नयाँदिल्ली — भारतीय प्रधानमन्त्री मोदीले दिल्ली विधानसभा चुनावमा विपक्षी दल कंग्रेसको बिजोग भएको बताएका छन् । दिल्ली विधानसभा चुनावको मतपरिणामपछि बोल्दै मोदीले देशको सबैभन्दा पुरानो दलले राजधानीमा नै कुनै सिट जित्न नसकेको भन्दै कटाक्ष गरेका हुन् ।
'भारतको राजधानीमा देशको सबैभन्दा पुरानो पार्टीले लगातार ६ पटक आफ्नो खाता खोल्न सकेको छैन,' भाजपा मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै मोदीले भनेका छन् । कंग्रेसले आफ्ना सहयोगीहरूलाई एकपछि अर्को गर्दै अन्त्य गरिरहेको मोदीको दाबी छ । ‘कंग्रेस पार्टी परजीवी बनेको छ । यो आफू मात्र पतन हुँदैन, अरूलाई पनि सँगै लैजान्छ । तिनीहरूले एक-एक गरेर आफ्ना सबै सहयोगीहरूलाई समाप्त गर्दैछन् । कंग्रेसीहरूले आफ्ना सहयोगीका मुद्दा चोर्छन् र उनीहरूकै भोट बैंक खत्तम पार्छन्,' प्रधानमन्त्री मोदीले भनेका छन् ।
'आज कंग्रेस स्वतन्त्रताको समयमा जस्तो छैन । कंग्रेसले सहरी नक्सलवादीको राजनीति गरिरहेको छ,' मोदीले भने, 'भारतीय राज्यहरूमा लडिरहेको भन्ने कंग्रेस नेताहरूको भाषा सहरी नक्सलवादीहरूको भाषा हो ।' राजनीतिमा सफलता र असफलता दुवै क्षणिक भएको तर देशलाई छल र मूर्खताको राजनीति नचाहिएको उनको भनाइ छ ।
गत बुधबार भएको चुनावमा मोदीको दल भारतीय जनता पार्टी (भाजपा) ले दुई तिहाई सिट जितेको छ । ७० सदस्सीय विधानसभा चुनावमा भाजपा ४८ सिटमा विजयी भएको हो । दिल्लीको सत्तारूढ दल आम आदमीले २२ सिट जितेको छ । तर केन्द्रको प्रमुख प्रतिपक्षी दल भारतीय नेशनल कंग्रेसले भने कुनै पनि सिट जित्न सकेन ।
