रुस–युक्रेन युद्धका तीन वर्ष : ट्रम्पको पुनरागमनसँगै दबाबमा जेलेन्स्की 

फाल्गुन ११, २०८१

बुद्धिसागर मरासिनी

Three years of Russia-Ukraine war: Zelensky under pressure as Trump returns

काठमाडौँ — युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुने तयारी थालेसँगै रुसले आक्रमण सुरु गरेको तीन वर्ष पुगेको छ । यस अवधिमा युक्रेनले नेटोको सदस्यता पाउनु त परको कुरा, उल्टै आफ्नो देशमा रहेका आधा खनिज गुमाउने देखिएको छ ।

रुसले आक्रमण सुरु गरेसँगै निःसर्त युक्रेनलाई सघाएका तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेन सत्ताबाट बाहिरिएसँगै युक्रेन थप अप्ठ्यारोमा परेको हो । जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका ट्रम्पले ‘युक्रेन नेटोमा आबद्ध हुन आवश्यक नभएको’ बताइसकेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन कुराकानीपछि ट्रम्पले रुससँग सम्झौता भए युक्रेनले नेटोको सदस्यता नपाउने र युद्धका क्रममा गुमाएका सबै भूभाग फिर्ता नपाउने बताएका छन् । त्यस्तै, अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पनि युक्रेन नेटोमा आबद्ध हुने र युद्धका क्रममा गुमेका सबै क्षेत्र फिर्ता लिने कुरा अस्वीकार गरिसकेका छन् ।

ट्रम्प र हेगसेथको प्रतिक्रियाले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई मात्र होइन, युरोपेली संघमा आबद्ध देशका नेतालाई पनि आक्रोशित बनाएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशको संलग्नताबिना भएका कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका छन् । युद्ध अन्त्य गर्न ट्रम्प प्रशासनको अग्रसरतामा अमेरिका र रुसबीच गत साता साउदी अरबमा वार्ता भएको थियो । दुवै देशका विदेशमन्त्रीको नेतृत्व भएको उक्त वार्तामा युद्ध अन्त्यका लागि उच्चस्तरीय टोलीबीच कुराकानी हुने सहमति भएको छ ।

वार्तामा रुसका तर्फबाट विदेशमन्त्री सर्गेई लाभरोभ र राष्ट्रपतिका विदेश नीति सल्लाहकार युरी उसाकोभ तथा अमेरिकाका तर्फबाट विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेषदूत स्टिभ विटकफ सहभागी थिए । वार्तामा आयोजक साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फर्हान अल–साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसइद बिन मोहम्मद अल–ऐवान सहभागी थिए ।

तर, वार्तामा आफूहरूलाई कुनै निम्ता नदिएको भन्दै जेलेन्स्की र युरोपेली नेताहरू रुष्ट बनेका हुन् । युक्रेन वा युरोपको सहभागिताबिना हुने कुनै पनि वार्ता अमान्य हुने उनीहरूको भनाइ छ । फ्रान्स, बेलायत, जर्मनी, पोल्यान्ड, इटाली, स्पेन र डेनमार्कलगायत जेलेन्स्कीको पक्षमा देखिएका छन् । राष्ट्रपतिको जिम्मेवारी सम्हालेयता ट्रम्पले युक्रेनमाथिको सहयोग कटौती मात्र गरेका छैनन्, विगतमा अमेरिकाले गरेको सहयोगका लागि आधा खनिज दिनुपर्ने माग गरेका छन् ।

रुसी आक्रमणयता युक्रेनले ४ खर्ब ७ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक अनुदान प्राप्त गरिसकेको छ । यसमध्ये ४७ प्रतिशत अनुदान अमेरिकाले प्रदान गरेको छ । त्यस्तै, बेलायत र जर्मनीले ८/८ प्रतिशत, जापानले ५, क्यानडा, डेनमार्क र नेदरल्यान्ड्सले ४/४, फ्रान्स र स्वीडेनले ३/३, पोल्यान्ड र नर्वेले २/२ प्रतिशत तथा बाँकी १० प्रतिशत अन्य देशले योगदान गरेका छन् । ट्रम्प प्रशासनले रुसविरुद्ध लड्न गरेको सहयोगको बदलामा युक्रेनले आधा खनिज स्रोतको स्वामित्व दिनुपर्ने बताएको हो । अर्थमन्त्री स्कट बेसेन्टले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भएको भेटमा हालसम्मको सहयोग र त्यसको निरन्तरताका लागि आधा खनिज दिनुपर्ने सर्त राखेका हुन् । तर जेलेन्स्कीले सर्त अस्वीकार्य रहेको बताइसकेका छन् ।

