हिथ्रो विमानस्थल विस्तारको विवाद

बेलायतस्थित विमानस्थलको तेस्रो धावनमार्ग निर्माण गर्दा कार्बन उत्सर्जन बढाउने, ध्वनि प्रदूषण गर्ने, स्थानीय विस्थापित हुनुपर्ने खतरा रहेको भन्दै राजनीतिज्ञ, वातावरणविद्को २२ वर्षदेखि निरन्तर विरोध

फाल्गुन ३, २०८१

प्रविना पौडेल

Heathrow Airport Expansion Controversy

काठमाडौँ — दुई दशकभन्दा बढी समयदेखि विवादमा रहेको बेलायतस्थित हिथ्रो विमानस्थलको तेस्रो धावनमार्ग निर्माण गर्ने योजनामा पुनः बहस सुरु भएको  । बेलायती अर्थमन्त्री रेचल रिभ्सले हालै तेस्रो धावनमार्ग निर्माणमा सरकारको समर्थन रहेको बताएपछि फेरि यसबारे बहस सतहमा आएको हो । रिभ्सले तेस्रो धावनमार्गले देशको दीर्घकालीन आर्थिक वृद्धिमा टेवा पुर्‍याउने, लगानी र निर्यात बढाउने तथा ‘कनेक्टिभिटी’ सुधार गर्ने बताएकी छन् ।

अर्थमन्त्री रिभ्सले विमानस्थल विस्तारले अर्थतन्त्रसमेत सुधार हुने जिकिर गर्दै अक्सफोर्डसायरमा भएको एक कार्यक्रममा उनले हिथ्रोको विस्तार अत्यावश्यक रहेको बताएकी छन् । ‘हिथ्रोमा तेस्रो धावनमार्ग बनाएर बेलायतलाई व्यापारको हब बनाउन सकिन्छ,’ उनले भनेकी छन् । वातावरणविद् तथा केही राजनीतिज्ञले भने विमानस्थल विस्तारको विरोध गरिरहेका छन् ।

विमानस्थलको विस्तारले ध्वनि तथा वायु प्रदूषण बढाउने उनीहरूको भनाइ छ । धावनमार्ग निर्माणले बेलायतको जलवायु सुधारका लक्ष्य पूरा गर्न कठिन हुने विस्तार विरोधीहरूको दाबी छ । यद्यपि रिभ्सले वातावरणीय र जलवायुसम्बन्धी मापदण्ड पालना गरेर निर्माण कार्य अघि बढ्ने दाबी गरेकी छन् । 

हिथ्रो विमानस्थल विस्तारको प्रस्ताव पहिलो पटक २००३ मेमा ‘बीएए पीएसी’ द्वारा ल्याइएको थियो । हिथ्रोको सञ्चालक कम्पनी बीएए पीएसीको प्रस्ताव २००३ कै डिसेम्बरमा बेलायत सरकारले अनुमोदन गरेको थियो । १२ वर्षमा विस्तारको काम सक्ने भनेर योजना बनाइएको थिय । २००७ सम्म आइपुग्दा तत्कालीन प्रधानमन्त्री गोर्डन ब्राउन नेतृत्वको सरकारले हिथ्रो विमानस्थल विस्तारका लागि औपचारिक समर्थन जनाएको थियो ।

तर वातावरणविद्, स्थानीय बासिन्दा र राजनीतिक नेताहरूले भने यसको कडा विरोध गरे । कार्बन उत्सर्जन बढाउने, ध्वनि प्रदूषण गर्ने, आसपासका स्थानीयलाई विस्थापित हुने खतरा रहेको उनीहरूको भनाइ थियो । व्यापक विरोध प्रदर्शन र कानुनी चुनौतीसमेत देखिएको भए पनि सरकारको समर्थन भने कायमै थियो ।

तर सन् २०१० मा डेभिड क्यामरुन नेतृत्वको सरकारले वातावरणीय चिन्ताका कारण देखाउँदै परियोजना रद्द गरियो । त्यसपछि २०१६ मा प्रधानमन्त्री थेरेसा मेले योजना पुनः अघि सारिन् । यद्यपि यसअघि पनि यो विस्तारबारे निरन्तर समीक्षा भए । थेरेसा मेले मेले मुख्यतः आर्थिक लाभलाई औंल्याउँदै धावनमार्ग विस्तारलाई अनुमोदन गरेकी थिइन् ।

२०१८ मा बेलायती संसद्ले आधिकारिक रूपमा तेस्रो रनवेको पक्षमा मतदान गर्‍यो । ४ सय १५ सांसद विस्तारको पक्षमा थिए भने १ सय १९ जनाले विपक्षमा मत दिए । यद्यपि संसद्को स्वीकृतिपछि पनि विमानस्थल विस्तारका कानुनी र वातावरणीय चुनौतीहरू कायम रहे ।

मतदानपछि हिथ्रो विस्तारको योजना अघि बढिरहेकै थियो । तर २०२० मा अदालतले बेलायती जलवायु प्रतिबद्धतासँग बाझिने तर्क गर्दै विस्तारलाई अवैधानिक ठहर गर्‍यो । अदालतको यही निर्णयले सरकारलाई यस परियोजनामा पुनः समीक्षा गर्न बाध्य बनायो । तर २०२१ मा सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याउँदै तेस्रो धानवमार्ग विस्तारका लागि कानुनी बाटो खुलाइदियो । यसपछि बीएए पीएसीले २०२३ मा हिथ्रो विमानस्थलको तेस्रो धावनमार्गको पुनः संशोधित प्रस्ताव दर्ता गर्‍यो । जसले पुरानै विवादलाई पुनर्जीवित गराएको छ ।

तर अर्थमन्त्री रिभ्सले हालै धावनमार्गमा सरकारको अनुमोदन रहेको बताएपछि यसको बहस थप चर्किएको  । विस्तारका समर्थकले तेस्रो रनवेले महत्त्वपूर्ण आर्थिक लाभ पुर्‍याउने, हजारौं रोजगारी सिर्जना गर्ने र बेलायतलाई एक प्रमुख अन्तर्राष्ट्रिय उड्डयन केन्द्रका रूपमा स्थापित गर्ने दाबी गर्छन् भने विरोधीहरूले वातावरणीय र सामाजिक असरबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । 

पर्यावरणसम्बन्धी संगठन ‘डब्लूडब्लूएफ’ ले पनि विमानस्थल विस्तारको निर्णयलाई गम्भीर गल्तीका रूपमा औंलाएको छ । ‘विमानस्थलको विस्तारजस्ता महँगा परियोजनाहरू बनाइरहनु गलत हो । यसैमा दशकौं समय लाग्छ, कार्बन उत्सर्जन बढाउँछ र वास्तविक आर्थिक वृद्धिलाई अवरुद्ध गर्छ,’ डब्लूडब्लूएफले भनेको छ । पछिल्लो निर्णयसँगै कार्बन उत्सर्जनको सीमा अर्थात् ‘कार्बन बजेट’ सम्बन्धी बेलायती कानुन पनि उल्लंघन हुन सक्छ । कार्बन बजेट भनेको कुनै निश्चित समय अवधिमा वातावरणमा उत्सर्जन गर्न सकिने अधिकतम सीमा हो । 

बेलायतले २००८ को जलवायु परिवर्तन ऐनअन्तर्गत कानुनी रूपमा बाध्यकारी कार्बन बजेट अपनाएको छ । हिथ्रोको तेस्रो धावनमार्ग बनाउँदा कार्बन उत्सर्जन बढ्छ, जसले बेलायतलाई आफ्नो कानुनी लक्ष्य पूरा गर्न कठिन हुन सक्छ । बेलायतले जलवायु परिवर्तन न्यूनीकरण गर्न २०५० सम्म ‘नेट जिरो’ उत्सर्जन गर्ने लक्ष्य लिएको छ । यसको अर्थ कानुन उत्सर्जन शून्यमा ल्याउनु वा जुन मात्रामा कार्बन उत्सर्जन हुन्छ त्यो बराबरको कार्बन वातावरणबाट हटाउनु हो । वातावरणविद्हरूले यसविरुद्ध मुद्दा हाल्ने तयारी गरिरहेका छन् । त्यसैले धावनमार्ग विस्तारको भविष्य भने अझै अन्योलमा छ । 

हिथ्रो बेलायतको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल हो । यहाँ हरेक ४५ सेकेन्डमा एउटा विमान अवतरण गर्न सक्छ । यो विश्वभरका यात्रुहरूका लागि प्रमुख ट्रान्जिट हब पनि हो । संसारकै सबैभन्दा ठूलो विमानस्थलमध्येको एक हिथ्रोले २०२४ मा मात्र ८ करोड ३० लाखभन्दा बढी यात्रुलाई सेवा दिएको थिय । विमानस्थलमा अधिकतम वार्षिक ४ लाख ८० उडान क्षमता छ । तर दुईवटा मात्र धावनमार्ग भएकाले हिथ्रो निकै व्यस्त छ । त्यसैले यसको तेस्रो धावनमार्गको विस्तारको दबाब बढेको हो । (एजेन्सीहरूको सहयोगमा)

प्रविना प्रविना कान्तिपुरकी मल्टीिमिडिया रिपाेर्टर हुन् । उनी युवा पुस्ता, प्रविधी र मनाेस्वास्थ्यका बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully