अमेरिकी सहायताबिना युक्रेनले रुसी आक्रमण थेग्ला ?

तीन वर्षदेखि अमेरिकाले युक्रेनमा हवाई रक्षा प्रणाली, ड्रोन, रकेट लन्चर, राडार, ट्यांक र एन्टी–आर्मर हतियारलगायतका विशिष्ट उपकरणहरू पठाइरहेको थियो

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

Will Ukraine attack Russia without US aid?

काठमाडौँ — अमेरिकासँग खनिज सम्झौताका लागि अमेरिका पुगेका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँग चर्काचर्की नै पर्‍यो । जसका कारण दुई देशबीच हुने भनिएको ‘रेयर अर्थ’ सहितका युक्रेनी खनिजमा अमेरिकालाई पहुँच दिने सम्झौता भाँडियो ।

कुराकानीका क्रममा ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन चाहेको आरोप लगाएपछि दुई पक्षबीच असहज अवस्था उत्पन्न भयो । ओभल अफिसमा जेलेन्स्कीसँगको चर्काचर्कीपछि राष्ट्रपति ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्का गरिदिए । ओभल अफिसको तनावपछि अमेरिका–युक्रेन सम्बन्ध केही तनावपूर्ण देखिएको छ । तर राष्ट्रपति जेलेन्स्कीले भने युक्रेन अमेरिकासँग मिलेर अघि बढ्न चाहेको बताएका छन् । ट्रम्प सैन्यलगायत सहायता रोक्का गरे पनि युक्रेनका युरोपेली सहयोगीहरूले केही सातासम्म हालको लडाइँको गति कायम राख्न सक्ने ठानेका छन् । तर शान्ति वार्ताप्रति ‘ट्रम्प रोडम्याप’मा जेलेन्स्कीको प्रतिबद्धता नआएसम्म भने युद्धविराम मात्रै होइन, अमेरिकी सहयोग पुनः सुरु हुने सम्भावना छैन । यस्तो अवस्थामा अमेरिकाले तीन वर्षसम्म गरेको सहायता र त्यसको स्थगनले युक्रेन युद्धमा भने प्रभाव पार्ने निश्चित छ । 

अमेरिका युद्धग्रस्त राष्ट्र युक्रेनका लागि सबैभन्दा ठूलो एकल दाता हो । युक्रेनले प्राप्त गरेकोमध्ये ४० प्रतिशतभन्दा बढी योगदान अमेरिकाले पुर्‍याएको छ । रुसले २०२२ फेब्रुअरी २४ मा आक्रमण सुरु गरेयता २०२४ डिसेम्बर ३१ सम्म करिब तीन वर्षमा अमेरिकाले युक्रेनलाई १ खर्ब २३ अर्ब अमेरिकी डलर सहयोग प्रदान गरेको छ । युक्रेनले प्राप्त गरेको युद्धकालीन सहायताबारे जानकारी संकलन गर्ने जर्मन थिंक ट्यांक ‘किएल इन्स्टिच्युट फर द वर्ल्ड इकोनोमी’ को तथ्यांकअनुसार अमेरिकाले प्रदान गरेकोमध्ये ५६ प्रतिशत अर्थात ६९ अर्ब डलर सैन्य सहायता हो । 

युक्रेनले युरोपेली संघबाट पनि उल्लेख्य सहयोग पाएको छ । संघका सदस्य राष्ट्रबाट पनि युक्रेनले मुख्यतः सैन्य र वित्तीय सहयोग पाएको छ । तर तीन वर्षमा युक्रेनको अमेरिकाबाट पाएको सैन्य सहायता लगभग आधा छ । तीन वर्षको अवधिमा युक्रेनलाई अमेरिकाले गरेको १ खर्ब २३.८ अर्ब बराबरको सहयोगमध्ये ६९ अर्ब सैन्य, ५१.१ अर्ब आर्थिक र ३.७ अर्ब मानवीय सहयोग छ । उक्त अवधिमा युरोपेली संघका राष्ट्रहरू १ खर्ब २१.७ अर्ब मात्र सहायता दिएका छन् । त्यसमा ५३.८ अर्ब सैन्य, ५६.१ अर्ब आर्थिक र ११.८ अर्ब मानवीय सहायता रहेको छ । ४२.९ अर्ब अन्य देशहरूले सहायता दिएका छन् । 

