जर्मनीमा कन्जरभेटिभ पार्टीको जित

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

The victory of the Conservative Party in Germany

काठमाडौँ — जर्मनीमा सम्पन्न आम चुनावमा कन्जरभेटिभ सीडीयू पार्टी देशको सबैभन्दा ठूलो पार्टी बनेको छ । यस पार्टीले सबैभन्दा बढी २८ दशमलव ६ प्रतिशत मत पाएको छ ।

सीडीयू/सीएसयू पार्टीका नेता फ्रिड्रिख मर्त्जले आफ्नो पार्टीको जितमा खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्,  ‘आज हामी उत्सव मनाइरहेका छौं । भोलिदेखि काम गर्नेछौं ।’

जर्मनीमा चुनावपछि मतगणना सम्पन्न भइसकेको छ । चुनावी नतिजाअनुसार अल्टरनेटिभ फर जर्मन पार्टी (एएफडी) दोस्रो र सोशल डेमोक्रेटिक पार्टी तेस्रो भएको छ । 

चुनावी नतिजालाई लिएर यूरोपका नेताहरुको प्रतिक्रिया आउने क्रम जारी छ । ब्रिटेनका प्रधानमन्त्री कीएर स्टार्मरले भनेका छन्, ‘म जर्मनीको नयाँ सरकारसँग मिलेर काम गर्न र दुवै देशबीच पहिलेदेखि रहेको मजबुद सम्बन्धलाई अझ राम्रो बनाउँदै काम गर्नका लागि तयार छु ।’

उनले ब्रिटेन र जर्मनी दुवै एकसाथ मिलेर दुवै देशको सुरक्षा र विकासका लागि काम गर्ने प्रतिक्रिया दिएका छन् । 

यस्तै फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले कन्जरभेटिभ पार्टीका नेता फ्रिड्रिक मर्त्जलाई बधाई दिँदै दुई देश मिलेर शक्तिशाली युरोपका लागि काम गर्ने बताएका छन् ।

कान्तिपुर

Link copied successfully