आकाशमा लहरै देखिँदै सातवटै ग्रह

नासोका प्रमुख सुरेश भट्टराईका अनुसार मौसम सफा भएमा नेपालबाट पनि ग्रहहरु हेर्न सकिन्छ

फाल्गुन १६, २०८१

प्रविना पौडेल

All the seven planets are visible in the sky

काठमाडौँ — पृथ्वीबाट शुक्रबार राति आकाशमा सातवटा ग्रह लहरै देखिँदै छन् । खगोलशास्त्रीहरुका अनुसार बुध, शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र वरुण एकै दिन आकाशमा एकै लाइनमा देख्न सकिन्छ । बुध, शुक्र, मंगल, बृहस्पति, र शनि चम्किलो भएकाले नांगो आँखाले देख्न सकिन्छ ।

तर अरुण र वरुण हेर्न दूरबिन वा टेलिस्कोप आवश्यक पर्छ । जनवरी र फेब्रुअरीको सफा आकाशमा ६ वटा ग्रहहरु पृथ्वीबाट देख्न सकिन्छ । शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र वरुण ग्रह आकाशमा देखिन्छन् । तर बिहीबार भने सातैवटा ग्रह आकाशमा देखिँदै छन् ।

यस्तो घटनाले हाम्रो सौर्यमण्डलमा पनि प्रभाव पार्न सक्ने अनुमान गरिन्छ । सौर्यमण्डलमा पृथ्वीको स्थानबारे पनि नयाँ जानकारीहरु दिन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।

सौर्यमण्डलका आठवटा प्रमुख ग्रहहरु एउटै समतल सतहमा घुम्छन् । तर सबैको गति फरक हुन्छ । सूर्यको सबैभन्दा नजिकको ग्रह बुधले ८८ दिनमा आफ्नो एक चक्र पूरा गर्छ । जुन बुधको एक वर्ष हो । त्यस्तै पृथ्वीको १ वर्ष ३ सय ६५ दिनको हुन्छ । यसैगरी सौर्यमण्डलको अन्त्यमा रहेको वरुणले सूर्यको एक परिक्रमा गर्न ६० हजार १ सय ९० दिन लाग्छ । यो समयमा पृथ्वीमा झन्डै १ सय ६५ वर्ष बित्छ ।

ग्रहहरुको फरक गति भएकै कारण, कहिलेकाहीँ मात्रै ग्रहहरु सूर्यको एउटै भागमा करिब–करिब एउटै लाइनमा आउने गर्छन् । पृथ्वीबाट हेर्दा, यदि ती कक्षहरु एकै लाइनमा आए भने हामीले रातको आकाशमा धेरै ग्रहहरु एकसाथ देख्न सक्छौं । यो दृश्य निकै दुर्लभ मानिन्छ । यसलाई ‘प्लानेटरी पेरेड’ भनिन्छ ।

नेपाल एस्ट्रोनामिकल सोसाइटी (नासो) का प्रमुख सुरेश भट्टराईका अनुसार मौसम सफा भएमा नेपालबाट पनि ग्रहहरु हेर्न सकिन्छ । ‘बेग्लाबेग्लै समय र दिनमा ग्रहहरु प्रायः नै आकाशमा देख्न सकिन्छ, तर एकैदिनमा सातै ग्रह देखिने भने दुर्लभ हो । यद्यपि एउटै लाइनमा ग्रहहरु देखिन्छ भन्ने सूचनाहरु फैलाइएको छ जुन गलत छ,’ भट्टराई भन्छन्, ‘सूर्यबाट कुनै ग्रह नजिक छ, कुनै टाढा त्यसैले ग्रहहरु एकै लाइनमा देखिन सम्भव छैन तर एकै दिन वा रातमा फरक–फरक समयमा भने देखिन्छन् । हामीले नासोमा पनि टेलिस्कोपबाट प्रदर्शन गर्नेछौँ ।’

