बेइजिङ — यस वर्ष चीनको कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धि दर लगभग ५ प्रतिशतको हाराहारीमा रहने भएको छ । बेइजिङमा बुधबार सुरू १४ औं राष्ट्रिय जनकांग्रेस (एनपीसी) को तेस्रोपूर्ण सत्रमा प्रधानमन्त्री ली छ्याङले वार्षिक प्रतिवेदन पेस गर्दै यो लक्ष्य पेस गरेका हुन् ।
समीक्षाको लागि पेश गरिएको सरकारी कार्य प्रतिवेदनमा सन् २०२५ मा घाटा ५६ ट्रिलियन ६० अर्ब युआन हुने र जुन गत वर्षको तुलनामा १६ ट्रिलियन युआनले बढी हुने जनाइएको छ । यस्तै, घाटा अनुपात लगभग ४ प्रतिशत हुनेछ, जुन गत वर्षको तुलनामा १ प्रतिशतले बढी हो । २०२५ को लागि सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर लगभग ५.५ प्रतिशतमा सेट गरिएको छ जबकि सीपीआई २०२५ मा लगभग दुई प्रतिशतमा सेट गरिएको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार चीनले यस वर्ष अझ सक्रिय वित्तीय नीति लागू गर्नेछ । आम जनताको बजेट खर्च २९७ ट्रिलियन युआन हुनेछ, जुन गत वर्षको तुलनामा १२ ट्रिलियन युआनले बढी हो ।
यस वर्ष चीनले १३ ट्रिलियन युआन बराबरको अति-दीर्घकालीन विशेष सरकारी बन्ड जारी गर्नेछ, जुन गत वर्षको तुलनामा ३ ट्रिलियन युआन बढी हो । यसका साथै, ठूला सरकारी स्वामित्वमा रहेका वाणिज्य बैंकहरूलाई पुँजी आपूर्ति गर्न चीनले ५ ट्रिलियन युआनको विशेष सरकारी बन्ड जारी गर्नेछ ।
चीनले मध्यम खुकुलो मौद्रिक नीति अपनाउनेछ । घरजग्गा र सेयर बजारको स्वस्थ विकासलाई प्रवर्द्धन गरिनेछ भने प्राविधिक नवप्रवर्तन, हरित विकास, उपभोगलाई प्रोत्साहन र निजी, साना तथा लघु उद्यमहरूलाई सहयोग गरिनेछ ।
विश्वमा धेरै अनिश्चितताहरू छन् तर एउटा निश्चितता भनेको चीनको स्थिर र गतिशील आर्थिक वृद्धि हो । सन् २०२५ मा चीनको जीडीपी कम्तीमा ५ प्रतिशतको दरले बढ्ने ट्रयाकमा छ, जसले विश्वव्यापी विस्तारमा ३० प्रतिशतभन्दा बढी योगदान पुर्याएर विश्वव्यापी वृद्धिको प्रमुख चालकको रूपमा आफ्नो स्थान कायम राख्ने ग्लोबल टाइम्सले लेखेको छ ।
यो चीनको लागि मात्र नभएर विश्वभरका लागि सुखद् खबर भएको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको १४ औं राष्ट्रिय समितिका सदस्य एवं पेकिङ विश्वविद्यालयको नयाँ संरचनात्मक अर्थशास्त्र संस्थानका डीन जस्टिन यिफु लिनले मिडियासामु बताए । उनी विश्व बैंकका लागि पूर्वप्रमुख अर्थशास्त्री पनि थिए। उनले चीनले २०२५ मा चुनौतीहरूको सामना गर्नुपर्ने भएपनि चीनसँग अझै पनि स्थिर वृद्धिको ठोस सम्भावना रहेको दाबी गरे।
प्रतिवेदनले सन् २०२५ को लागि मुख्य अपेक्षित विकास लक्ष्यहरू प्रस्ताव गरेको छ । ५ प्रतिशत जीडीपी वृद्धि, सहरी बेरोजगारी दर लगभग ५.५ प्रतिशत, १ करोड २० लाख भन्दा बढी नयाँ सहरी रोजगारी, उपभोक्ता मूल्य वृद्धि लगभग २ प्रतिशत, अन्तर्राष्ट्रिय भुक्तानीको आधारभूत सन्तुलन, ७ खर्ब किलोग्राम अन्न उत्पादनमा पनि प्रतिवेदनले जोड दिएको छ । विज्ञहरूका अनुसार चीनले यस वर्षको कुल ग्राहस्थ्य उत्पादन वृद्धि दर निर्धारण गर्दा रोजगारी स्थिरता र जोखिम, हालको आर्थिक पुनर्प्राप्ति, उपभोग र सांस्कृतिक पर्यटन जस्ता विषयलाई आधार बनाउनु राम्रो प्रवृत्ति हो । साथै प्रतिवेदनले उच्च-गुणस्तरको विकासलाई केन्द्रमा राखी आधुनिक औद्योगिक प्रणाली निर्माण, हरित र कम-कार्बन उत्सर्जन, नवप्रवर्तन र सुधार जस्ता विषयलाई प्रमुख स्थानमा राखेको जनाइएको छ ।
प्रधानमन्त्री ली छ्याङको प्रतिवेदनमा चीनले एक-चीन सिद्धान्तलाई कायम राख्ने र ताइवान स्वतन्त्रताको विरोध र बाह्य जगत्का लागि उच्चस्तरीय खुलापनलाई गहन पार्ने विषय पनि समेटिएको छ।
