सबै बन्धक मुक्त गर्न हमासलाई ट्रम्पको चेतावनी

मेरो कुरा मानेनन् भने हमासका एक जना सदस्य पनि सुरक्षित हुने छैनन् : ट्रम्प

फाल्गुन २३, २०८१

एजेन्सी

Trump warns Hamas to release all hostages

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका सबै बन्धक मुक्त गर्न ‘अन्तिम चेतावनी’ दिएका छन् । बन्धकहरू रिहा नगरिए हमासका कोही पनि सुरक्षित नहुने ट्रम्पको भनाइ छ । 

‘इजरायलका लागि म ती सबै कुरा पठाउँदै छु, जो उसलाई काम पूरा गर्नका लागि आवश्यक छन् । यदि मेरो कुरा मानेनन् भने हमासका एक जना सदस्य पनि सुरक्षित हुने छैनन्,’ ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखेका छन् । यद्यपि ट्रम्पले इजरायललाई कस्तो प्रकारको सहयोग पठाउँदै छन् भन्ने स्पष्ट पारेका छैनन् । 

ट्रम्पले सबै बन्धकलाई एकसाथ रिहा गर्नुपर्ने र मृतकका शव हस्तान्तरण गर्नुपर्ने बताएका हुन् । ‘सबै बन्धकलाई तत्काल रिहा गर, पछि हुँदैन र मृत्यु भएकाहरूको शव पनि तत्कालै फर्काऊ । नत्र सबै नष्ट हुनेछ,’ चेतावनी दिँदै ट्रम्पले लेखेका छन् । 

हमासले बन्धक बनाएर मुक्त भएका ८ जनालाई ह्वाइट हाउसमा भेटेपछि ट्रम्पले हमासलाई चेतावनी दिएका हुन् । उनीहरू इजरायल र हमासबीचको युद्धविरामपछि रिहा भएका थिए । ट्रम्पले हमास नेतृत्वले अब गाजा छाड्ने समय आइसकेको पनि बताएका छन् । ‘गाजाका नागरिकका लागि एक सुन्दर भविष्यले कुरिरहेको छ । तर, अब तपाईंहरू बन्धकलाई राख्न सक्नु हुन्न । यदि मान्नु भएन भने तपाईंहरूको अन्त्य हुनेछ,’ उनले लेखेका छन् । 

इजरायल र हमासबीच जनवरी १९ देखि लागू भएको पहिलो चरणको युद्धविराम शनिबार सकिएको हो । तर, सम्झौताअनुसार दोस्रो चरणको युद्धविरामको भने टुंगो लागेको छैन । इजरायलले गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएपछि यो अनिश्चित बनेको छ । प्यालेस्टिनी समूह हमाससँगको युद्धविरामको पहिलो चरण समाप्त भएकाले मानवीय सहायतामा रोक लगाइएको इजरायलको भनाइ छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले इजरायली बन्धकलाई रिहा नगरी इजरायलले युद्धविरामलाई अनुमति नदिने बताएको छ । तर, हमासले भने इजरायलले ‘सस्तो जालझेल’ र युद्धविराम सम्झौतामा ‘कू’ गरेको आरोप लगाएको छ । प्यालेस्टिनी समूह हमासले बाँकी बन्धकको रिहाइ तथा शव हस्तान्तरणसँगै प्यालेस्टाइनी बन्दीहरूको रिहाइ र गाजाबाट इजरायली सेना फिर्ता गर्ने सम्झौताका लागि दोस्रो चरणको वार्ता अगाडि बढाउन चाहेको छ । तर, अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको ग्यारेन्टीबिना दोस्रो चरणको युद्धविराममा सहमति हुन नसक्ने हमासको भनाइ छ ।

१५ महिना लामो युद्धपछि दुई पक्षबीच गत जनवरी १९ मा युद्धविराम भएको थियो । त्यसयता हमासले ३३ इजरायली र ५ थाई बन्दीहरू मुक्त गरेको छ । त्यसबापत इजरायलले १९ सय प्यालेस्टिनीलाई रिहा गरेको छ । हमासको नियन्त्रणमा अझै २४ जना जीवित बन्धक रहेको विश्वास गरिएको छ । तीमध्ये एक जना नेपाली युवा छन् । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको हो । हमासको नियन्त्रणमा रहेका ३९ जनाको भने मृत्यु भइसकेको इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

हमासले २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । २ सय ५१ जनालाई हमासले बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो । त्यसयताका १५ महिनासम्म चलेको युद्धमा ४८ हजार ३ सय ६४ प्यालेस्टिनीको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मारिनेमध्ये आधाभन्दा बढी महिला तथा बालबालिका छन् । इजरायली आक्रमणमा कम्तीमा १ लाख १० हजार घाइते भएका छन् भने गाजा क्षेत्रका ६० प्रतिशतभन्दा बढी संरचना ध्वस्त भएका छन् । इजरायलतर्फ पनि करिब १४ सयको ज्यान गएको छ । युद्धविराम सम्झौतामा दोस्रो चरणमा बाँकी रहेका सबै बन्धकहरूको रिहाइ र गाजाबाट इजरायली सेना फिर्ता गरिने उल्लेख छ । मध्यस्थकर्ताले त्यसका लागि वार्ता सुरु भएको जनाएका छन् । युद्धविरामको तेस्रो चरणमा गाजाको पुनर्निर्माणको योजना समेटिएको छ ।

एजेन्सी

Link copied successfully