युक्रेन युद्धबारे अमेरिकाले रुससँग तत्काल कुरा गर्ने 

फाल्गुन २८, २०८१

एजेन्सी

The US should immediately talk to Russia about the Ukraine war

जेद्दाह/डब्लिन — अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेन युद्धबारे अमेरिकाले रुससँग तत्काल कुरा गर्ने बताएका छन् । साउदी अरबमा भएको वार्तापछि युक्रेन तत्काल एक महिने युद्धविरामका लागि तयार भएसँगै रुबियोले रुससँग कुरा गर्ने बताएका हुन् ।  

युक्रेन युद्धविरामका लागि तयार भएसँगै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुससँग कुरा गर्ने बताएका छन् । 'आगामी कदम लिने पालो अब मस्कोको' भएको रुबियोको भनाइ छ । साउदी अरबबाट आयरल्याण्ड पुगेका रुबियोले श्यानन विमानस्थलमा पत्रकारहरूसँग अमेरिकाले रुसलाई सबै शत्रुता अन्त्य गर्न जोडदार आग्रह गर्ने बताएका छन् । 

‘हामी आज उनीहरूसँग सम्पर्क गर्नेछौं । हामीले विभिन्त तहका समकक्षी तथा प्रशासनका विभिन्न सदस्यहरूसँग सम्पर्क गरिरहेका छौं । र, त्यो जारी रहनेछ,’ रुबियोले भने । रुसबाट सकारात्मक जवाफ पाउने आशा व्यक्त गर्दै रुबियोले रुस-युक्रेन द्वन्द्वको कुनै सैन्य समाधान नभएको बताएका थिए । ‘हामी यसलाई सिधै उनीहरूकहाँ पुर्‍याउनेछौं, उनले भनेका छन्, ‘बल साँच्चै उनीहरूको कोर्टमा छ ।’ 

तर रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वार्ताबारे अमेरिकी पक्षबाट विस्तृत जानकारी पर्खिरहेको प्रतिक्रिया दिएका छन्  । वार्तामा सहमति भएको सम्भावित युद्धविरामबारे टिप्पणी गर्नुअघि अमेरिकीहरूको प्रतिवद्धताको विश्लेषण गर्न आवश्यक रहेको उनले भनाइ छ । 

‘हामी हिजो जेद्दाहमा विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले भनेका सबै कुराको नजिकबाट विश्लेषण गरिरहेका छौं,’ क्रेमलिन प्रवक्ता पेस्कोभले पत्रकारसँग भने । रुसले वार्ताबारे आगामी दिनमा विभिन्न कूटनीतिक माध्यमबाट आउने विस्तृत जानकारी पर्खिरहेको उनको भनाइ छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्भावित वार्ताका विषयमा पेस्कोभले आवश्यक परेको खण्डमा ‘धेरै चाँडै’ टेलिफोन वार्ता गराउने सकिने बताएका छन् । तर राष्ट्रपति पुटिनले ट्रम्पसँग मात्र कुरा गर्ने उनको भनाइ छ । 

त्यसैले आफ्नो कदम चाल्न आवश्यक पर्ने सबै जानकारी नभएसम्म क्रेमलिनले तत्कालका लागि आफ्नो कोर्टमा हानिएको बल समातिरहेको उनको भनाइ छ । तर यसअघि रुसी राष्ट्रपति पुटिनले युक्रेनले पुन: हतियार उठाउने र पुन: संगठित हुने अवसर प्रयोग गर्ने तर्क गर्दै अस्थायी युद्धविरामको प्रस्तावलाई बारम्बार अस्वीकार गरेका थिए । 

साउदी अरबको जेद्दाहस्थित रिट्ज कार्लटन होटलमा मंगलबार भएको वार्तामा युक्रेनले एक महिनाका लागि युद्धविराम गर्ने अमेरिकी प्रस्ताव स्वीकार गरेको हो । वार्तामा युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहा, रक्षामन्त्री रुस्तेमा उमेरोभ, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्मक सहभागी थिए । विदेशमन्त्री मार्को रुबियो नेतृत्वको अमेरिकी टोलीमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज तथा आयोजका तर्फबाट साउदी विदेशमन्त्री फैसल बिन फरहान र राष्ट्रिय सुरक्षा सल्लाहकार मोसाद बिन मोहम्मद अल-ऐवान उपस्थित थिए । 

एजेन्सी

Link copied successfully