वैदेशिक सहयोगका कारण युक्रेनले ड्रोन र तोप लगायतका सैन्य उपकरणहरूको घरेलु उत्पादन विस्तार गरेको छ । यसै साता युक्रेनी प्रधानमन्त्री डेनिस स्मिहालले युक्रेनले आफ्नो रक्षाका लागि आवश्यक पर्ने कम्तीमा ३० प्रतिशत उपकरण र गोला बारुद उत्पादन गर्ने बताएको छ । राष्ट्रपति जेलेन्स्कीले पनि युक्रेनले आफ्नो रक्षाका लागि आवश्यकमध्ये ४० प्रतिशत सैन्य आपूर्ति अमेरिकाबाट हुँदै आएको र युरोपेली सहयोगीहरूको हिस्सा लगभग ३० प्रतिशत रहेको बताएका छन् । ट्रम्प प्रशासनले सैन्यलगायतका सहायता रोक्का गरेसँगै युक्रेनलाई युरोपेली देशहरूले सघाउने प्रतिबद्धता जनाएका छन् । गत मंगलबार युरोपेली संघले सदस्य राष्ट्रहरूलाई रक्षा खर्च बढाउन र युक्रेनलाई हतियार आपूर्ति गर्न १ खर्ब ५८ अर्ब डलर ऋण लिन अनुमति दिने योजनाको घोषणा गरेको छ । 

तीन वर्षको अवधिमा अमेरिकाले युक्रेनमा हवाई रक्षा प्रणाली, ड्रोन, रकेट लन्चर, राडार, ट्यांक र एन्टी–आर्मर हतियारलगायतका विशिष्ट उपकरणहरू पठाएको छ । रुसले आफ्नो पूर्ण स्तरीय आक्रमण सुरु गर्ने तयारी गरेसँगै अमेरिकाले २०२१ अगस्टदेखि ‘प्रेसिडेन्सियल ड्रडाउन अथोरिटी’ अन्तर्गत युक्रेनलाई सैन्य उपकरणहरू आपूर्ति गर्दै आएको छ । यो संयन्त्रले राष्ट्रपतिलाई अमेरिकाको सैन्य मौज्दातबाट युक्रेनका लागि सिधै आवश्यक उपकरणहरू पठाउन अनुमति दिन्छ । अमेरिकी विदेश मन्त्रालयको एक प्रतिवेदनअनुसार अमेरिकाले युक्रेनका लागि लगभग ३१ अर्ब ७ करोड अमेरिकी डलर मूल्यका सैन्य सहायता प्रदान गर्न ५५ ‘प्रेसिडेन्सियल ड्रडाउन अथोरिटी’ को प्रयोग गरेको छ ।

सीएनएनका अनुसार एक युक्रेनी अधिकारीले यो सहायताको प्रवाह रोक्नु युक्रेनका लागि विनाशकारी हुन सक्ने बताएका छन् । आगामी मे वा जुनसम्ममा युक्रेनका महत्त्वपूर्ण तोपलगायतका हतियारहरू समाप्त हुने उनको भनाइ छ । त्यसको पूर्ति गर्न युरोपेली संघले केही मद्दत गर्न सक्छ । तर त्यहाँ केही चिजहरू छन्, जुन अमेरिकाले मात्र प्रदान गर्न सक्छ । उदाहरणका लागि युक्रेनका लागि रुसी बलिस्टिक क्षेप्यास्त्रको सामना गर्न विशिष्ट रूपमा प्रभावकारी सावित भएको ‘प्याट्रिओट एअर डिफेन्स प्रणाली’को अभाव खट्किनेछ । यो प्रणाली र यसका क्षेप्यास्त्रहरूको इजाजतपत्र र उत्पादन अमेरिकाले नियन्त्रण गर्छ । 

एक युक्रेनी अधिकारीले मंगलबार सीएनएनलाई बताएअनुसार किभको ‘प्याट्रिओट एअर डिफेन्स प्रणाली’को क्षेप्यास्त्र केही साताभित्रै सकिने जनाएका छन् । यद्यपि युक्रेनसँग कति क्षेप्यास्त्र बाँकी छन् र अमेरिकाले दिएकामध्ये बाटोमा हतियार भए/नभएको स्पष्ट छैन । ठूला हतियार आपूर्तिमा भने अमेरिकाले युरोपलाई पछि पारेको देखिन्छ । युक्रेनलाई अमेरिकाले सबैभन्दा धेरै होविट्जर तोप, जमिनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र बहुप्रक्षेपण क्षेप्यास्त्र प्रणालीहरू दिएको छ । पोल्यान्डले सबैभन्दा धेरै ट्यांक आपूर्ति र प्रतिबद्धता जनाएको छ ।

तर अमेरिकाका कारण उत्पन्न कमी पूर्ति गर्न युक्रेनका युरोपेली सहयोगीहरूका लागि भने अत्यन्तै गाह्रो हुने निश्चित छ । सन् २०२३ मा युरोपेली संघका २७ सदस्य राष्ट्रहरू र बेलायतको कुल सैन्य खर्च करिब ३ खर्ब ८८ अर्ब थियो । तर अमेरिकाको भने त्यसको दोब्बर अर्थात् ९ सय १६ अर्ब खर्च गरेको थियो । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको तथ्यांकअनुसार अमेरिकाले सरकारी खर्चको ९ प्रतिशत रक्षा क्षेत्रका लागि छुट्याएको थियो, जुन उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा बढी थियो । 

कान्तिपुर

Link copied successfully