काठमाडौँ — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्यका लागि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो र बेलायती प्रधानमन्त्री किएर स्टार्मरले केही पनि नगरेको आरोप लगाएका छन् ।
आगामी हप्ता व्हाइट हाउसमा भेटका लागि आउने कार्यक्रम तय भएका बेला राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन् ।
ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग शान्ति सम्झौतालाई लिएर कुनै तरिका नभएकोसमेत बताएका छन् । रुसले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । त्यसबेलादेखि नै बेलायत, फ्रान्ससहित अन्य सहयोगी देश युक्रेनमा हतियार र अन्य सहयोग पठाउँदै आएका छन् ।
गत सोमबार युरोपीय नेताहरुले युक्रेनलाई लिएर पेरिसमा एक आपतकालीन बैठक गरेका थिए । साउदी अरबमा अमेरिका र रुसबीच भएको बैठकको एक दिनअघि यो बैठक बसेको थियो ।
युरोपीय नेताहरुले उक्त शान्ति सम्झौताले युक्रेन र युरोपलाई भिन्न राख्ने आशंका व्यक्त गरेका थिए । ब्रिटिश प्रधानमन्त्री स्टारर्मर र फ्रान्सका राष्ट्रपति म्याक्रोको आलोचना गरेपछि फक्स न्यूजलाई दिइएको एक साक्षात्कारमा ट्रम्पले युरोपियन नेताहरुको प्रशंसा गरेका थिए ।
उनले राष्ट्रपति म्याक्रोलाई एक मित्र र स्टार्मरलाई राम्रो व्यक्ति बताएका थिए । राष्ट्रपति म्याक्रो सोमबार वाशिंटन डीसी पुग्ने र स्टार्मर आइतबार नै पुग्ने सम्भावना रहेको बीबीसीले जनाएको छ ।
