अमेरिकी चर्चित गायक भिन्सको विमान दुर्घटना, एकको मृत्यु तीन घाइते

माघ २९, २०८१

सुदीप शिवाकोटी

American famous singer Vince plane crash, one dead and three injured

अमेरिका — अमेरिकी चर्चित ब्याण्ड मोटली क्रुका प्रमुख गायक भिन्स नीलको व्यक्तिगत विमान दुर्घटना भएको छ । स्थानीय समयअनुसार सोमबार दिउँसो अमेरिकाको एरिजोना राज्यको स्कटस्टेल विमानस्थलमा भिन्सको विमान दुर्घटना भएको हो ।

अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस (एपी)का अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । भिन्सका प्रतिनिधि वोरिक रोबिन्सले विज्ञप्ति जारी गर्दै भिन्सको विमान अवतरण गर्ने क्रममा ल्यान्डिङ गियर फेल हुँदा धावनमार्गमा चिप्लिएर पार्किङमा राखिएको गल्फस्ट्रिम २०० जेटसँग ठोक्किएर दुर्घटनामा परेको बताएका छन् । 

‘विमानमा दुई पाइलट र दुई यात्रु थिए । तर, भिन्स विमानमा थिएनन्,’ रोबिन्सले विज्ञप्तिमा उल्लेख गरेको एपीले जनाएको छ । एपीका अनुसार दुर्घटनामा मृत्यु र घाइतेको संख्या सार्वजनिक गरे पनि हालसम्म नाम खुलाइएको छैन ।  

यसअघि ११ दिनको अवधिमा तीन विमान दुर्घटनामा ८४ जनाको मृत्यु भएको थियो । गतसाता जनवरी २९ मा राजधानी वासिङ्टन डीसी, फ्रेबुअरी १ मा पेन्सिलभेनिया र फ्रेबुअरी ८ मा अलस्कामा विमान दुर्घटना भएको थियो ।

वासिङ्टन डीसीमा ६७, पेन्सिलभेनियामा ७ र अलस्कामा १० जनाको मृत्यु भएको फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए)ले पुष्टि गरेको थियो । एफएएका अनुसार तीनवटै दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला परिसकेको र तीव्र रुपमा अनुसन्धान थालिएको छ ।

सुदीप शिवाकोटी शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully