नजिकिए ट्रम्प र पुटिन, युरोप हेरेको हेर्‍यै

कब्जामा लिएका युक्रेनी क्षेत्रसहित रुसका दुर्लभ खनिज उत्खननका लागि सघाउन अमेरिकालाई रुसी राष्ट्रपति पुटिनको प्रस्ताव

फाल्गुन १३, २०८१

बुद्धिसागर मरासिनी

Closer Trump and Putin, watching Europe

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिका र रुसबीचको सम्बन्ध हालसम्मकै सुमधुर देखिएको छ । राष्ट्रसंघीय महासभामा सोमबार अमेरिकाले रुसको पक्षमा मतदान गरेपछि युक्रेनसहित समग्र युरोपलाई झड्का लागेको छ । रुस–युक्रेन युद्ध सुरु भएयता अमेरिकाले पहिलो पटक रुसको पक्षमा मतदान गरेको हो । अमेरिकाको नयाँ कदमले युक्रेन युद्धमा ट्रम्प प्रशासनको अडान फेरिएको पुष्टि भएको छ ।

युक्रेनमाथि आक्रमणका लागि पूर्ण मात्रामा रुस जिम्मेवार भएको प्रस्तावका विरुद्धमा अमेरिकाले मतदान गरेको हो । रुस, इजरायल, उत्तर कोरिया, सुडान, बेलारुस, हंगेरीसहित १८ राष्ट्रले विपक्षमा मत दिए भने ६५ राष्ट्र मतदानमा अनुपस्थित रहे । सुरक्षा परिषद्का १९३ सदस्यमध्ये नेपालसहित ९३ राष्ट्रले समर्थन गरेपछि प्रस्ताव भने पारित भएको छ ।

अर्कोतर्फ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई एक अप्रत्याशित प्रस्ताव गरेका छन् । रुसले कब्जामा लिएको युक्रेनी भूभागसहित रुसका दुर्लभ खनिज भण्डारको विकासका लागि अमेरिकासँग सहकार्यको प्रस्ताव पुटिनले गरेका हुन् । सोमबार राति प्रसारित टेलिभिजन अन्तर्वार्तामा पुटिनले रुस–युक्रेन युद्धबारे ट्रम्पको दृष्टिकोणको प्रशंसा गर्दै अमेरिकालाई रुसको खनिज स्रोत उत्खनन प्रस्ताव राखेको बीबीसीले जनाएको छ । रुस–युक्रेन युद्ध अन्त्यबारे दुई देशबीच पहल भइरहेका बेला पुटिनले अमेरिकाका लागि नयाँ प्रस्ताव राखेका हुन् ।

टेलिभिजन संवाददाताले ‘ट्रम्पले रुसका हितमा खेलेका हुन् ?’ भनेर सोधेको प्रश्नको जवाफमा पुटिनले आफ्नो दृष्टिकोण फरक रहेको बताए । ट्रम्पले ‘युक्रेनको हितमा, युक्रेनी राज्यको हितमा, युक्रेनी राज्यको रक्षा गर्न’ काम गरिरहेको पुटिनको भनाइ छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पद छाड्नुपर्ने ट्रम्पको भनाइमा रुसी राष्ट्रपति पुटिन पनि सहमत देखिएका छन् ।

युक्रेनी राष्ट्रपति ‘युक्रेनको सेना, समाज र राज्यलाई भ्रष्ट बनाउने कारक’ भएको पुटिनको आरोप छ । ‘अमेरिकी राष्ट्रपतिलाई पक्कै पनि यो थाहा छ,’ पुटिनले भनेका छन्, ‘वास्तवमा रुसले जेलेन्स्की त्यहाँ रहिरहेको र शासनलाई भ्रष्ट बनाइरहेको हेर्न चाहन्छ ।’

युक्रेनको सुरक्षा ग्यारेन्टीको बदलामा अमेरिका र युक्रेनले पृथ्वीका दुर्लभ धातुमा पहुँच प्रदान गर्ने सम्झौतानजिक पुगेको अनुमानबारे पुटिनले अमेरिकासँग मिलेर त्यस्ता धातुको प्रयोग गर्न आमन्त्रित गरेका हुन् । पुटिनले भनेका छन्, ‘यो प्रस्ताव रुसी कब्जामा रहेका युक्रेनका क्षेत्रमा खनिज स्रोत उत्खननमा पनि लागू हुन्छ ।’ त्यसका साथै उनले अमेरिकी कम्पनीले रुसमा ऊर्जा र आल्मुनियम उत्पादनजस्ता परियोजनामा भाग लिनुपर्ने पनि बताएका छन् ।

यसअघि ट्रम्पले अमेरिकाले गरेको सहयोगका लागि युक्रेनले खनिजको आधा स्वामित्व दिनुपर्ने बताएका थिए । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको भेटमा हालसम्मको सहयोग र त्यसको निरन्तरताका लागि आधा खनिज दिनुपर्ने सर्त राखेका थिए । तर साउदी अरबको वार्तामा युक्रेनलाई संलग्न नगराइएको भन्दै रिसाएका जेलेन्स्कीले ट्रम्पको प्रस्ताव अस्वीकार गरेका थिए ।

ट्रम्पले ‘तानाशाह’ को संज्ञा दिँदै सत्तामा आएदेखि ‘चुनाव नगराएको’ आरोप लगाएपछि भने जेलेन्स्की अमेरिकी प्रस्ताव मान्न तयार भएका थिए । तर त्यसका लागि आगामी दिनमा रुसले युक्रेनमा आक्रमण नगर्ने निश्चित हुनुपर्ने उनको भनाइ थियो ।

समाचार एजेन्सीका अनुसार राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै रुस–युक्रेन युद्ध अन्त्यका लागि पहल गर्ने घोषणा गरेका ट्रम्प र रुसी समकक्षी पुटिनबीच दुई साताअघि फोनमार्फत वार्ता सुरु भएको थियो । फोन वार्तामा दुई नेताबीच युद्ध अन्त्य गर्नेदेखि एकअर्काको देश भ्रमण गर्नेसम्मका विषयमा छलफल भएको थियो । रुस र अमेरिकाका विदेशमन्त्री स्तरीय वार्तासमेत भएको छ । साउदी अरबमा भएको वार्तामा युद्ध अन्त्य गर्न उच्चस्तरीय टोलीबीच सहमति भइसकेको छ ।

युद्धमा युक्रेनलाई सघाउने बताएका युरोपेली देशका नेता भने अमेरिका धाउन थालेका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस पुगेर ट्रम्पलाई भेटेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले केही साताभित्र युद्धविराम हुने बताएका छन् । ट्रम्पसँगको भेटपछि म्याक्रोंले ‘आगामी साता युद्धविराम हुने तर कुनै पनि शान्ति सम्झौताले युक्रेनको सुरक्षाको प्रत्याभूति हुनुपर्ने’ बताएका छन् ।

‘हामी शान्ति चाहन्छौं, एक शान्ति जसको मतलब युक्रेनको आत्मसमर्पण वा सुरक्षाको ग्यारेन्टीबिनाको युद्धविराम होइन,’ म्याक्रोंले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘एउटा युद्धविराम जसले दीर्घकालीन युक्रेनी सार्वभौमसत्ताका लागि सर्त प्रदान गर्छ र हामीले सामूहिक सुरक्षाका लागि जिम्मेवारी ग्रहण गर्छौं ।’

म्याक्रोंसँगको वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले जतिसक्दो चाँडो युद्धविराम चाहेको बताउँदै शान्तिसुरक्षाको मूल्य र बोझ अमेरिकाले मात्र नभई युरोपका राष्ट्रले पनि तिर्नुपर्ने बताएका छन् । म्याक्रोंले युद्धविराम हुन सक्ने बताए पनि युक्रेनी राजनीतिज्ञ, सैनिक र नागरिकले भने युद्धविराम लागू गर्न पश्चिमी मुलुकको सहयोग आवश्यक भएको बताएका छन् । युरोपले युक्रेनमाथिको समर्थन जारी राख्ने प्रतिबद्धता जनाएका छन् । युक्रेनी राजधानी किभमा सोमबार राति भएको शिखर सम्मेलनमा रुसमाथि थप प्रतिबन्ध र युक्रेनका लागि सैन्य प्याकेज घोषणा गरिएको छ ।

रुस–युक्रेन युद्धको तेस्रो वर्षगाँठका अवसरमा भएको बैठकमा १३ युरोपेली देशका नेतासहित क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडो उपस्थित थिए । बैठकपछि युरोपेली संघ र बेलायतले रुसविरुद्ध थप प्रतिबन्ध घोषणा गरेका छन् । युरोपेली संघले अमेरिकी प्रस्तावलाई टक्कर दिन युक्रेनसँग आफ्नै प्राकृतिक स्रोत सम्झौताको प्रस्ताव पनि गरेको छ । जेलेन्स्कीले युक्रेनलाई सैन्य गठबन्धन नेटोको सदस्यता दिएको खण्डमा पद छाड्न तयार रहेको बताएको केही दिनमा क्यानडा र युरोपेली देशका नेता किभ पुगेका हुन् ।

युक्रेन युद्धबारे छलफल गर्न बेलायती प्रधानमन्त्री केयर स्टार्मरले बिहीबार राष्ट्रपति ट्रम्पलाई भेट्दै छन् । म्याक्रों र स्टार्मर दुवैले युरोप र अमेरिकाबीच सम्बन्ध बलियो बनाउन प्रयास गरिरहेका छन् ।

(एजेन्सीको सहयोगमा)

बुद्धिसागर मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully