीले साना र यमनको उत्तर-पश्चिम क्षेत्रमा नियन्त्रण कायम गरेको छ । तर यो यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार भने होइन । हुथी समूहले जारी गरेको विज्ञप्तीमा यमनको राजधानी सानामा आवासीय क्षेत्रलाई लक्ष्य गर्दै दुष्ट आक्रमण भएको र त्यसका लागि अमेरिका र बेलायतलाई दोष लगाएको छ । 

एजेन्सी

Link copied successfully