अमेरिकाले मागेको डिस्प्रोसियम, नियोडिमियम र सेरियम नामक दुर्लभ खनिज अर्थात् ‘रेयर अर्थ’ १७ प्रकारका भारी धातुका समूह हुन् । विज्ञका अनुसार यी दुर्लभ खनिज इलेक्ट्रोनिक्स, सैन्य उपकरण र प्रविधिमा अत्यावश्यक हुन्छन् ।

अमेरिकी जियोलोजिकल सर्भेले २०२४ मा गरेको अध्ययनअनुसार विश्वभर करिब १ सय १० मिलियन टन दुर्लभ खनिजको भण्डार छ । ४४ मिलियन टन चीनमा छ, जुन संसारकै सबैभन्दा ठूलो उत्पादक हो । त्यस्तै २२ मिलियन टन ब्राजिलमा, २१ मिलियन टन भियतनाममा, १० मिलियन टन रुसमा र ७ मिलियन टन भारतमा छ ।

जेलेन्स्कीले प्रस्ताव अस्वीकार गरेकाले ट्रम्पले सैन्य र आर्थिक सहायता रोक्ने र युद्ध अन्त्यको पहल सुरु गरेको अनुमान गरिएको छ । त्यसमाथि ट्रम्पको पुनरागमनसँगै पुटिन अमेरिकी प्रशासनसँग नजिकिएकाले पनि जेलेन्स्की थप दबाबमा परेका छन् । ट्रम्पसँगको सम्बन्धकै कारण पुटिनले जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको समेत बताइसकेका छन् । तर सुरक्षा, रक्षा वा सैन्य गठबन्धनमा युक्रेनको आबद्धताका विषयमा भने कुनै सम्झौता नगर्ने रुसको भनाइ छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले जेलेन्स्की ‘तानाशाह’ भएको र उनकै कारण युद्ध सुरु भएको बताएका थिए । त्यस्तै, उनले आफूसँग रुस–युक्रेन युद्ध अन्त्य गर्ने शक्ति रहेको र वार्तामा युक्रेनका लागि कुनै स्थान नभएको बताएका छन् । ट्रम्प आक्रोशित भएपछि भने पछिल्लो समय जेलेन्स्की ट्रम्प प्रशासन लचिलो देखिएका छन् । जेलेन्स्कीले युक्रेनमा शान्ति हासिल गर्न ‘अमेरिकाको शक्ति’ आवश्यक भएको भन्दै मद्दत गर्न आह्वान गरेका छन् ।

रुसले २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण सुरु गरेसँगै दुई देश युद्धमा होमिएका हुन् । तीन वर्ष लामो युद्धका क्रममा दुवै देशले ठूलो क्षति बेहोरेका छन् । यस अवधिमा रुसले करिब २० प्रतिशत भूभाग नियन्त्रणमा लिइसकेको छ । युक्रेनले पनि रुसी जहाज, सेनाका गाडी तथा कतिपय सहरमा ड्रोन आक्रमण गर्दै आएको छ ।

रुसी आक्रमणका कारण कम्तीमा ४० हजार युक्रेनीको ज्यान गइसकेको छ । ६८ लाख युक्रेनी देश छाड्न बाध्य भएका छन् भने ४० लाख युक्रेनी आन्तरिक रूपमा विस्थापित भइसकेका छन् । १ करोड ४६ लाख मानिसलाई मानवीय सहायता आवश्यक भएको सहायता संस्थाहरूले जनाएका छन् ।

बीबीसीले विश्लेषण गरेको तथ्यांकका अनुसार रुसी सेनाका लागि लडिरहेका कम्तीमा ९५ हजारको मृत्यु भइसकेको छ । यसका उत्तर कोरियाली सेनादेखि विभिन्न देशका नागरिक छन् । यो तथ्यांकमा स्वघोषित डोनबास गणतन्त्रमा मारिएका २१ हजारदेखि २३ हजार लडाकुहरू समावेश नभएको बीबीसीले जनाएको छ । बीबीसी रुसी, स्वतन्त्र मिडिया समूह मिडियाजोना र स्वयंसेवकहरूले २०२२ फेब्रुअरीदेखि मृत्युको गणना गरिरहेको बीबीसीले जनाएको छ । युद्धका क्रममा १ लाख ४६ हजार १ सय ९४ देखि २ लाख ११ हजार १ सय ६९ रुसी सैनिकको ज्यान गएको अनुमान गरिएको छ ।

