रुसी आक्रमण तीव्र, युक्रेनमा कम्तीमा २३ जनाको मृत्यु

रुसले दोनेत्स्क क्षेत्रमा शुक्रबार राति र शनिबार बिहान झन्डै तीन दर्जन ड्रोन प्रहार गर्दा कम्तीमा ५० जना घाइते

फाल्गुन २५, २०८१

एजेन्सी

Russian attack intensified, at least 23 dead in Ukraine

किभ/वासिङटन — रुसले शुक्रबार राति र शनिबार बिहान गरेको आक्रमणमा परी कम्तीमा २३ जनाको ज्यान गएको छ । आक्रमणमा कम्तीमा ५० जना घाइते भएका युक्रेनी आपत्कालीन सेवाले जनाएको छ ।

दोनेत्स्क क्षेत्रमा शुक्रबार राति रुसी सेनाले गरेको आक्रमणमा २० जनाको ज्यान गएको हो । ४३ जना घाइते भएका दोनेत्स्क क्षेत्रका प्रमुख भ्याडिम फिलास्किनले बताए । उनका अनुसार आक्रमणमा कम्तीमा ८ आवासीय र एक प्रशासनिक भवन क्षतिग्रस्त भएका छन् । त्यस्तै, शनिबार बिहान बोगोदुखिभ सहरमा भएको ड्रोन आक्रमणमा परी ३ जनाको ज्यान गएको खार्किभ क्षेत्रका सैन्य प्रमुख ओलेग सिनेगुबोभले जनाएका छन् । आक्रमणमा ७ जना घाइते भएको उनले बताए । 

रुसले प्रहार गरेका ३१ ड्रोनलाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा २६ र ब्रायान्स्कको सीमावर्ती क्षेत्रमा तीन वटा ड्रोनलाई रोकिएको जनाएको हो । एउटा ड्रोन लेनिनग्राडमा र मस्कोको उत्तर–पूर्वमा रहेको यारोस्लाभल सहरमा एक/एक ड्रोन निष्क्रिय पारेको मन्त्रालयको भनाइ छ ।

युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र युक्रेनबीच साउदी अरबमा हुन लागेको वार्ताको केही दिनअघि रुसले आक्रमण तीव्र पारेको हो । पछिल्ला केही दिनयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न दुवै देशमाथि दबाब बढाएको ठानिएको छ । ट्रम्पले रुसमाथि ठूलो मात्रामा प्रतिबन्ध र कर लगाउनेबारे ‘दृढतापूर्वक विचार गरिरहेको’ बताएलगत्तै रुसले आक्रमण तीव्र पारेको हो । रुसले युद्धको मैदानमा युक्रेनलाई पूर्ण रूपमा ‘प्रहार’ गरिरहेको ट्रम्पको भनाइ छ ।

वार्ताका लागि दबाब दिने उद्देश्यले अमेरिकाले युक्रेनको उपग्रह तस्बिरमा पहुँच सीमित पारेको बीबीसीले जनाएको छ । अमेरिकामा रहेको म्याक्सार कम्पनीले विभिन्न सरकार र कम्पनीहरूलाई उपग्रह तस्बिरहरू प्रदान गर्ने सम्झौता गरेको छ । तीमध्ये एक ‘ग्लोबल इनहान्स्ड जियोइन्ट डेलिभर (जीईजीडी) कार्यक्रमले प्रयोगकर्तालाई अमेरिकी सरकारले संकलन गरेको उच्च गुणस्तरका तस्बिरमा पहुँच दिन्छ । ‘अमेरिकी सरकारले जीईजीडीमा युक्रेनी पहुँच अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको छ,’ म्याक्सारले भने, ‘प्रत्येक ग्राहकले त्यो डेटा कसरी प्रयोग र साझेदारी गर्छन् भन्नेबारे आफैं निर्णय लिन्छन् ।’

