यमनमा हुथीमाथि अमेरिकी आक्रमण: मृतकको संख्या ३१ पुग्यो

चैत्र ३, २०८१

कान्तिपुर संवाददाता

US attack on Houthis in Yemen: death toll reaches 31

काठमाडौँ — अमेरिकाले यमनमा हुथी विद्रोहीविरुद्ध गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीविरुद्ध अमेरिकाले यमनमा निर्णायक र शक्तिशाली हवाई आक्रमण सुरु गरेको बताएका छन् ।

लाल सागरमा जहाजमाथि हुथीले गरेको आक्रमणको प्रतिकारमा अमेरिकाले हवाई आक्रमण सुरु गरेको ट्रम्पको भनाइ छ । उनले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका छन्, ‘इरानद्वारा आर्थिक समर्थन पाउँदै आएको हुथीले अमेरिकी विमानमाथि मिसाइल दागेका थिए । र हाम्रा सैनिक र सहयोगीले उनीहरुलाई निशाना बनाएका हुन् ।’

हुथी विद्रोहीको समुद्री डकैती, हिंसा र आतंकबाट अर्बौं डलरको क्षति भएको र हजारौं मानिसको ज्यान खतरामा रहेको ट्रम्पले बताएका छन् ।

हुथी विद्रोहीले लाल सागरमा आफ्नो आतंक नरोके विनाश गर्ने ट्रम्पले चेतावनीसमेत दिएका छन् । उनले भनेका छन्, ‘यदि उनीहरुले आफ्नो आतंक रोकेनन् भने उनीहरुमाथि यस्तो विनाश बर्साइने छ जो अहिलेसम्म कहिल्यै देखेका छैनन् ।’

यता हुथीले अमेरिकाको यो आक्रमणले प्यालेस्टिनीप्रतिको समर्थन कम नहुने जवाफ दिएको छ । हुथीले भनेको छ, ‘यो आक्रमकताको जवाफ अवश्य दिइनेछ । यमनमा रहेका हाम्रा सशस्त्र बल यो आक्रामकताविरुद्ध जवाफ दिनका लागि तयार छन् ।’

कान्तिपुर

Link copied successfully