प्रवेश बर्मा, स्मृति इरानी, मनोज तिवारीदेखि बाँसुरी स्वराजसम्म प्रतिस्पर्धामा
नयाँदिल्ली — दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ७० मध्ये ४८ सिट जितेर २७ वर्षपछि पुनः सत्तामा फर्किएको छ । निर्वाचन नतिजा सार्वजनिक भएको ४ दिन बितिसक्दा पनि नयाँदिल्लीले नयाँ मुख्यमन्त्री भने पाइसकेको छैन ।
भाजपाले नयाँ सरकार गठनको तयारी थाले पनि मुख्यमन्त्रीको नाम घोषणा गरिसकेको छैन । हिन्दुस्तान टाइम्सले एक भाजपा नेतालाई उद्धृत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमण सकेर फर्केपछि मात्रै शपथग्रहण समारोह तय हुने उल्लेख गरेको छ । मोदी १५ फेब्रुअरीमा भ्रमण सकेर स्वदेश फर्किने कार्यक्रम छ ।
भाजपाले कसलाई मुख्यमन्त्री बनाउनेछ भन्ने विषयमा अड्कलबाजी भइरहे पनि निश्चिय भइसकेको देखिन्न । भाजपाका केही नेताले नयाँ मुख्यमन्त्री निर्वाचित भाजपा विधायकमध्येबाट चयन हुनुपर्ने बताइरहेका छन् । नयाँ मुख्यमन्त्री महिला, सिंह वा ‘पूर्वाञ्चली’ हुन सक्ने सम्भावना रहेको अड्कलबाजी छ । एकथरीले भने पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टी (आप) का संस्थापक अरविन्द केजरीवाललाई पराजित गर्ने प्रवेश बर्मादेखि रमेश बिधुरी, भाजपा सांसद मनोज तिवारीदेखि कपिल मिश्रसम्मको नामबारे अड्कलबाजी गरिरहेका छन् ।
भाजपाको महिला विभागकी उपप्रमुख रेखा गुप्ता, आपका सौरभ भारद्वाजलाई चुनावमा हराउने शिखा रोयदेखि पूर्वमन्त्री स्मृति इरानी र सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजसम्मका नाम मुख्यमन्त्री हुनेको चर्चामा छ । अधिकांश भारतीय सञ्चारमाध्यमले भाजपाले महिला वा जातीय समीकरण मिलाउने हिसाबले मुख्यमन्त्रीको चयन गर्ने सम्भावना बढी रहेको औंल्याएका छन् ।
इन्डियन एक्सप्रेसले भाजपा नेतृत्वले आरएसएसको सिफारिसमा जो पर्छ, उही नै मुख्यमन्त्री बन्ने उल्लेख गरेको छ । हिन्दुस्तान टाइम्सले भने मुख्यमन्त्रीको विषयमा दलभित्र छलफल तीव्र बनिरहेको जनाएको छ । यस पटक भाजपाले आफ्ना नवनिर्वाचित विधायकमध्ये महिला उम्मेदवारलाई मुख्यमन्त्री चयन गर्न सक्ने सम्भावना रहेको हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ ।
उक्त समाचारमा भाजपाका एक वरिष्ठ नेतालाई उद्धृत गर्दै शिख नेता वा महिलामध्येबाट एक जना छनोट हुने सम्भावना रहेको लेखिएको छ । मध्यप्रदेश, राजस्थान र ओडिसाका अघिल्ला चुनावमा भाजपा नेतृत्वले ठूला घोषणा गर्नुअघि आफ्ना रणनीति गोप्य राख्ने प्रवृत्ति यसपालाको दिल्ली विधानसभा चुनावपछि पनि कायम देखिएको छ ।
