रुसले युद्ध तन्काउन खोज्यो : जेलेन्स्की 

चैत्र २, २०८१

एजेन्सी

Russia tried to prolong the war: Zelensky

लन्डन — युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले युद्ध तन्काउन खोजेको आरोप लगाएका छन् । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आयोजना गरेको ‘इच्छुकहरूको गठबन्धन’ को भर्चुअल बैठकमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले अघि सारेको ३० दिने युद्धविराम प्रस्ताव अस्वीकार गर्नु रुस शान्तिको पक्षमा नरहेको देखिएको बताए । 

‘३० दिने युद्धविराममा रूसको मौनताले पुटिनले युद्धलाई तन्काउँदै जान खोजेको देखिएको छ,’ जेलेन्स्कीले भनेका छन् । उनले कुनै सर्त बिना शान्ति सुरु हुनुपर्ने बताएका छन् । यसका लागि तयार नभएको खण्डमा रुसमाथि कडा दबाब दिनुपर्नेमा उनको भनाइ छ । ‘शान्ति रोक्ने एक मात्र बाधा रूस हो भन्ने कुरा विश्वले बुझ्नुपर्छ,’ उनले भने । 

उनले सामाजिक सञ्जालमार्फत ‘रूसले युद्धविराम रोक्न सबै कुरा गरिरहेको’ बताएका छन् । ‘यो रूसको युद्ध हो । यसलाई रोक्न, सक्रिय दबाब आवश्यक छ, केवल वार्ता होइन ।’ शान्ति दिगो र भरपर्दो बनाउन युक्रेनको सुरक्षा प्रत्याभूति महत्वपूर्ण भएको उनको भनाइ छ । जेलेन्स्कीले युरोप र ‘जी-७’ मात्र नभई शान्तिका लागि विश्वभरका अन्य सबै देशलाई एकताबद्ध हुन आह्वान गरेका छन् । 

बैठकमा सहभागी युरोपेली नेताहरूले युक्रेन युद्ध वार्तामार्फत अन्त्य हुनुपर्ने र त्यसका लागि पुटिनलाई थप दबाब दिन आवश्यक भएको बताएका छन् । बैठकमा सहभागी नेताहरूले युक्रेनलाई थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन्  । 

बैठकमा प्रधानमन्त्री स्टार्मरसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों, क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी, उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) का महासचिव मार्क रुटका साथै २६ देशका नेताहरू सहभागी छन् । 

बैठकमा बेलायती प्रधानमन्त्री स्टारमरले ‘भ्लादिमिर पुटिन ढिलो वा चाँडो वार्ताको टेबलमा आउनुको विकल्प नभएको’ बताएका छन् । ‘मेरो अनुभव के हो भने चाँडो होस् या ढिलो उहाँ वार्ताको टेबलमा आउनुपर्नेछ र गम्भीर छलफलमा संलग्न हुनुपर्नेछ,’ स्टार्मरले भनेका छन्, ‘मलाई लाग्छ यसको अर्थ युक्रेनलाई बलियो बनाउनु हो ताकि उनीहरूले आफ्नो रक्षा गर्न सकून् ।’

एजेन्सी

Link copied successfully