युद्धग्रस्त कुर्स्कमा सैनिक पोशाकमा देखिए पुटिन

फाल्गुन २९, २०८१

एजेन्सी

Putin seen in military uniform in war-torn Kursk

मस्को — अमेरिकासँग भएको वार्तामा युक्रेन एक महिने युद्धविरामका लागि सहमत भएसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युद्धग्रस्त कुर्स्कको क्षेत्रको अप्रत्याशित भ्रमण गरेका छन् । पुटिन गत अगस्टमा युक्रेनको आक्रमणपछि पहिलोपटक कुर्स्क पुगेका हुन् । 

पुटिनले कुर्स्कबाट युक्रेनी सेनालाई धपाउने रुसको अभियान अन्तिम चरणमा प्रवेश गरेको बताएका रुसको सरकारी समाचार संस्था तासले जनाएको छ । 

रुसी राष्ट्रपति कार्यालयले जारी गरेको तस्बिरमा पुटिन सैन्य पोशाकमा देखिन्छन् । तासका अनुसार पुटिने रुसी सेनालाई कुर्स्क क्षेत्र पूर्ण रूपमा फिर्ता लिन आदेश दिएका छन् । नियन्त्रणमा लिइएका कुनै पनि युक्रेनी सैनिकलाई आतंकवादी मानिने पुटिनको भनाइ छ । 

साउदी अरबमा भएको वार्तामा युक्रेनले स्विकार गरेको एक महिना लामो युद्धविरामबारे अमेरिकाले जवाफ पर्खिरहेका बेला पुटिन अप्रत्यासित रुपमा कुर्स्क पुगेका हुन् । 

अमेरिकासँग साउदी अरबमा मंगलबार भएको वार्तामा युक्रेनले अमेरिकी प्रस्ताव स्विकार गर्दै तत्काल एक महिनाका लगि युद्धविराम गर्न तयार भएको हो । वार्तामा युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहा, रक्षामन्त्री रुस्तेमा उमेरोभ, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्मक सहभागी थिए । 

विदेशमन्त्री मार्को रुबियो नेतृत्वको अमेरिकी टोलीमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज तथा आयोजका तर्फबाट साउदी विदेशमन्त्री फैसल बिन फरहान र राष्ट्रिय सुरक्षा सल्लाहकार मोसाद बिन मोहम्मद अल-ऐवान उपस्थित थिए । 

उक्त प्रस्तावबारे छलफल गर्न राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकोफ रुसी राजधानी मस्कोतर्फ प्रस्थान गरिसकेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको सम्भावनाको बारेमा ‘सकारात्मक सन्देश’ प्राप्त गरेको बताएका छन् । तर रुसी राष्ट्रपति पुटिनले भने अझैसम्म प्रस्तावमा टिप्पणी गरेका छैनन् ।

ह्वाइट हाउसले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले आफ्ना रूसी समकक्षीसँग कुरा गरेको र सीआईए निर्देशकले पनि त्यसै गरेको बताएको छ ।

एजेन्सी

Link copied successfully