क्वेटा — पाकिस्तानको बलुचिस्तान क्षेत्रमा सशस्त्र विद्रोहीहरूले सयौं यात्रु चढेको रेलमा आक्रमण गरेर कैयौंलाई बन्धक बनाएका छन् । क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेलमा बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले गोली चलाएर केयौंलाई बन्धक बनाएको सैन्य स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पृथकतावादी समूहको एक विज्ञप्तिमा दुर्गम सिबी जिल्लामा रेलमा आक्रमण गर्नु अघि ट्र्याकमा बम विस्फोट गराएको बताएको छ । पाकिस्तानी प्रहरीले घटनामा रेल चालकसहित कम्तिमा तीन जना घाइते भएका जनाएको छ । बन्धकहरूलाई उद्धार गर्न सुरक्षा बल घटनास्थलमा पठाइएको र हेलिकप्टरहरू परिचालन गरिएको पाकिस्तानी प्रहरीले जनाएको छ ।
बलुचिस्तान सरकारका प्रवक्ताले स्थानीय पत्रिका डनलाई रेलमा ‘तीव्र गोलीबारी’ भएको रिपोर्ट आएको बताए । एक वरिष्ठ प्रहरी अधिकारीले ‘पहाडले घेरिएको सुरुङको ठीक अगाडि रेलमाथि आक्रमण गरिएको’ बताएका समाचार संस्था एएफपीले जनाएको छ ।
एक वरिष्ठ सैनिक अधिकारीले रेलमा क्वेटाबाट चढेका एक सयभन्दा बढी सेनाका कर्मचारीहरूले यात्रा गरिरहेको बताएका बीबीसीले जनाएको छ । बीएलए आफूले नियन्त्रणमा लिएकाहरूलाई उद्धार गर्ने प्रयास गरिएमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।
बीएलएले बलुचिस्तानको स्वतन्त्रताका लागि दशकौंदेखि विद्रोह गर्दै आएको छ । त्यस क्रममा बीएलएले प्रहरी स्टेशन, रेलमार्ग र राजमार्गलाई लक्षित गर्दै आएको छ । बीएलएलाई पाकिस्तानका साथै बेलायत र अमेरिका सहित धेरै पश्चिमी देशले आतंकवादी संगठन घोषणा गरेका छन् ।
क्वेटाका रेलवे नियन्त्रक मुहम्मद काशिफले बीबीसीलाई बताएअनुसार रेलमा ४ सय देखि ४ सय ५० यात्रु थिए । तर अधिकारीहरूले बन्धक बनाइएकाको संख्या यकिन गर्न सकेका छैनन् । क्वेटाका एक स्थानीय रेलवे अधिकारीले बीबीसीलाई बताएअनुसार कम्तीमा ६० यात्रुहरूको समूह रेलबाट ओर्लिएर नजिकैको रेलवे स्टेशन पनीर पुगेको थियो । क्वेटाका रेलवे अधिकारीहरूले अर्धसैनिक स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीलाई बताएअनुसार महिला र बालबालिकाहरू रेलबाट ओर्लिएर सिबी सहरतिर हिँडिरहेका थिए ।
यसैबीच, यात्रुहरूका परिवारहरूले क्वेटा रेलवे स्टेशनको काउन्टरबाट जानकारी लिन खोजिरहेका छन् । मंगलबार बिहान लाहोर जानका लागि क्वेटाबाट हिँडेका एक यात्रुका छोरा मुहम्मद अशरफले बीबीसी उर्दूलाई बताएअनुसार उनले आफ्नो बुबालाई सम्पर्क गर्न सकेका छैनन् ।
अधिकारीहरूले रेलमा अहिलेसम्म कसैसँग सम्पर्क गर्न नसकेको बताएका छन् । उक्त क्षेत्रमा इन्टरनेट र मोबाइल नेटवर्क नभएका कारण सम्पर्कमा कठिनाइ भएको अधिकारीहरूको भनाइ छ । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो । प्राकृतिक स्रोतसाधनको हिसाबले सबैभन्दा धनी भए पनि यो प्रान्त सबैभन्दा कम विकसित छ ।
