गैरकानुनी आप्रवासीको अमेरिका प्रवेश ९७ प्रतिशतले घट्यो 

फाल्गुन १८, २०८१

सुदीप शिवाकोटी

Illegal immigration to the U.S. dropped by 97 percent

अमेरिका — राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको गैरकानुनी आप्रवासी प्रवेशमा कडाइ र कागजातविहिनलाई फर्काउने नयाँ नीतिको कार्यान्वयन प्रभावकारी देखिएको छ । जनवरी २० मा कार्यभार सम्हालेसँगै ट्रम्पले सीमा सुरक्षामा कडाइ गर्दै सुरक्षाकर्मीको संख्यामा समेत दोब्बर बृद्धि गरेका थिए । जसका कारण पहिलो एक महिनामा अमेरिका प्रवेश गर्न खोज्ने गैरकानुनी आप्रवासीको संख्या ९७ प्रतिशतले घटेको छ ।

ट्रम्प प्रशासनले सीमा सुरक्षामा खटिने युएस बोर्डर एण्ड कस्टम पेट्रोल (सीबीपी) लाई गैरकानुनी रुपमा अमेरिका प्रवेशका लागि सीमा पार गर्न खोज्नेहरुलाई अवस्थाको अध्ययन गर्दै इन्काउन्टर गर्न, पक्राउ गरी जेलमा राख्न, तत्काल कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन र निष्कासन गर्न आदेश दिएको एक महिनामा गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीको संख्यामा उल्लेख्य गिरावट आएको हो । 

पूर्वराष्ट्रपति जो बाइडेन कार्यकालको अन्तिम महिना अर्थात डिसेम्बर २०२४ मा ३ लाख गैरकानुनी आप्रवासी अमेरिका प्रवेश गरेका थिए । ट्रम्पले कार्यभार सम्हालेपछि गत फेब्रुअरीमा सीमा पार गर्न खोज्ने ८ हजार ३ सय २६ जना मात्र रहेको ट्रम्प प्रशासनको दाबी छ । यो डिसेम्बरको तुलनामा ९७ प्रतिशतले कम हो । 

ती ८ हजार ३ सय २६ जनालाई तुरुन्त निष्कासन वा आवश्यकताका आधारमा अमेरिकी कानुनअनुसार कारबाही गरिएको अमेरिकी अध्यागमन निकाय इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) ले जनाएको छ । आईसीईको तथ्यांकअनुसार २०२४ को एक वर्ष अवधिमा सीमा पार गर्न खोज्नेमध्ये २ लाख ७१ हजार २ सय २४ लाई मात्र सीमाबाटै निष्कासन गरिएको थियो । 

आफुले कार्यकाल सम्हालेपछि फेब्रुअरीमा गैरकानुनी रुपमा सीमा पार गर्न खोज्नेको संख्यामा कमी आएको भन्दै शनिबार राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल एक्समार्फत सीमा सुरक्षामा खटिनेलाई धन्यवादसमेत दिएका छन् । ‘फेब्रुअरी महिना अफिसमा मेरो पहिलो पुरा महिना हो । यो महिना हाम्रो देशमा गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने सबैभन्दा कम संख्या भएको इतिहासनै कायम भएको छ,' एक्समा तथ्यांक सार्वजनिक गर्दै ट्रम्पले भनेका छन् । Illegal immigration to the U.S. dropped by 97 percent

ट्रम्पले फेब्रुअरीमा सीमा पार गर्न खोज्ने सबै ८ हजार ३ सय २६ जनालाई अमेरिकाबाट तुरुन्तै निष्काशन गरिएको बताएका छन् । ‘तुलनात्मक रुपमा जो बाइडेनको नेतृत्वमा एक महिनामा ३ लाख अबैध रुपमा हाम्रो देशमा आउन खोजे र ती सबैलाई छाडियो । यो उपलब्धिका लागि ट्रम्प प्रशासनलाई धन्यवाद । आगामी दिनमा पनि सबै सीमाबाट अवैध प्रवेश गर्न खोज्ने आप्रवासीहरु जो कोहिले आपराधिक कारबाही र तत्काल निष्कासनको सामना गर्नुपर्नेछ,’ ट्रम्पले एक्समा लेखेका छन् । 

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले अवैध आप्रवासी प्रवेश गर्न खोज्ने संख्या र कारबाहीको सवालमा फेब्रुअरी महिना देशका लागि इतिहास भएको जनाएको छ । मन्त्री क्रिष्टी नोइमले राष्ट्रपति ट्रम्पको एक्सको पोष्ट सेयर गर्दै विश्वलाई फेब्रुअरीको संख्याले हाम्रो देशमा अवैध रुपमा नआउन सन्देशसमेत दिएको दाबी गरेकी छन् । ‘हाम्रो देशमा अवैध रुपमा आउन खोज्ने जोकोहीलाई फिर्ता पठाउने छौं, कारबाही गर्नेछौं,’ उनले एक्समा लेखेकी छन् ।

बाइडेन प्रशासनले यसअघि लागू गरेको आईसीई प्रतिबन्धलाई (डीएचएस)ले उल्टाएपछि सुरक्षाकर्मीलाई संवेदनशील स्थानहरूमा जाने अनुमति दिएसँगै गैरकानुनी आप्रवासी प्रवेश रोकमा बढी प्रभाव पारेको जनाएको छ । डीएचएसको तथ्यांकअनुसार २० जनवरीदेखि ८ फेब्रुअरीसम्म ११ हजार ७ सय ९१ देशभित्र रहेका कागजातविहिन आप्रवासी पक्राउ परेका छन् ।

सन् २०२४ को सोही अवधिमा ४ हजार ९ सय ६९ को मात्र थियो । राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेपछि गैरकानुनी ढंगले अमेरिका प्रवेश शत् प्रतिशत रोक्ने र देशभित्र रहेका कागजातविहित आप्रवासीलाई निष्कासन गर्ने कार्यलाई निरन्तर बृद्धि गर्न निर्देशन दिइसकेका छन् । उनले दिएको निर्देशनलाई जिम्मेवारीपूर्वक निर्वाह नगरे सम्बन्धित कर्मचारीलाई तत्काल निलम्बन र बर्खास्त गर्ने चेतावनीसमेत दिइरहेका छन् ।

ट्रम्प प्रशासनले आईसीईका कार्यवाहक निर्देशक कालेब विटेलोलाई सोचेअनुसार कागजातविहिन आप्रवासी पक्राउ र देशनिकाला गर्न नसकेको भन्दै १० दिनअघि पदबाट हटाएको थियो । विटेलोलाई हटाउने निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प र सीमा मामिलाका ह्वाइटहाउस प्रमुख टम होमानको असन्तुष्टिपछि आएको थियो । उनीहरुले देशनिकाला भएका व्यक्तिहरुको संख्या अपेक्षाभन्दा कम भएकोमा आक्रोश व्यक्तसमेत गरेका थिए ।

विटेलोको स्थानमा नयाँ कार्यवाहक निर्देशक हालसम्म तोकिएको छैन । प्यु रिसर्च सेन्टरको रिपोर्टअनुसार अमेरिकामा हाल १ करोड १० लाख कागजातविहिन आप्रवासी छन् । तीमध्ये सबैभन्दा बढी मक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, चीन, डोमिनिकन रिपब्लिक, भेनेजुएला, ब्राजिल र कोलम्बियाका छन् । 

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully