काठमाडौँ — जर्मनीमा आइतबार सम्पन्न आमनिर्वाचनमा कन्जरभेटिभ क्रिस्टियन डेमोक्रेटिक युनियन (सीडीयू) विजयी भएको छ । फ्रेडरिक मर्ज नेतृत्वको सीडीयूले सबैभन्दा बढी २८ दशमलव ६ प्रतिशत मत पाएको छ । सबैभन्दा ठूलो दल बने पनि सीडीयूले अपेक्षा गरेअनुसारको ३० प्रतिशतभन्दा कम मत ल्याएको हो ।
मतदानबाट चरम दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी) दोस्रो ठूलो दल बनेको छ । एएफडीले २० प्रतिशत मत पाएको छ । तर उक्त दलले अझै बढी मत ल्याउने सर्वेक्षणहरूले देखाएका थिए । एसपिडीले १६.४, ग्रीन्सले ११.६, लेफ्टले ८.८, बीएसडब्लूले ४.९७, एफडीपीले ४.३ प्रतिशत मत ल्याएका छन् ।
६ सय ३० सिटको बुन्डेसटाग (जर्मन संसद) मा सरकार गठनका लागि ३ सय १६ सिट आवश्यक पर्छ । सीडीयूले २ सय ८ सिट जितेको छ । मत परिणामअनुसार सरकार बनाउन सीडीयूलाई थप १ सय ८ मत चाहिने भएको छ । एएफडीले १ सय ५२, एसपिडीले १ सय २०, ग्रिन्सले ८५, लेफ्टले ६४ सिट पाएका छन् । सम्भावित गठबन्धन सरकार सीडीयू र एसपीडीबीच हुने जर्मन सञ्चारमाध्यमले जनाएका छन् । यदि एसपीडी गठबन्धनमा सहभागी नभएमा सीडीयूले ग्रिन्स र लेफ्टलाई मनाउनुपर्ने देखिन्छ ।
चुनावी परिणामसँगै सिडियू नेता फ्रेडरिक मर्ज नयाँ चान्सलर बन्ने निश्चित भएको छ । जनताले आफूहरूलाई विश्वास गरेको खुसी व्यक्त गर्दै उनले भनेका छन्, ‘आज हामी उत्सव मनाइरहेका छौं । भोलिदेखि काम गर्नेछौं ।’ उनले आफ्ना जिम्मेवारीबारे जानकार रहेको बताएका छन् ।
प्रतिस्पर्धी एएफडीबाट चान्सलरको उम्मेदवार बनेकी एलिस वाइडलले 'जर्मनहरूले परिवर्तनका पक्षमा मतदान गरेको' प्रतिक्रिया दिएकी छन् । मेर्जको दलले गठबन्धन सरकार बनाए पनि त्यो सफल नहुने उनको दाबी छ । 'मलाई अर्को चार वर्ष पर्खनुपर्छ जस्तो लाग्दैन । हामी ताजा चुनावमा जान्छौं,' उनले भनेकी छन् ।
चुनावअघि मेर्जले कम्तीमा दुइटा दलबीचको गठबन्धनबाट सरकार बन्न सक्ने गरी स्पष्ट जनादेश दिन मतदातालाई आह्वान गरेका थिए । त्यसले आफूलाई देशले सामना गरिरहेका समस्या समाधान गर्न सक्षम बनाउने उनको चुनावी वाचा थियो । तर उनको दलले एएफडीसँग भने गठबन्धन नगर्ने बताएको थियो ।
मर्जले चान्सलरका लागि आवश्यक सिट पुर्याउन कम्तीमा अर्को एउटा पार्टीसँग गठबन्धन गर्नुपर्ने हुन्छ । उनले वर्तमान चान्सलर ओलाफ सोल्जको एसपिडीसँग गठबन्धन गर्ने आकलन गरिएको छ । सोल्ज नेतृत्वको तीन दलीय गठबन्धन सरकार गत वर्ष ढलेको थियो । सरकारबाट बाहिरिन लागेका सोल्जले निर्वाचनको नतिजा आफ्नो पक्षमा नआएको जनाउँदै गठबन्धन सरकार बनाउने वार्तामा सहभागी नहुने बताएका बीबीसीले जनाएको छ ।
चुनावी नतिजापछि यूरोपेली नेताहरूले मर्जलाई बधाई दिएका छन् । बेलायती प्रधानमन्त्री केयर स्टार्मरले ‘जर्मनीको नयाँ सरकारसँग मिलेर काम गर्न र दुवै देशबीच पहिलेदेखि रहेको मजबुद सम्बन्धलाई अझ राम्रो बनाउँदै काम गर्न तयार रहेको’ बताएका छन् ।
यस्तै फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोले मर्जलाई बधाई दिँदै दुई देश मिलेर शक्तिशाली युरोपका लागि काम गर्ने बताएका छन् । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले किभ जर्मनीसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । 'युरोपले उद्योगहरू स्थापना गर्नुपर्छ र नतिजा निकाल्नुपर्छ । युरोपले आफ्नो प्रतिरक्षा आफै गर्न सक्षम हुनुपर्छ,' उनले भनेका छन् ।
चुनावी अभियानका क्रममा उनले युरोपमा बलियो नेतृत्व दिने वाचा गरेका थिए । तर देशको सैन्य बजेट घटाउनुपर्ने आन्तरिक दबावबीच उनले युक्रेनलाई दिँदै आएको सहयोग बढाउने बताएका छन् । युक्रेनलाई हाल सैन्य सहयोग गर्ने देशको सूचीमा जर्मनी दोस्रो स्थानमा छ । त्यस्तै, इटाली, हंगेरी, अस्ट्रिया, इजरायल लगायतका देशले पनि मर्जलाई बधाई दिँदै मिलेर अघि बढ्न तयार रहेको बताएका छन् ।
रुसले भने मर्जको विजयमा सावधानीपूर्वक प्रतिक्रिया व्यक्त गरेको छ । रुस र कुनै नयाँ जर्मन सरकारबीचको सम्बन्ध कसरी विकसित हुन्छ भनेर पर्खनु पर्ने रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले जनाएको छ । 'जर्मनीमा नयाँ सरकार बनेपिच्छे हामी वास्तविकताका लागि थप शान्त दृष्टिकोणका लागि आशा गर्न चाहन्छौं, पारस्परिक हितका मुद्दा, पारस्परिक लाभ के हुन सक्छन् भन्ने बारे थप दृष्टिकोणका लागि । तर वास्तविकतामा के हुन्छ हेरौं,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन् ।
अमेरिकी प्रशासनसँग भने उनको सम्बन्ध त्यति सुमधुर हुने छनक देखिँदैन । चुनावअघि अमेरिकी राष्ट्रपति ट्रम्पका साथै अमेरिकी उपराष्ट्रपति जेडी भान्स र अर्बपति इलन मस्कले एएफडी नेतृ एलिस विडेललाई खुलेर समर्थन गरेका थिए । मस्कले भनेका थिए, 'एएफडीले मात्र जर्मनीलाई बचाउन सक्छ ।'
चुनावी नतिजापछि भने ट्रम्पले सीडीयूको चुनावी विजयलाई उनको लोकप्रिय राजनीतिक आन्दोलनको प्रमाणको रूपमा प्रशंसा गरेका छन् । 'अमेरिका जस्तै जर्मनीका जनताहरू वर्षौदेखि व्याप्त खासगरी ऊर्जा र आप्रवासन जस्ता सामान्य एजेन्डाबाट थकित भएका छन्,' ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, 'यो जर्मनी र डोनाल्ड जे ट्रम्प नामक सज्जनको नेतृत्वको अमेरिकाका लागि उत्कृष्ट दिन हो । सबैलाई बधाई ।'
प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै मर्जले अमेरिकाबाट 'स्वतन्त्रता' प्राप्त गर्ने बताएका छन् । युरोपलाई बलियो बनाउनु आफ्नो प्राथमिकता भएको र आफ्नो रक्षाका लागि वासिङगटनमा भर पर्नु नपर्ने उनको भनाइ छ । 'यो मेरो पूर्ण प्राथमिकता हो, अमेरिकाबाट के आउँछ भन्ने बारे मलाई कुनै भ्रम छैन,' उनले भनेका छन् ।
मर्जले मस्कलाई निसाना बनाउँदै एएफडीलाई समर्थन गर्न चुनावी अभियानमा हस्तक्षेप गरेको बताएका छन् । 'वासिङगटनका हस्तक्षेपहरू हामीले मस्कोबाट देखेका हस्तक्षेपभन्दा कम नाटकीय र अव्यवस्थित थिएनन् । त्यसैले हामी दुई पक्षबाट ठूलो दबाबमा छौं,' मर्जले भने ।
उनले आगामी जुनमा हुने बैठकको समयसम्म नेटोको 'वर्तमान रूप' मा रहिरहनेमा आफू निश्चित नभएको उनको भनाइ छ । 'वा हामीले धेरै छिटो एक स्वतन्त्र युरोपेली प्रतिरक्षा क्षमता स्थापना गर्नुपर्नेछ,' उनले भनेका छन् ।
आइतबार भएको चुनावमा ८३ प्रतिशत मतदाताले भोट खसाएका थिए । यो १९९० मा दुई जर्मनी एक भएयता भएकको सबैभन्दा धेरै मतदान हो । ५ करोड ९२ लाख योग्य मतदातामध्ये लाखौंले चुनावको दिन अघि नै हुलाकमार्फत् मत दिएका थिए ।
को हुन् मर्ज ?
क्रिस्चियन डेमोक्रेटिक युनियन (सिडियु) नेता फ्रेडरिक मर्ज जर्मनीको नयाँ चान्सलर बन्ने भएका छन् । ६९ वर्षीय मेर्ज आफ्नो पार्टी र समर्थकहरूका लागि परिचित अनुहार हुन् । उनको जन्म पश्चिम जर्मन सहर ब्रिलोन सहरमा सन् १९५५ मा एक प्रमुख रूढिवादी क्याथोलिक परिवारमा भएको हो । मर्जका बुबाले स्थानीय न्यायाधीशका रूपमा सेवा गरेका थिए ।
मर्जकी पत्नी चार्लोट गास बहालवाल न्यायाधीश हुन् । गाससँग उनले सन् १९८१ मा विवाह गरेका हुन् । मर्ज विद्यालय उमेरमा नै सिडियुमा आवद्ध भएका हुन् । विद्यालय शिक्षापछि केही समय उनले सैनिक सेवामा काम गरे । त्यसपछि कानुन अध्ययन गरेका मर्जले केही वर्ष वकिलको रूपमा काम गरे ।
तर राजनीतिमा रूचि राख्ने मर्ज १९८९ मा ३३ वर्षको उमेरमा युरोपेली संसदमा निर्वाचित भए । त्यसपछि उनी चरम दक्षिणपन्थी तथा परम्परावादी गुटबाट पार्टीमा उदाएका हुन् । तर १९९४ मा उनी युरोपेली संघको राजनीतिबाट जर्मनीको राष्ट्रिय राजनीतिमा फर्केका हुन् ।
प्रतिद्वन्द्वी तथा पूर्व चान्सलर एन्जेला मर्केलले सीडीयु पार्टीको नेतृत्व जितेको केही वर्षपछि अर्थात् २००९ मा मर्जले राजनीति छोडेका थिए । मर्केलले सन् २०१८ मा सिडियुको नेतृत्व त्याग्ने र पाँचौं कार्यकालका लागि चान्सलरको प्रतिस्पर्धामा नरहेको घोषणा गरेपछि उनी पार्टीमा पुन: सक्रिय भएका थिए ।
मर्ज पार्टी नेतृत्वको प्रतिस्पर्धामा तेस्रोपटकमा सफल भएका हुन् । उनी २०१८ र जनवरी २०२१ मा असफल भएका थिए । उनले फेब्रुअरी २०२२ देखि पार्टी नेतृत्व तथा सिडियु-सिएसयु संसदीय समूहको नेतृत्व सम्हालेका हुन् । मर्ज यसअघि भने मन्त्रीसमेत भएका छैनन् ।
