अमेरिका — अमेरिकी सरकारले वर्सेनी हजारौं गैरकानुनी रुपमा बसोबास गर्दै आएका आप्रवासीलाई देश निकाला गर्दै आएको छ । कागजातविहिन त्यस्ता आप्रवासीलाई लाखौं अमेरिकी डलर खर्चेर उनीहरुकै देश फर्काउने गरिएको छ । विश्वका १ सय ९ मुलुकका आप्रवासीमध्ये काजवातविहिनलाई फर्काउने प्रक्रियालाई वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तीब्रता दिइरहेका छन् ।
कागजातविहिन आप्रवासीलाई सरकारले फर्काइरहेको छ भने, स्वस्फूर्त अमेरिका छाड्न नागरिकता त्याग्नेको संख्या पनि कम छैन । सन् २००९ देखि २०२४ सम्म १६ वर्षमा ४८ हजार १६ जनाले अमेरिकी नागरिकता त्यागेका छन् । युएस ट्रेजरी डिपार्टमेन्टको तथ्यांकअनुसार १६ वर्ष अवधिभित्र सन् २००९ मा सबैभन्दा कम ७ सय ४२ र २०२० मा सबैभन्दा बढी ६ हजार ७ सय ५ जनाले अमेरिकी नागरिकता त्यागेका छन् ।
गत वर्ष २०२४ मा ४ हजार ८ सय, २०२३ मा ५ हजार, २०२२ मा २ हजार ८ सय १६, २०२१ मा २ हजार ४ सय २६, २०१९ मा २ हजार ७१, २०१८ मा ३ हजार ९ सय ७४, २०१७ मा ५ हजार १ सय ३२ जनाले नागरिकता त्यागेको तथ्यांकमा उल्लेख छ । यसैगरी २०१६ मा ५ हजार ४ सय ९, २०१५ मा ४ हजार २ सय ७९, २०१४ मा ३ हजार ४ सय १५, २०१३ मा ३ हजार, २०१२ मा ९ सय ३२, २०११ मा १ हजार ७ सय ८१, र सन् २०१० मा १ हजार ५ सय ३४ जना नागरिकता त्याग्नेको सूचीमा रहेको ट्रेजरी डिपार्टमेन्टले जनाएको छ ।
हरेक वर्षको तीन महिनामा इन्टरनल रेभेन्यू सर्भिस (आइआरएस)ले उपलब्ध गराएको नागरिकता त्याग्नेहरुको नामावली एनएआरएले प्रकाशित गर्ने गरेको छ । नागरिकता त्याग्नका लागि अधिकांशको रोजाइमा युरोपीयन मुलुकहरु, अष्ट्रेलिया र क्यानडा पर्ने गरेको छ । अन्य कुनै देशको नागरिकता लिएपछि मात्र अमेरिकाको नागरिकता त्याग्न पाउने प्रावधान छ ।
त्यसकारण अमेरिकी नागरिकता त्याग्नेहरु देश छाडेर अरु देशको नागरिकता भइसकेका हुनेछन् । नागरिकता त्याग्नका लागि अमेरिकाको कानुनअनुसार जुन देशमा बसोबास गर्न नागरिकता त्यागिएको हो, त्यो देशमा रहेको दूतावासमा अन्तर्वार्ता दिएर अमेरिकी डलर २ हजार ३ सय ५० बुझाउनुपर्ने अफिस अफ द फेडेरल रजिष्टर (ओएफआर) को वेबसाइटमा उल्लेख छ ।
नागरिकताबारे अध्ययन गरेका एलिस्टेयर बामब्रिजले कतिपय अमेरिकहरू देशको राजनीतिबाट पनि असन्तुष्ट भएको बताउँछन् । ‘आफ्नो नागरिकता त्यागेका धेरै मानिसहरुले अमेरिकाको वर्तमान राजनीतिक वातावरणबाट दुखी भएको गुनासो गर्छन्, तर उनीहरुको निर्णयको अर्को मुख्य कारण कर पनि हो,’ उनले भनेका छन्, ‘देश छाडिसकेका अमेरिकी नागरिकले यदी नागरिकता त्यागेनन् भने उनीहरु देशबाहिर रहँदा पनि कर तिर्नुपर्ने हुन्छ, त्यसकारण पनि नागरिकता त्यागेतर्फ उनीहरु अग्रसर हुन्छन् ।’ राष्ट्रपति ट्रम्पका कारण यस वर्ष अझै धेरै संख्याले नागरिकता त्याग्ने बामब्रिजको दाबी छ ।