अमेरिकी रक्षा मन्त्रालयअन्तर्गतको ‘नेसनल जियोस्पाटियल इन्टेलिजेन्स एजेन्सी’ ले युक्रेनलाई समर्थन गर्दै आएको प्रशासनको निर्देशानुसार अस्थायी रूपमा सेवा निलम्बन गरिएको पुष्टि गरेको बीबीसीले जनाएको छ । सेनालाई प्रतिद्वन्द्वीहरूबारे गुप्तचर जानकारी संकलन गर्न अनुमति दिने उपग्रह तस्बिरहरू युद्धका लागि महत्त्वपूर्ण सामग्री हुन् । त्यसअघि ट्रम्प प्रशासनले युक्रेनलाई दिँदै आएको सैन्य तथा गुप्तचर सहायता रोकेको थियो । गत साता अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको ओभल अफिसमा चर्काचर्की भएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमाथिको सैन्य सहायता रोकेका थिए ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्ध र आयात कर लगाउनुपर्ने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको बताएका थिए । ‘रुस युद्ध क्षेत्रमा युक्रेनमाथि कडा प्रहार गरिरहेको छ । यस तथ्यका आधारमा जबसम्म युद्धविराम र अन्तिम रूपमा शान्ति सम्झौता हुँदैन, म ठूलो स्तरमा रुसमाथि बैंकिङ प्रतिबन्ध र ट्यारिफ लागू गर्नका लागि गम्भीरताका साथ विचार गरिरहेको छु,’ ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेखेका थिए । तर शुक्रबार उनले शान्ति सम्झौताका लागि रुसको तुलनामा युक्रेनसँग काम गर्न कठिन भएको प्रतिक्रया दिए । ‘उहाँ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि विश्वास गर्नुहुन्छ । मलाई वास्तवमै युक्रेनसँग सम्झौता गर्न गाह्रो लाग्छ र उनीहरूसँग कुनै विकल्प छैन । रुससँग सम्झौता गर्न सजिलो हुन सक्छ,’ अमेरिकी राष्ट्रपतिले शुक्रबार पत्रकारहरूसँग भने ।

‘रुसले अहिले युद्धभूमिमा युक्रेनलाई पूर्णरूपमा आक्रमण गरिरहेको छ । म युद्धविराम र शान्ति सम्झौतामा पुग्न नसकेसम्म रुसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध तथा नाकाबन्दी लगाउने बारेमा दृढतापूर्वक विचार गरिरहेको छु,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेखेका थिए, ‘रुस र युक्रेन अब वार्ताको टेबलमा आउनुहोस् ।’

यद्यपि पुटिनले युद्ध अन्त्य गर्न चाहेको ट्रम्पको भनाइ छ । पुटिनको ठाउँमा अन्य जोकोही भए पनि युक्रेनमाथि उस्तै कदम चाल्नेमा आफू विश्वस्त रहेको ट्रम्पको दाबी छ । ‘पुटिनले उनीहरूलाई पहिलेभन्दा कडा प्रहार गरिरहेका छन् । तर रुसी नेता युद्ध समाप्त गर्न चाहन्छन्,’ ट्रम्पले भने ।

नेसनल इकोनोमिक काउन्सिलका निर्देशक केभिन ह्यासेटले भने ट्रम्पको धम्की कूटनीतिक रणनीतिको एक हिस्सा भएको बताउँछन् । ‘राष्ट्रपति ट्रम्प सबैलाई वार्ताको टेबलमा ल्याउनुपर्छ भन्नेमा अडिग हुनुहुन्छ । उहाँले सबैसँग कुरा गर्दै हुनुहुन्छ,’ ह्यासेटले भने । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने युक्रेन सकेसम्म चाँडो शान्तिका लागि तयार रहेको बताएका छन् । ‘हरेक दिनका रुसी आक्रमण र वास्तविकताले रुसलाई युद्ध रोक्न, वास्तविक कूटनीतिमा, सुरक्षाको ग्यारेन्टी गर्न, भरपर्दो र दिगो शान्तिका लागि रुसलाई बाध्य पार्नुपर्छ,’ उनले भनेका छन् ।

युक्रेनी सांसद र नेटोका युक्रेनी प्रतिनिधिमण्डलका अध्यक्ष यहोर चेर्निएभले युक्रेन शान्तिका लागि तयार रहेको तर त्यसका लागि जुनसुकै मूल्य चुकाउन तयार नभएको प्रतिक्रिया दिएका छन् । ‘हामीले आक्रमणकारी को हो र पीडित को हो भन्ने कहिल्यै पनि बिर्सनु हुँदैन । पीडितले आत्मसमर्पण गर्ने र हार मान्ने अपेक्षा गर्नु अनुचित हो,’ उनले बीबीसीसँग भनेका छ्न्, ‘हामी तीन वर्षदेखि एक विशाल देशविरुद्ध लडिरहेका छौं । हामी आफ्नो सुरक्षा गर्न सक्छौं ।’ अमेरिका युक्रेनको रणनीतिक साझेदार भएको र युक्रेनले शान्ति सम्झौतामा पुग्न काम गरिरहेको उनको भनाइ छ ।

एजेन्सी

Link copied successfully