युक्रेनबिनै युक्रेन युद्धबारे वार्ता गर्दै अमेरिका र रुस

युक्रेनको प्रतिरक्षामा फ्रान्स, बेलायत, जर्मनी, पोल्यान्ड, इटाली, स्पेन र डेनमार्क एकजुट

फाल्गुन ४, २०८१

बुद्धिसागर मरासिनी

The US and Russia are negotiating a Ukraine war without Ukraine

काठमाडौं — रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले रुसी अधिकारीहरूसँग साउदी अरबमा वार्ता गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले केही दिनमै साउदी अरबमा रुसी अधिकारीहरूसँग भेट्ने बताइएको छ । वार्तामा रुबियोसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेषदूत स्टिभ विटकफ पनि सहभागी हुने सीबीएस न्युजले जनाएको छ ।

युक्रेनका लागि अमेरिकी विशेषदूत किथ केलोगले वार्तामा वासिङ्टन, मस्को र किभ सहभागी हुने बताएका छन् । उनले आफू पनि वार्तामा उपस्थित नहुने बताएका छन् । रुस–युक्रेन वार्तामा युरोपलाई भने निम्तो नदिएको केलोगको भनाइ छ । यसअघिका वार्तामा धेरै पक्षहरू संलग्न भएकाले टुंगोमा पुग्न नसकेको उनको दाबी छ ।

आइतबार नै इजरायल पुगेका विदेशमन्त्री रुबियोले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका छन् । भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा उनीहरूले मध्यपूर्व (पश्चिम एसिया) को सुरक्षा अवस्था र द्विपक्षीय सम्बन्धबारे बोलेका छन् ।

नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलको हालसम्मकै निकट ठूलो मित्र भएको र गाजाको भविष्यका लागि दुई राष्ट्रले एउटै रणनीति साझा गरेको बताए । उनले संयुक्त राष्ट्रसंघीय महासभा ‘अमेरिका इजरायलविरोधी’ भएको आरोप लगाएका छन् । विदेशमन्त्री रुबियोले ‘इरान अस्थिरताको सबैभन्दा ठूलो स्रोत’ भएको र इरानलाई कहिल्यै पनि परमाणु हतियारको स्वामित्व लिन–दिन नसकिने बताए । उनले हमासलाई नामेट पार्नुपर्ने र हेजबुल्लाहलाई विघटन गर्न लेबनानी समूहसँग आग्रह गरे ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने साउदी अरबमा हुने भनिएको वार्ताका लागि किभलाई निमन्त्रणा नगरिएको बताएका छन् । युक्रेनले कुनै प्रतिनिधिमण्डल पठाउने योजना नबनाएको उनको भनाइ छ । यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘युरोपको सेना’ निर्माणका लागि आह्वान गरेका थिए । शनिबार म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भाषणले युरोप र अमेरिकाबीचको पुरानो सम्बन्ध समाप्त भइरहेको र युरोपले समयमै त्यसलाई बुझ्न आवश्यक भएको बताए । युक्रेनको संलग्नताबिना गरिएका सम्झौता युक्रेनले कहिल्यै पनि स्वीकार नगर्ने जेलेन्स्कीको भनाइ छ ।

म्युनिख सुरक्षा सम्मेलनका क्रममा अमेरिका र युरोपेली नेताहरूबीच चर्को मतभेद भएको थियो । सम्मेलनमा अमेरिकी उपराष्ट्रपति भान्सले युरोपेली लोकतन्त्रको कडा आलोचना गरेका थिए । उनले ट्रम्प प्रशासनको भनाइ दोहोर्‍याउँदै ‘आफ्नो रक्षाका लागि युरोपले कदम चाल्नुपर्ने’ बताएका थिए । सम्मेलनको साइडलाइन वार्तामा जेलेन्स्कीले शुक्रबार भान्स र रुबियोसँग भेटवार्ता गरेका थिए ।

