दिल्लीमा २७ वर्षपछि सरकार बनाउँदै भाजपा 

पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका संस्थापक अरविन्द केजरीवाल पराजित

माघ २६, २०८१

एजेन्सी

BJP forming government in Delhi after 27 years

नयाँदिल्ली — भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीमा २७ वर्षपछि सरकार बनाउने भएको छ । गत बुधबार भएको दिल्ली विधानसभा चुनावको प्रारम्भिक मतगणनाअनुसार भाजपाले एकल बहुमत ल्याउने निश्चित देखिएको हो ।

मतगणनाको पछिल्लो परिणामअनुसार ७० सिटको विधानमभामा भाजपा ११ सिटमा विजयी भइसकेको छ । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले ३९ सिटमा अग्रता कायम गरिहरेको छ । 

सत्तारूढ आदमी पार्टी (आप) १० स्थानमा विजयी भएको छ । आप १० स्थानमा अगाडि रहेको आयोगले जनाएको छ । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ । भाजपाका तर्फबाट दिल्लीमा पछिल्लोपटक सन् १९९८ मा सुस्मा स्वराज मुख्यमन्त्री बनेकी थिइन् ।

सन् १९९८ डिसेम्बर ३ मा मुख्यमन्त्री बनेकी शिला दिक्षितले तीन कार्यकाल चलाएकी थिइन् । त्यसपछि केजरीवालले दुई कार्यकाल शासन गरेका थिए । 

दिल्लीमा निर्वाचनमा लगातार जित्दै आएको आम आदमी पार्टी यसपटकको चुनावमा निकै कमजोर देखिएको हो । चुनावमा दिल्लीका पूर्वमुख्यमन्त्री तथा आपका संस्थापक अरविन्द केजरीवाल पराजित भएका छन् । उनी  भाजपाका परवेश बर्मासँग तीन हजार भन्दा बढी मतले पराजित भएका हुन् । 

त्यस्तै, चुनावमा दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया पनि पराजित भएका छन् । जंगपुरा निर्वाचन क्षेत्रबाट पराजित भएका सिसोदियाले हार स्वीकार गरिसकेका छन् । उनी भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन्।

सिसोदियाले आफू ६ सय मतले पराजित भएको बताएका छन् । ‘जंगपुरा सीटमा हामीले मिहिनेतका साथ चुनाव लड्यौँ । तर झण्डै ६ सय मतले पराजित भएका छौं,’ बीबीसी हिन्दीसँग सिसोदियाले भनेका छन् । 

चुनावमा वर्तमान मुख्यमन्त्री आतिशी भने विजयी भएकी छन् । स्थानीय सञ्चार माध्यमहरूका अनुसार उनले भाजपाका रमेश बिधुडीलाई ३ हजार ५ सय मतले पराजित गरेकी हुन् ।

एजेन्सी

Link copied successfully