यूकेका फिफ्थ स्टार ल्याबस्का खगोलशास्त्री तथा विज्ञानका कम्युनिकेटर जेनिफर मिलार्डले आँखाले तारा वा ग्रह हेर्नुको विशेष महत्त्व हुने बताउँछिन् । ‘आफ्नै आँखाले ग्रहहरु हेर्नुको विशेष महत्त्व हुन्छ । गुगलमा गएर सबै ग्रहहरुको आकर्षक तस्बिर हेर्न सकिन्छ । वास्तवमा यी ग्रह वा तारा हेर्नुको अर्थ अन्तरिक्षको करोडौँ वा अर्बौँ माइलको यात्रा गरेर तपाईंको आँखासम्म आइपुगेका हुन्,’ उनले भनिन् ।

‘के यस्तो घटनाले पृथ्वीमा असर पार्छ ? के यसले सौर्यमण्डलबारे हाम्रो जानकारी बढाउन सक्छ ?’ यस्ता प्रश्न समय–समयमा आइरहन्छन् । वास्तवमा यस्तो घटनाले पृथ्वीमा केही प्रभाव नगर्ने मिलार्डले बताएकी छन् । ‘यस्तो घटना संयोगले मात्र हुन्छन् । यस्ता घटनाले पृथ्वीमा प्रभाव पार्न सक्छ भन्ने कुराको आधार निकै कमजोर छ,’ उनले भनिन् ।

यद्यपि सन् २०१९ मा अनुसन्धानकर्ताहरुले ग्रहहरु एकै लाइनमा आउनुले सौर्य गतिविधिमा प्रभाव पार्न सक्ने बताएका थिए । जर्मनीको ड्रेज्डेन–रोसेन्डोर्फमा रहेको हेल्महोल्ट्ज–जेन्ट्रमका भौतिकशास्त्री र्फ्यांक स्टेफनीले शुक्र, पृथ्वी र बृहस्पति ‘टाइडल फोर्स’ हरुले प्रभाव पार्न सक्ने बताएका थिए । स्टेफनीका अनुसार एउटा ग्रहको टाइडल फोर्स निकै कम हुने भएकाले त्यसले केही असर गर्दैन तर दुई वा त्योभन्दा धेरै ग्रहहरु मिल्दा भने मौसममा असर गर्न सक्छ । ‘टाइडल फोर्स’ अर्थात् दुई ग्रहको बीचमा गुरुत्वाकर्षणमा हुने फरक हो ।

नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) का अनुसार ग्रहहरु एउटै लाइनमा आएका भने होइनन् । वास्तवमा ग्रहहरु एकअर्काबाट धेरै टाढा छन् । तर पृथ्वीबाट हेर्दा मात्र एउटै लाइनमा आएजस्तो देखिन्छन् ।

ग्रहहरू सुस्त गतिमा घुम्छन् । जसकारण यो ‘प्लानेटरी परेड’ धेरै दिनसम्म देख्न सकिन्छ ।

नासाका अनुसार, चार/पाँचवटा ग्रहहरू प्रत्येक केही वर्षमा आकाशमा एकै दिन देखिन सक्छन् । आउँदो अगस्टको अन्त्यतिर चारवटा ग्रह यसरी एकै पटक आकाशमा देख्न सकिन्छ ।

सन् २०२८ को अक्टोबरको अन्त्यतिर, पाँचवटा ग्रहहरू देख्न सकिन्छ । अर्को पाँच ग्रहहरूको संयोग फेब्रुअरी २०३४ को अन्त्यतिर हुनेछ । सन् २०४० मा मात्रै सातैवटा ग्रहहरु एकै पटक देखिने प्रक्षेपण गरिएको छ ।

यद्यपि ग्रहहरु छुट्टाछुट्टै समयमा बेग्लै देख्न भने सकिन्छ ।

प्रविना प्रविना कान्तिपुरकी मल्टीिमिडिया रिपाेर्टर हुन् । उनी युवा पुस्ता, प्रविधी र मनाेस्वास्थ्यका बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully