लन्डन — बेलायती सांसदहरुको आधारभूत तलब आगामी अप्रिल महिनादेखि वृद्धि हुने भएको छ । हालको तलबमा २ दशमलव ८ प्रतिशत वृद्धिसहित सांसदको वार्षिक तलब ९३ हजार ९ सय ४ पाउन्ड पुर्याउन लागिएको हो ।
संसद्को खर्चसम्बन्धी वाचडग निकाय ‘इन्डिपेन्डेन्ट पार्लियामेन्ट्री स्टयान्डर्ड अथोरिटी’ (इप्सा) ले सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरुसँग सन्तुलन कायम गर्ने उद्देश्यले सांसद तलब बढाउन सिफारिस गरिएको बीबीसीले जनाएको छ ।
सांसदको तलब वृद्धिसम्बन्धी प्रस्ताव हाल परामर्शको चरणमा छ । आगामी मार्च मध्यतिर यसबारे अन्तिम निर्णय लिइने जनाइएको छ ।
सांसदको तलब वृद्धिका लागि गरिएको प्रस्तावमा विभिन्न संसदीय समितिका प्रमुख रहेबापत उपलब्ध हुने अतिरिक्त भत्ता पनि सोही दरमा बढाउन सुझाव दिइएको छ ।
संसदीय समितिहरुको नेतृत्व गर्ने सांसदहरुलाई आधारभूत तलबबाहेक १८ हजार ३ सय ९ पाउन्ड वार्षिक मिल्ने गरेको छ ।
केही महिनापछि बेलायती सांसदहरूको तलबबारे फेरि व्यापक समीक्षा गर्ने तयारी छ । जसबाट उनीहरूलाई अप्रिल २०२६ देखि दिइने तलब निर्धारण गरिनेछ ।
बेलायती सांसदहरुको तलब समीक्षाका क्रममा विभिन्न आधारहरुको विश्लेषण गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय रूपमा निर्वाचित राजनीतिज्ञहरूले पाउने तलबसँग समेत तुलना गरेर बेलायती सांसदहरूलाई तलब निर्धारण हुने गरेको छ।
विगतमा बेलायती सांसदहरूको तलब निर्धारण गर्ने अधिकार सांसदहरुमै थियो । तर, सन् २००९ मा भएको सांसदहरुको खर्चसम्बन्धी ‘स्क्यान्डल’ पछि भने यो प्रक्रिया थप पारदर्शी र स्वतन्त्र बनाउने प्रयासमा ‘इप्सा’ स्थापना गरिएको हो ।