अमेरिका र रुसले वार्ता गरेसँगै युरोपेली नेताहरू युक्रेनको प्रतिरक्षामा एकजुट भएका छन् । युरोपेली नेताहरूले युरोपसँग परामर्श नगरी अमेरिका रुससँगको शान्ति वार्तामा अगाडि बढिरहेको भन्दै आपत्ति जनाएका हुन् । उनीहरूले युक्रेनबिना वा युरोपको संलग्नताबिना कुनै पनि शान्ति वार्ता हुन नसक्ने बताएका छन् । अमेरिकाले वार्ताको तयारी गरेसँगै उनीहरूले सोमबार फ्रान्समा आपत्कालीन शिखर सम्मेलन गर्ने भएका छन् । यसअघि उनीहरूले अर्को साता बैठक गर्ने जनाएका थिए ।

फ्रान्सेली विदेशमन्त्री जीन–नोएल ब्यारोटका अनुसार फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोंले युक्रेनको अवस्थाबारे छलफल गर्न युरोपेली नेताहरूको बैठकको आयोजना गरेका हुन् । उनले यस्ता बैठकहरू नियमित रूपमा हुने भएकाले अनावश्यक चर्चा गर्न नपर्ने बताएका छन् । बैठकमा फ्रान्स, बेलायत, जर्मनी, पोल्यान्ड, इटाली, स्पेन र डेनमार्कका नेताहरू सहभागी हुने ब्यारोटले बताए ।

वार्ताको तयारीपछि बेलायती प्रधानमन्त्री केयर स्टार्मरले एक विज्ञप्ति जारी गर्दै युरोपको सुरक्षाका लागि एकजुट हुने अभूतपूर्व अवसर मिलेको बताएका छन् । ‘नेटोमा अमेरिकासँग मिलेर काम गरिरहँदा युक्रेनको भविष्य सुरक्षित गर्न र रुसबाट हुने खतराको सामना गर्न युरोपले मुख्य भूमिका खेल्नुपर्छ,’ स्टार्मरले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अमेरिकी विदेशमन्त्री रुबियोले शनिबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग कुरा गरेका थिए । विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसका अनुसार लाभरोभसँगको कुराकानीमा रुबियोले ‘युक्रेनमा द्वन्द्व अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबद्धता’ दोहोर्‍याएका थिए । गत बुधबार ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिफोन कुराकानी गरेका थिए । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले तीन वर्षपछि मस्कोसँग गरेको प्रत्यक्ष सम्पर्कले अमेरिकाका युरोपेली सहयोगीहरू चकित परेका थिए । पुटिनसँगको कुराकानीमा ट्रम्पले युक्रेनमा ‘हास्यास्पद युद्ध’ रोक्न तुरुन्तै वार्ता सुरु हुने बताएका थिए ।

ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा रुसी समकक्षी पुटिनसँग निकै फलदायी टेलिफोन वार्ता भएको र युक्रेन युद्ध अन्त्य गर्न तत्कालै वार्ता सुरु गर्ने सहमति जुटेको बताएका थिए । कुराकानीका क्रममा दुवै राष्ट्रपतिले एकअर्कालाई आ–आफ्ना देशको भ्रमणका लागि निम्ता पनि दिएका थिए । दुई नेताहरूको टेलिफोन वार्ताबारे ट्रम्पको भनाइ सार्वजनिक भएसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि ट्रम्पसँग दीर्घकालीन र भरपर्दो शान्ति स्थापनाका विषयमा कुराकानी भएको बताएका थिए । युक्रेनभन्दा बढी शान्ति चाहने विश्वमै कोही नभएको दाबी गर्दै उनले अमेरिकासँग मिलेर रुसी आक्रामकता रोक्न र दिगो तथा भरपर्दो शान्ति सुनिश्चित गर्न तयार भएको बताएका थिए ।

गत बुधबार अमेरिकी रक्षामन्त्री पिट हेगसेथले युक्रेन उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुने र युद्धका क्रममा गुमेका सबै क्षेत्र फिर्ता लिने कुरालाई अस्वीकार गरेका थिए । त्यस्तै, पुटिनसँगको वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले पनि युक्रेन युद्ध अन्त्यको वार्ता टुंगोमा पुगेको खण्डमा युक्रेनले नेटोको सदस्यता नपाउने र युद्धका क्रममा गुमाएका सबै भूभाग फिर्ता नपाउन सक्ने बताएका थिए । ट्रम्प र हेगसेथको प्रतिक्रियाले युक्रेनका साथै युरोपेली देशका नेताहरूलाई आक्रोशित बनाएको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशको संलग्नताबिना भएका कुनै पनि सम्झौतालाई स्वीकार नगर्ने बताएका थिए । तर उनले ट्रम्पसँगको कुराकानीमा नेटोका विषयमा छलफल नभएको बताएका थिए ।

रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेन आक्रमण सुरु गरेसँगै दुई देश युद्धमा होमिएका हुन् । तीन वर्ष लामो युद्धका क्रममा दुवै देशले ठूलो क्षति व्यहोरेका छन् । यस अवधिमा रुसले कम्तीमा २० प्रतिशत भूभाग नियन्त्रणमा लिइसकेको छ । युक्रेनले पनि रुसी जहाज, सेनाका गाडी तथा कतिपय सहरमा ड्रोन आक्रमण गर्दै आएको छ ।

रुसी आक्रमणका कारण कम्तीमा ४० हजार युक्रेनीहरूको ज्यान गइसकेको छ । ६८ लाख युक्रेनी देश छाड्न बाध्य भएका छन् भने ४० लाख युक्रेनी आन्तरिक रूपमा विस्थापित भइसकेका छन् । १ करोड ४६ लाख मानिसहरूलाई मानवीय सहायता आवश्यक भएको बताइएको छ ।

रुसी आक्रमणयता युक्रेनले ४ खर्ब ७ अर्ब अमेरिकी डलर बराबरको अनुदान प्राप्त गरिसकेको छ । योमध्ये १ खर्ब १८ अर्ब डलर बराबरको अनुदान अमेरिकाले प्रदान गरेको हो । तर ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद सम्हालेसँगै भने युक्रेनले प्राप्त गरिरहेको सैन्यलगायतको सहयोग रोकिने देखिएको छ । ट्रम्प प्रशासनले रुसविरुद्ध लड्न गरेको सहयोगको बदलामा युक्रेनले आधा खनिज स्रोतको स्वामित्व दिनुपर्ने बताएको छ । अर्थमन्त्री स्कट बेसेन्टले गत बुधबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भएको भेटमा हालसम्मको सहयोग र त्यसको निरन्तरताका लागि आधा खनिज दिनुपर्ने सर्त राखेका हुन् ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प प्रशासनले सबै युक्रेनी खनिज स्रोतहरूमा ५० प्रतिशत स्वामित्व मागेको हो । तर युक्रेनी राष्ट्रपतिले उक्त सर्तलाई अस्वीकार गरेका छन् । युक्रेनी अधिकारीहरूले भने खनिज पदार्थका साथै अन्य प्राकृतिक स्रोत, तेल र ग्यासमा पनि स्वामित्व खोजिएको बताएका छन् । जेलेन्स्कीले प्रस्ताव अस्वीकार गरेकाले ट्रम्पले सैन्य र आर्थिक सहायता रोक्ने र युद्ध अन्त्यको पहल सुरु गरेको अनुमान गरिएको छ ।

अमेरिकाले मागेको डिस्प्रोसियम, नियोडिमियम र सेरियम नामक दुर्लभ खनिज अर्थात् ‘रेयर अर्थ’ १७ प्रकारका भारी धातुका समूह हुन् । विज्ञका अनुसार यी दुर्लभ खनिज इलेक्ट्रोनिक्स, सैन्य उपकरण र प्रविधिमा अत्यावश्यक हुन्छन् ।

अमेरिकी जियोलोजिकल सर्भेले सन् २०२४ मा गरेको अध्ययनअनुसार विश्वभर करिब १ सय १० मिलियन टन दुर्लभ खनिजको भण्डार छ । ४४ मिलियन टन चीनमा छ, जुन संसारकै सबैभन्दा ठूलो उत्पादक हो । त्यस्तै २२ मिलियन टन ब्राजिलमा, २१ मिलियन टन भियतनाममा, १० मिलियन टन रुसमा र ७ मिलियन टन भारतमा छ ।

(एजेन्सीहरूको सहयोगमा)

बुद्धिसागर मरासिनी मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully