इजरायली जेलमा रहेका ६ सय २ प्यालेस्टिनी रिहा गरिने
जेरूसलेम — प्यालेस्टिनी समूह हमासले थप ६ इजरायली बन्धक मुक्त गरेको छ । हमासले एवेरा मेन्गिस्टु, हिशाम अल-सयद, ओमेर शेम टोभ, एलिया कोहेन, ओमर वेन्कर्ट र ताल शोअमलाई दक्षिणी गाजास्थित रफाह सहरमा अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिको जिम्मा लगाइएको हो ।
३८ वर्षीय मेन्गिस्टु र ३७ वर्षीय अल-सयद क्रमश: सन् २०१४ र २०१५ मा गाजा प्रवेश गरेपछि पक्राउ परेका थिए । इजरायलले उनीहरू दुवैमा मानसिक स्वास्थ्य समस्या भएको बताएको थियो । २२ वर्षीय टोभ, २७ वर्षीया कोहेन र २३ वर्षीय वेन्कर्टलाई ७ अक्टोबर २०२३ मा बन्धक बनाइएको हो । ४० वर्षीय शोअमलाई भने किबुट्ज बेइरीबाट अपहरण गरिएको थियो ।
हमासले ६ जना बन्धक मुक्त गरेसँगै इजरायलले पनि शनिबार नै ६ सय २ जना प्यालेस्टनी बन्दीलाई रिहा गर्दैछ । तीमध्ये ५० जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो । ६० जनाले लामो समयको कारावास सजाय भोगिरहेका छन् । अन्यलाई ७ अक्टोबरदेखि कुनै आरोप बिना नै हिरासतमा राखिएको हो ।
हमास र इजरायलबीच करिब एक महिनाअघि युद्धविराम लागू भएयता सातौं पटक बन्धकहरू रिहा गरिएको हो । यो युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गतको अन्तिम पटकको रिहाइ हो ।
यसअघि हमासले बिहीबार ४ इजरायली बन्धकको शव हस्तान्तरण गरेको थियो । तर सिरी विबासको भनेर पठाइएको शव उनको नभएको परिवारले जनाएको थियो । लगत्तै हमासले शुक्रबार विबासको शव हस्तान्तरण गरेको थियो ।