युक्रेनले गत डिसेम्बरमा एक तथ्यांक सार्वजनिक गर्दै रुससँगको युद्धमा ४२ हजार सैनिकले ज्यान गुमाएको जनाएको थियो । तर पश्चिमा देशका विश्लेषकहरूले यो तथ्यांक अनुमानितभन्दा निकै कम भएको बताएका छन् । खुला स्रोतहरूबाट तथ्यांक संकलन गर्ने वेबसाइट ‘युक्रेन लसेस’ का अनुसार युद्धमा कम्तीमा ७० हजार ४ सय युक्रेनी सैनिकले ज्यान गुमाइसकेका छन् ।

युद्धको तेस्रो वर्षगाँठको पूर्वसन्ध्यामा रुसले शनिबार युक्रेनका १३ क्षेत्रमा भयानक आक्रमण गरेको छ । रुसले शनिबार राति मात्रै २ सय ६७ ड्रोन आक्रमण गरेको छ । यो आक्रमण सुरु भएयता एकै दिन गरिएको सबैभन्दा ठूलो आक्रमण भएको युक्रेनी वायुसेनाका प्रवक्ता युरी इग्नाटले जनाएका छन् । तीमध्ये १ सय ३८ ड्रोनलाई युक्रेनी हवाई प्रतिरक्षा प्रणालीले निस्तेज पारेको उनको भनाइ छ । १ सय १९ ड्रोनले केही क्षति नपुर्‍याएका, तीन वटा बेलारुस र एउटा रुसतर्फ गएका इग्नाटले बताए ।

युक्रेनी अधिकारीहरूका अनुसार रुसले राजधानी किभसँगै खार्किभ, पोल्टाभा, सुमी, चेर्निहिभ, चेरकासी, किरोभोहराद, जाइटोमिर, खेमेलनित्स्की, रिभ्न, माइकोलेइभ, ओडेसा र डिनिप्रोमा आक्रमण गरेको हो । रुसी आक्रमणमा कम्तीमा दुई जना मारिनुका साथै ६ जना घाइते भएका छन् । रुसी आक्रमणका कारण डिनिप्रो क्षेत्रमा एक जनाको ज्यान गएको हो । कैयौं भवन तथा सवारीसाधनहरूमा क्षति पुगेको उनीहरूको भनाइ छ । त्यस्तै पूर्वी दोनेत्स्क क्षेत्रको औद्योगिक सहर कोस्टियान्टिनिभ्कामा एक महिलाको ज्यान गएको छ । घटनामा तीन जना घाइते भएका छन् । आक्रमणमा ७ अपार्टमेन्ट र अन्य १४ भवनमा क्षति पुगेको छ ।

ओडेसा क्षेत्रमा ड्रोन आक्रमणका कारण एक निजी घरमा आगो लाग्दा तीन जना घाइते भएका छन् । त्यस्तै, दक्षिणपूर्वी क्षेत्र जापोरिजामा भएको आक्रमणमा एक महिला घाइते भएकी छन् । दर्जनौं आवासीय घरमा क्षति पुगेको छ । राजधानी किभमा ड्रोन आक्रमणले दर्जनौं आवासीय घर तथा सवारीसाधन क्षतिग्रस्त भएका छन् । रुसी रक्षा मन्त्रालयले भने देशका ६ क्षेत्रमा शनिबार राति प्रहार गरिएका २० युक्रेनी ड्रोनलाई हवाई रक्षा इकाइले नष्ट गरेको जनाएको छ ।

युद्ध चौथो वर्षमा प्रवेश गरेसँगै रुसी राष्ट्रपति पुटिनले युक्रेनमा लडिरहेको सेनाका आवश्यकता पूरा गर्नु र सशस्त्र सेनालाई थप सुदृढ पार्नु रुसको प्रमुख रणनीतिक प्राथमिकता भएको बताएका छन् । यसलाई युक्रेनलाई थप आक्रमण गर्दै आफू अनुकूलको सम्झौता गर्ने पुटिनको रणनीतिका रूपमा हेरिएको छ ।

बुद्धिसागर मरासिनी मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully