भाजपा नेता रेखा गुप्ताले बिहीबार दिल्लीको मुख्यमन्त्रीको शपथ लिएकी हुन्
काठमाडौँ — चुनावी परिणाम सार्वजनिक भएको दुई सातापछि भारतको दिल्ली राज्यले नयाँ मुख्यमन्त्री पाएको छ । भारतीय जनता पार्टी (भाजपा) नेता रेखा गुप्ताले बिहीबार दिल्लीको मुख्यमन्त्रीको शपथ लिएकी हुन् ।
५० वर्षीया रेखालाई दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले रामलिला मैदानमा आयोजित समारोहमा शपथ दिलाएका हुन् । मुख्यमन्त्री रेखासँगै प्रवेश वर्मा, आशिष सुद, रजौरी गार्डेन, मनजिन्दर सिंह सिर्सा, रवीन्द्र इन्दराज सिंह, कपिल शर्मा र पंकजकुमार सिंहले पनि मन्त्रीको शपथ लिएका छन् ।
समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा शासित राज्यका मुख्यमन्त्री, केन्द्रीय मन्त्री, भाजपाका नेतालगायतको उपस्थिति थियो । ‘रेखा गुप्ताजीलाई बधाई, उहाँ सामान्य परिवारबाट क्याम्पस राजनीति, राज्य संगठन, नगरपालिका प्रशासन हुँदै विधायक र मुख्यमन्त्री हुनुभयो,’ मोदीले सामाजिक सञ्जालमा लेखेका छन् । दिल्लीको विकासका लागि रेखाले पूर्ण जोसका साथ काम गर्नेमा विश्वस्त रहेको उनको भनाइ छ ।
२०१४ यता केन्द्रमा लगातार सरकार चलाएको भाजपाले दिल्लीमा भने २७ वर्षपछि सरकार बनाएको हो । पहिलो पटक विधानसभामा निर्वाचित रेखालाई भाजपाले बुधबार साँझ दिल्लीको मुख्यमन्त्रीका लागि चयन गरेको थियो ।
रेखा एनडीए गठबन्धनको सरकार रहेको राज्यकी एक मात्र मुख्यमन्त्री बनेकी छन् । भारतमा हाल उनीसँगै पश्चिम बंगालमा ममता बनर्जी गरी दुई महिला मुख्यमन्त्री छन् । दिल्लीको हकमा भने उनी चौथो महिला मुख्यमन्त्री हुन् । १९९३ मा विधानसभा चुनाव हुन थालेयता दिल्लीमा सुष्मा स्वराज, शिला दीक्षित र आतिशी मार्लेना गरी तीन महिला मुख्यमन्त्री भइसकेका छन् ।
शपथ लिएसँगै रेखाले ‘इमानदारी र निष्पक्षतापूर्वक मुख्यमन्त्रीको जिम्मेवारी निर्वाह गर्ने’ बताएकी छन् । ‘खासमा यो एउटा चमत्कार हो । यो नयाँ प्रेरणा र नयाँ अध्याय हो । यदि म मुख्यमन्त्री बन्न सक्छु भने, यसको अर्थ सबै महिलाका लागि बाटो खुला छ,’ शपथपछि उनले भनेकी छन् । भाजपाले मुख्यमन्त्रीमा चयन गरेलगत्तै रेखाले ‘दिल्लीका प्रत्येक नागरिकको कल्याण, सशक्तीकरण र समग्र विकासका लागि इमानदारी, निष्ठा र समर्पणका साथ काम गर्ने’ बताएकी थिइन् ।
रेखा आफ्नो भाषणका कारण बेलाबेला विवादित हुने गरेकी छन् । खासगरी उनले दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवाल र कंग्रेस नेता राहुल गान्धीलाई मुख्य निसाना बनाएको देखिन्छ । त्यस्तै उनले मुस्लिम समुदायको देशप्रतिको बफादारीमाथि प्रश्न उठाउने गरेकी छन् ।
रेखाले दिल्ली नगर निगमको स्थायी समितिका सदस्यहरूको चुनावका क्रममा पोडियम र माइक तोडफोड गरेकी थिइन् । उनले जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीलाई पनि गालीगलौज गरेकी थिइन् । मुख्यमन्त्रीमा चयन भएसँगै उनका पुराना पोस्ट तथा भिडियोहरू सामाजिक सञ्जालमा सेयर हुन थालेका छन् ।
पूर्वपत्रकार तथा तृणमुल कंग्रेसकी सांसद सागरिका घोषले गुप्ताको पुराना पोस्टलाई लिएर रेखासँगै भाजपाको आलोचना गरेकी छन् । ‘नयाँ मुख्यमन्त्री रेखा गुप्ताले विगतमा गरेका गालीगलौज र उग्रवादबारे सामाजिक सञ्जालमा चिन्ताजनक पोस्टहरू छन् । परिश्रमी र दयालु शिला दीक्षित र स्पष्ट सांसद सुष्मा स्वराजबाट कति टाढा । तर यो ‘नयाँ’ बीजेपी हो जहाँ दुर्व्यवहार र अपमानजनक भाषालाई सामान्य बनाइएको छ,’ घोषले लेखेकी छन् ।
शपथपछिको भाषणमा पनि केजरीवाललाई लक्ष्य गर्दै रेखाले भनेकी छन्, ‘जो भ्रस्ट छ । उसले एक–एक रुपैयाँको हिसाब दिनुपर्छ ।’ दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) ले मार्च २१ मा केजरीवाललाई पक्राउ गरेको थियो । उनी सेप्टेम्बर १३ मा धरौटीमा रिहा भएका थिए । तर अदालतले कार्यालयमा फर्कन र निर्णय गर्न रोक लगाएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
दिल्लीको चुनावी नतिजा सार्वजनिक भएसँगै प्रधानमन्त्री मोदीले पनि केजरीवाल मुछिएको मदिरा प्रकरणबारे छानबिन हुने बताएका थिए । ‘राजनीति बदल्छु भन्दै राजनीतिमा प्रवेश गरेका आम आदमी पार्टी (आप) का नेताहरू नै भ्रष्टाचारमा डुबेका छन् । भ्रष्टाचारविरुद्ध लड्न जन्मेको पार्टी आज त्यसैमा डुबेको छ, यस पार्टीका मुख्यमन्त्री आज भ्रष्टाचार आरोपमा जेल परेका छन्,’ मोदीले भनेका थिए । नवनियुक्त मुख्यमन्त्री रेखालाई दिल्लीको प्रदूषण नियन्त्रण गर्ने र गरिबी हटाउने मुख्य चुनौती छन् । चुनावी अभियानमा रेखाको पार्टी भाजपाले सरकारी विद्यालयहरू सुधार गर्ने र दिल्लीका गरिब महिलालाई निःशुल्क स्वास्थ्य सेवा, निःशुल्क बिजुली र मासिक कम्तीमा २ हजार ५ सय रुपैयाँ भत्ता दिने वाचा गरेको थियो ।
भारतीय राजधानी नयाँदिल्ली लामो समयदेखि विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा छ । दिल्लीको वायु विश्व स्वास्थ्य संगठनले तोकेको स्वस्थ्य सहरको मापदण्डभन्दा ६० गुणा बढी प्रदूषित हुने गरेको छ । खासगरी जाडोयाममा वायु प्रदूषणले दिल्लीमा ठूलो चुनौती खडा गर्ने गरेको छ । तर चुनावी अभियानमा भने कुनै पनि प्रमुख दलले वायु प्रदूषणको संकट समाधानलाई आफ्नो मूल मुद्दा बनाएनन् । यस पटक भाजपा र आप दुवै दलले निःशुल्क स्वास्थ्य सेवा, सरकारी विद्यालयको शिक्षामा सुधार, महिलाका लागि भत्तालगायत मुद्दा भने जोडतोडका साथ उठाएका थिए ।
सार्वजनिक सुव्यवस्था, प्रहरी र भूमि व्यवस्थापनजस्ता विषयमा केन्द्र सरकारले नियुक्त गरेका उपराज्यपालले निर्णय लिने दिल्लीमा शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवाबारे निर्णय लिने अधिकार भने राज्यसँग छ । विगतमा केन्द्र र राज्य सरकार फरक–फरक दलका हुँदा अधिकार प्रयोगमा बारम्बार विवाद हुने गरेको थियो ।
को हुन् मुख्यमन्त्री रेखा गुप्ता ?
१९७४ जुलाई १९ मा हरियाणाको जुलनामा जन्मिएकी रेखा गुप्ताले दिल्ली विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक तथा व्यवस्थापन र मानविकीमा एडभान्स डिग्री हासिल गरेकी छन् । त्यस्तै उनले चौधरी मेरठस्थित चरणसिंह विश्वविद्यालयबाट कानुनमा स्नातक गरेकी छन् ।
उनले १९९२ मा दिल्ली विश्वविद्यालयको दौलत राम कलेजमा आरएसएसको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीवीपी) मार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेकी हुन् । १९९६ मा उनी दिल्ली विश्वविद्यालय विद्यार्थी संघ (डीयूएसयू) को अध्यक्ष बनिन् ।
२००३ मा भाजपा दिल्लीको युवा मोर्चाको सचिव बनेकी रेखा २००४ मा भाजपा युवा मोर्चाको राष्ट्रिय सचिव बनेकी थिइन् । २००९ मा उनी भाजपा दिल्लीको महिला मोर्चाको महासचिव बनेकी थिइन् । उनी २००७ र २०१२ मा उत्तर पितमपुराबाट काउन्सिलरमा निर्वाचित भइन् । दक्षिण दिल्ली नगर निगमको मेयरका रूपमा पनि काम गरिन् । तर उनले २०२३ मा भने दिल्ली नगर निगमको मेयरमा भने पराजित भएको थिइन् । त्यतिबेला आपकी शेली ओबरायसँग हारेकी थिइन् ।
रेखाले फेब्रुअरी ५ मा भएको दिल्ली विधानसभा चुनावमा आपकी बन्दना कुमारीलाई २९ हजार ५ सय ९५ मतले पराजित गरेकी थिइन् । ७० सदस्यीय विधानसभामा भाजपा ४८ सिटमा विजयी भएको हो । २०२० को दिल्ली विधानसभा चुनावमा ८ सिट मात्र जितेको भाजपाले फेब्रुअरी ५ को चुनावमा ४८ सिट जितेको हो ।
चुनावमा सत्तारूढ आप २२ सिटमा खुम्चिएको थियो । आपले २०१३ मा २८ सिट, २०१५ मा ६७ सिट र २०२० मा ६२ सिट जितेको थियो । भाजपाले २०१५ मा जम्मा ३ सिट जितेको थियो । दिल्लीमा १९९८ देखि २०१३ सम्म कंग्रेस र त्यसयता आपले शासन गरेका थिए ।
