अवतरणका क्रममा टोरन्टो विमानस्थलमा उत्तानै पल्टियो जहाज, सबै यात्रु सकुशल

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

The plane overturned at Toronto airport during landing, all passengers were safe

काठमाडौँ — क्यानडाको टोरन्टोको पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा जहाज पल्टिएको छ । स्थानीय समयअनुसार सोमबार दिउँसो डेल्टा एयरलाइन्सको जहाज अवतरणका क्रममा विमानस्थलमा पल्टिएको हो ।

क्यानडेली सञ्चारमाध्यम सीबीसीका अनुसार दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । जहाजमा चालकदलका ४ सदस्य र ७६ यात्रु रहेको सीबीसीले जनाएको छ । अमेरिकाको मिनेसोटाबाट उडान भरेको उक्त जहाज अवतरणका क्रममा पल्टिएको हो । के कारणले दुर्घटना भयो भन्नेबारे अहिलेसम्म केही नखुलेकोसमेत समाचारमा जनाइएको द्धछ । 

जहाजमा रहेका यात्रुहरूले एक्कासि अवतरण गरिएको बताएका छन् । जहाज पल्टिएपछि केही भागमा आगोसमेत लागेको थियो । तर तत्काल आगो निभाइएको स्थानीय अधिकारीहरूले जनाएका छन् । जहाजबाट निस्कँदै गरेको भिडियोसमेत सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

पियर्सन विमानस्थलका हवाई यातायात नियन्त्रण टावरको अडियो रेकर्डअनुसार डेल्टा एयरलाइन्सलाई दिउँसो २ बजे अवतरणका लागि अनुमति दिइएको थियो । क्यानडियन प्रेसको एक रिपोर्टअनुसार टावरले पाइलटहरूलाई एक विमानको' ग्लाइड पाथ'मा  सम्भावित वायुप्रवाहको 'टक्कर'का बारेमा चेतावनी दिएको थियो । त्यसपछि टावर र पाइलटहरूबीच कुराकानी नभएको पनि सीबीसीले जनाएको छ । 

दुर्घटनामा परेको डेल्टा एयरलाइन्सको जहाज बमबार्डियर इंकले बनाएको हो । मित्सुबिसी सीआरजे-९०० एल आर जहाजको यात्रु क्षमता ८५ जना हो । 

कान्तिपुर संवाददाता

Link copied successfully