इजरायली जेलमा रहेका ६ सय २ प्यालेस्टिनीको रिहाइमा ढिलाइ

हमासद्वारा शनिबार थप ६ इजरायली बन्धक मुक्त

फाल्गुन ११, २०८१

एजेन्सी

Delay in the release of 622 Palestinians in Israeli prisons

जेरुसलेम — प्यालेस्टिनी समूह हमासले थप ६ इजरायली बन्धक मुक्त गरेको छ । हमासले अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायली बन्धकलाई शनिबार दिउँसो रिहा गरेको हो । हमासले एवेरा मेन्गिस्टु, हिसाम अल–सयद, ओमेर सेम टोभ, एलिया कोहेन, ओमर वेन्कर्ट र ताल सोअमलाई दक्षिणी गाजास्थित रफाह सहरमा रेडक्रसका प्रतिनिधिको जिम्मा लगाएको बीबीसीले जनाएको छ । 

३८ वर्षीय मेन्गिस्टु र ३७ वर्षीय अल–सयद क्रमशः २०१४ र २०१५ मा गाजा प्रवेश गरेपछि पक्राउ परेका थिए । इजरायलले उनीहरू दुवैमा मानसिक स्वास्थ्य समस्या भएको बताएको थियो । २२ वर्षीय टोभ, २७ वर्षीया कोहेन र २३ वर्षीय वेन्कर्टलाई २०२३ अक्टोबर ७ मा बन्धक बनाइएको हो । ४० वर्षीय सोअमलाई भने किबुट्ज बेइरीबाट अपहरण गरिएको थियो । 

हमास र इजरायलबीच करिब एक महिनाअघि युद्धविराम लागू भएयता सातौं पटक बन्धक रिहा गरिएको हो । यसअघि हमासले गत बिहीबार ४ इजरायली बन्धकको शव हस्तान्तरण गरेको थियो । तर सिरी विबासको भनेर पठाइएको शव उनको नभएको परिवारले जनाएको थियो । लगत्तै हमासले शुक्रबार विबासको शव हस्तान्तरण गरेको थियो ।

हमासले ६ जना बन्धक मुक्त गरे पनि इजरायलले भने ६ सय २ जना प्यालेस्टिनी बन्दीहरूको रिहामा ढिलाइ गरेको बीबीसीले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले अर्को चरण बन्धक रिहा नगरेसम्म इजरायलले प्यालेस्टिनी बन्दी रिहा नगर्ने बताएका छन् । हमासले युद्धविराम सम्झौता उल्लंघन गरेको उनको आरोप छ । 

रिहा हुने भनिएका बन्दीमध्ये ५० जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो । ६० जनाले लामो समयको कारावास सजाय भोगिरहेका छन् । अन्यलाई गत अक्टोबर ७ देखि कुनै आरोपबिना नै हिरासतमा राखिएको हो ।

यस अवधिमा हमासले ३३ बन्धक रिहा तथा शव हस्तान्तरण गरेको छ । त्यसको बदलामा इजरायलले करिब १९ सय प्यालेस्टिनी बन्दी रिहा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा अझै ६१ बन्धक छन् । तीमध्ये एक जना नेपाली युवा विपिन जोशी छन् । कञ्चनपुरका जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए । 

मध्यस्थकर्ताहरूले बाँकी बन्धकहरूको रिहाइका लागि दोस्रो चरणको वार्ता सुरु गर्ने योजना बनाएका छन् । इजरालयी प्रधानमन्त्रीको कार्यालयका अनुसार बाँकीमध्ये आधाभन्दा कम मात्र जीवित छन् । 

१५ महिना लामो युद्धपछि हमास र इजरायलबीच भएको युद्धविराम सम्झौता जनवरी १९ देखि कार्यान्वयमा आएको हो । तीन चरणको युद्धविरामको पहिलो चरणमा हमासले बन्धक बनाएका ३३ जना मुक्त गर्ने र त्यसको बदलामा इजरायलले १९ सय प्यालेस्टिनीलाई रिहा गर्ने सहमति भएको थियो ।

युद्धविरामको दोस्रो चरणमा बाँकी बन्धक रिहा तथा मृतकको शव हस्तान्तरण गर्ने सहमति भएको हो । त्यसका साथै गाजाबाट इजरायली फौज पूर्ण रूपमा फिर्ता हुने सम्झौतामा उल्लेख छ । तेस्रो चरणमा गाजाको पुननिर्माणको योजना समेटिएको छ । 

इजरायलले युद्धविरामका सर्त उल्लंघन गरेको भन्दै गत साता हमासले बन्धक रिहाइ रोक्ने बताएको थियो । युद्धविराम सम्झौताअनुसार इजरायलले विस्थापित प्यालेस्टिनीलाई उत्तरी गाजामा फिर्ता हुन नदिएको, स्थानीयमाथि गोली चलाएको र सहमतिअनुसार मानवीय सहायता वितरणमा अनुमति नदिएको हमास प्रवक्ता अबु ओबेदाले आरोप लगाएका थिए ।

हमासको आरोपको प्रतिउत्तरमा इजरायलले पनि शनिबारसम्म बन्धकहरू रिहा नगरिए युद्धविराम अन्त्य हुने चेतावनी दिएको थियो । त्यसलगत्तै इजरायली सेनालाई गाजाभित्र र वरपरको क्षेत्रमा खट्न आदेशसमेत दिइएको थियो । त्यस्तै अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सम्झौताअनुसार बन्धक रिहा नभए युद्धविराम अन्त्य गरेर हमासलाई निमिट्यान्न पार्ने चेतावनी दिएका थिए । 

ट्रम्पको भनाइको स्वागत गर्दै इजरायली प्रधानमन्त्री नेता बेन्जामिन नेतान्याहुले बन्धक रिहा नभए युद्धविराम अन्त्य हुने र इजरायली फौजले हमास पराजित नभएसम्म लडाइँ जारी राख्ने चेतावनी दिएका थिए । तर इजिप्ट र कतारको मध्यस्थतामा भएको वार्तापछि हमास युद्धविराम सम्झौताअनुसार नै बन्धक रिहा गर्न तयार भएको हो । 

हमासले २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । २ सय ५१ जनालाई हमासले बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो । गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा ४८ हजार १ सय ८९ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् ।

तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् । ६० प्रतिशतभन्दा बढी संरचना ध्वस्त भएका छन् । इजरायलतर्फ करिब १४ सयभन्दा बढीको ज्यान गएको छ ।

एजेन्सी

Link copied successfully