युक्रेन युद्ध अन्त्य गर्न पुटिनलाई थप दबाब दिनुपर्ने युरोपेली नेताहरूको भनाइ  

चैत्र २, २०८१

एजेन्सी

European leaders say more pressure should be put on Putin to end the Ukraine war

लन्डन — युरोपेली देशका नेताहरूले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप दबाब दिनुपर्ने बताएका छन् । 

बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आयोजना गरेको ‘इच्छुकहरूको गठबन्धन’ को भर्चुअल बैठकमा युरोपेली नेताहरूले युक्रेन युद्ध वार्तामार्फत अन्त्य हुनुपर्ने र त्यसका लागि पुटिनलाई थप दबाब दिन आवश्यक भएको बताएका हुन् । 

बैठकमा सहभागी नेताहरूले युक्रेनलाई थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन्  । बैठकमा प्रधानमन्त्री स्टार्मरसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों, क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी, उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) का महासचिव मार्क रुटलगायत २६ देशका प्रतिनिधि सहभागी छन् । 

बैठकमा युक्रेनलाई सैन्य र वित्तीय सहयोग गर्ने र रुसी राष्ट्रपति पुटिनले युद्धविराम प्रस्तावलाई समर्थन गरेको खण्डमा भविष्यको शान्ति प्रक्रियाबारे छलफल भएको छ । 

बैठकमा बेलायती प्रधानमन्त्री स्टारमरले ‘भ्लादिमिर पुटिन ढिलो वा चाँडो वार्ताको टेबलमा आउनुको विकल्प नभएको’ बताएका छन् । ‘मेरो अनुभव के हो भने चाँडो होस् या ढिलो उहाँ वार्ताको टेबलमा आउनुपर्नेछ र गम्भीर छलफलमा संलग्न हुनुपर्नेछ,’ स्टार्मरले भनेका छन्, ‘मलाई लाग्छ यसको अर्थ युक्रेनलाई बलियो बनाउनु हो ताकि उनीहरूले आफ्नो रक्षा गर्न सकून् ।’

यसअघि युद्ध अन्त्यका लागि अमेरिकाले राखेको ३० दिने युद्धविराम प्रस्ताव युक्रेनले स्वीकार गरिसकेको छ । रुसी राष्ट्रपति पुटिनले सिद्धान्ततः युद्धविरामको पक्षमा रहेको भए पनि कतिपय विषय स्पस्ट पार्नुपर्ने बताएका छन् । 

एजेन्सी

Link copied successfully