अमेरिकालाई ‘क्रिप्टो करेन्सी’ को केन्द्र बनाउने ट्रम्पको घोषणा

बिटक्वान, इथेरम, रिपल, सोलाना, कार्दानोजस्ता प्रमुख ‘क्रिप्टो करेन्सी’ रहने गरी संघीय क्रिप्टो रिजर्भ स्थापना गर्ने ट्रम्पको घोषणापछि वित्तीय बजार र डिजिटल मुद्राको भविष्यबारे बहस सुरु भएको छ

फाल्गुन २४, २०८१

सजना बराल

Trump's announcement to make America the center of 'cryptocurrency'

काठमाडौँ — अमेरिकी राष्ट्रपतीय निर्वाचनमा तेस्रो पटक उम्मेदवारी घोषणा गरेयता क्रिप्टो मुद्राको पक्षमा निरन्तर वकालत गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार क्रिप्टो मुद्रासम्बन्धी एक सम्मेलन नै आयोजना गर्दै छन् । सम्मेलनमा क्रिप्टो मुद्रा क्षेत्रका प्रमुख कम्पनीका मालिक, लगानीकर्ता, नीति–निर्माता र विश्लेषकसमेत गरेर झन्डै २५ जना सहभागी हुने अपेक्षा गरिएको छ । राष्ट्रपति भवन ह्वाइट हाउसमा यो सम्मेलन झन्डै चार घण्टा चल्नेछ ।

सम्मेलनमा अमेरिकी सरकारका तर्फबाट राष्ट्रपति ट्रम्प आफैं र उनका एआई तथा क्रिप्टो विज्ञ डेभिड स्याक्सले बोल्नेछन् । क्रिप्टोसम्बन्धी विविध नीतिगत विषय र केन्द्रीय बैंकका डिजिटल मुद्रासँग जोडिएका विषयमा पनि छलफल हुने कार्यक्रम रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ह्वाइट हाउसमा पहिलोपल्ट यस्तो सम्मेलन हुन लागेको हो ।

ट्रम्पले यसअघि सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्टमार्फत अमेरिकालाई क्रिप्टो मुद्राको केन्द्र बनाउने र त्यसका लागि संघीय क्रिप्टो रिजर्भ स्थापना गर्ने घोषणा गरेका थिए । त्यसलगत्तै प्रमुख क्रिप्टो मुद्राको बजार मूल्यमा एक्कासि उछाल आएको थियो । आफ्नो रणनीतिक क्रिप्टो रिजर्भमा बिटक्वान, इथेरम, रिपल, सोलाना, कार्दानोजस्ता प्रमुख क्रिप्टो मुद्रा रहने ट्रम्पले उल्लेख गरेका छन् । उनको यस घोषणाले वित्तीय बजार र विशेषगरी क्रिप्टोसँगै डिजिटल मुद्राको भविष्यबारे बहस सुरु भएको छ ।

चुनावी अभियानमा पनि ट्रम्पले निरन्तर रूपमा क्रिप्टो रिजर्भको पक्षमा बोल्ने गरेका थिए । उनले सन् २०२४ को जुलाईमा टेनिसी राज्यको नासभिलमा आयोजित बिटक्वाइन सम्मेलनमा समेत भाग लिएका थिए । ट्रम्पको आफ्नै परिवारले पनि ‘वर्ल्ड लिबर्टी फाइनान्सियल’ नामक क्रिप्टो मुद्रामा लगानी गरेको छ । उनका छोरा एरिक ट्रम्पले खुला रूपमै इथेरम नामक क्रिप्टो मुद्राको प्रचार गर्दै आएका छन् ।

ट्रम्प सरकारमा प्रभावशाली रहेका विश्वका धनाढ्य इलन मस्कले बिटक्वाइन, इथेरम, डजक्वाइनमा अर्बौं लगानी गरेका छन् । ट्रम्प प्रशासनकै हिस्सा रहेका डेभिड स्याक्सजस्ता उच्च अधिकारीको पनि क्रिप्टो बजारमा लगानी छ । ट्रम्पले आफ्ना ‘प्रोजेक्ट २०२५’ जस्ता घोषणामा क्रिप्टो मुद्रा र संघीय क्रिप्टो रिजर्भका पक्षमा खुलेर वकालत गरेका छन् । उनले राष्ट्रपतिका रूपमा 

आफ्नो पहिलो महिनामै क्रिप्टोबारे कार्यकारी आदेश जारी गरेका थिए । यस कारण पनि ट्रम्पको क्रिप्टो सम्मेलनलाई उनी र उनको सरकारका अधिकारीहरूको गहिरो चासोका कारण थप उत्सुकतापूर्वक हेरिने रोयटर्सले जनाएको छ ।

ट्रम्पको ट्रुथ सोसल पोस्टपछि कार्दानो नामक क्रिप्टो मुद्राको बजार मूल्य झन्डै ६३ प्रतिशतले बढेको थियो भने रिपल ३२ प्रतिशत, सोलाना २३ प्रतिशत, बिटक्वाइन ११ प्रतिशत र इथेरम १३ प्रतिशतले उकालो लागेका थिए । पूरै क्रिप्टो बजारको भाउ एकै पटक १० प्रतिशत अर्थात् ३०० अर्बले बढेको थियो । ट्रम्प शासनमा आएलगत्तै लिएका एकपछि अर्को अतिरिक्त कर र व्यापार युद्धसम्बन्धी निर्णयले गिर्दो अवस्थामा रहेर झन्डै ७८ हजार अमेरिकी डलरमा झरेको बिटक्वाइन ट्रम्पको घोषणाले बढेर ९५ हजार अमेरिकी डलरसम्म पुगेको थियो ।

सोमबार ट्रम्प प्रशासनले अतिरिक्त करसम्बन्धी थप घोषणा गरेपछि भने क्रिप्टो बजार फेरि ओर्लिएको छ । भिटल लुन्डे, रेबेक्का लियाओ, जगदीप सिधुजस्ता क्रिप्टो बजारका अनुभवीहरू ह्वाइट हाउसको सो सम्मेलनले क्रिप्टो मुद्राको नियमन र अमेरिकी संसद्बाट क्रिप्टो बजारलाई सघाउने खालका कानुन निर्माणतर्फ ठोस पहल गर्ने अपेक्षा व्यक्त गर्छन् ।

सिसक्वाइन फाउन्डेसनका सिधु भन्छन्, ‘सम्मेलनको प्रमुख मुद्दा अमेरिकी संघीय सरकारको रणनीतिक क्रिप्टो रिजर्भ नै हुने पक्कापक्कीजस्तै छ ।’ रोयटर्सले भने रिपल, सोलाना, कार्दानोजस्ता प्रविधिमुखी र सीमित वैकल्पिक क्रिप्टो मुद्रासमेत रिजर्भमा समावेश गरिन लागेकामा प्रश्न उठेको उल्लेख गरेको छ ।

क्रिप्टो बजार र लगानी विशेषज्ञ फ्रेडरिको ब्रोकेटले यो घोषणा र सम्मेलनले क्रिप्टो बजार तथा गतिविधिमा अमेरिकी सरकारको सक्रिय सहभागिताको संकेत दिने विचार व्यक्त गरेका छन् । उनी भन्छन्, ‘यो कदमले संस्थागत स्वीकार्यता बढाउन, नियमनसम्बन्धी थप स्पष्टता कायम गर्न र डिजिटल सम्पत्तिको अन्वेषणमा अमेरिकी नेतृत्व कायम गर्न सघाउ पुग्नेछ ।’

अघिल्ला राष्ट्रपति जो बाइडेनको प्रशासनले क्रिप्टो मुद्राको जोखिम र सम्पत्ति शुद्धीकरणलगायत कार्यमा त्यसको प्रयोगलाई ध्यानमा राख्दै क्रिप्टो बजारमा कडाइको प्रयत्न गरेको थियो । ट्रम्प प्रशासन आउनेबित्तिकै क्वाइनबेसलगायत विभिन्न क्रिप्टो कम्पनीमाथि चलिरहेको अनुसन्धान फिर्ता लिइएको छ । स्ट्यान्डर्ड चार्टर्डका विश्लेषक जोफ केन्ड्रिकले रोयटर्ससँगको कुराकानीमा ट्रम्पले आफ्नो कार्यकाल सक्ने बेलासम्म बिटक्वाइनको मूल्य प्रतिसिक्का ५ लाख डलर पुग्ने भविष्यवाणी गरेका छन् ।

पछिल्ला केही वर्षमा विभिन्न समस्या, झमेला र कानुनी उल्झनबीच क्रिप्टोको बजार निरन्तर बढ्दो क्रममा छ । सन् २०२४ को अन्त्यसम्ममा सबैखाले क्रिप्टोको कुल बजार मूल्य लगभग ३२ खर्ब अमेरिकी डलर पुगेको ग्रान्डभ्यु रिसर्चको अनुमान छ ।

आफ्ना एआई कम्पनीहरूसँगै क्रिप्टो बजारलाई पनि बजारमा ट्रेन्ड सेटर बनाउने नीतिमा ओर्लिएको अमेरिकाको कदम एक तरिकाले अमेरिका केन्द्रित देखिए पनि यसको प्रभाव अमेरिकामा मात्रै सीमित नहुने विज्ञहरूको अनुमान छ ।       

(एजेन्सीको सहयोगमा)

सजना बराल बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully