किभ/वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सैन्य सहायता जारी राख्ने सर्तमा युक्रेनले अमेरिकालाई दुर्लभ खनिजहरू आपूर्ति गर्नुपर्ने माग गरेका छन् । रुसले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेसँगै अमेरिकाले युक्रेनलाई ठूलो मात्रामा आर्थिक तथा सैन्य सहायता दिँदै आइरहेको छ ।
उक्त सहयोगको बदलामा अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनसँग दुर्लभ खनिजहरू माग गरेका हुन् । जसमा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले कुनै देशले युक्रेनलाई रुसविरुद्धको युद्धमा सहयोग गरेमा त्यो देशबाट लगानी स्विकार गर्न तयार भएको बताए ।
विज्ञहरुका अनुसार यी दुर्लभ खनिजहरु इलेक्ट्रोनिक्स, सैन्य उपकरण र प्रविधिमा अत्यावश्यक हुन्छन् । डिस्प्रोसियम, नियोडिमियम र सेरियम नामक दुर्लभ खनिजहरु अर्थात ‘रेयर अर्थ’ १७ प्रकारका भारी धातुहरुका समूह हुन् । यी खनिजहरु वास्तवमा पृथ्वीको सतहमा प्रशस्त मात्रामा पाइन्छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षणले सन् २०२४ मा गरेको अध्ययनअनुसार विश्वभर करिब १ सय १० मिलियन टन दुर्लभ खनिजको भण्डार छ । ४४ मिलियन टन चीनमा छ, जुन संसारकै सबैभन्दा ठूलो उत्पादक हो । त्यस्तै २२ मिलियन टन ब्राजिलमा, २१ मिलियन टन भियतनाममा, १० मिलियन टन रुसमा र ७ मिलियन टन भारतमा छ । यी ठाउँहरुमा पाइने भएपनि यी खनिजहरु उत्खनन गर्न भने निकै गाह्रो छ ।
यी धातुहरु निकाल्न धेरै रासायनिक प्रक्रिया आवश्यक पर्छ । यो प्रक्रियाले ठूलो मात्रामा विसाक्त फोहोरहरु उत्पादन हुन्छ । धेरै देशहरुले वातावरणीय जोखिमका कारण यसको उत्खनन गर्दैनन् । यी खनिजहरु धेरै सानो मात्रामा मात्र पाइन्छ । त्यसैले ठूलो मात्रामा ढुंगा प्रशोधन गरेर पाउडर रुपको शुद्ध धातु निकाल्नुपर्छ ।
यी खनिजहरू पृथ्वीमा प्रशस्त भए पनि तिनको उत्खनन महँगो, जटिल र वातावरणीय दृष्टिकोणले संवेदनशील भएकाले दुर्लभ मानिन्छ । १७ प्रकारका दुर्लभ खनिजहरू उद्योगमा धेरै महत्त्वपूर्ण मानिन्छन् । यी खनिजहरू दैनिक जीवनमा उपयोग हुने सामान्यदेखि उच्च प्रविधिसम्म विभिन्न उपकरणहरुमा प्रयोग गरिन्छन् ।
‘लाइटबल्ब’देखि ‘गाइडेड मिसाइल’सम्म यी खनिजको प्रयोग हुन्छ । जस्तै युरोपियम टेलिभिजन स्क्रिन बनाउन प्रयोग हुन्छ । सेरियम सिसा पोलिस गर्न र तेल शुद्धीकरण गर्न प्रयोग गरिन्छ । ल्यानथानमले कारको ‘क्याटिलिटिक कनभर्टर’लाई प्रभावकारी बनाउन मद्दत गर्छ ।नियोडिमियम र डिस्प्रोसियमले स्थायी र शक्तिशाली चुम्बक बनाउन आवश्यक हुन्छ । यसले समुन्द्रभित्र टरबाइन स्थापना गर्न सम्भव हुन्छ ।
यसकारण डोनाल्ड ट्रम्पले युक्रेनसँग दुर्लभ खनिजहरुको आपूर्तिको बदलामा सैन्य सहायता दिने सम्झौता गर्न खोजेका हुन् । दशकौंदेखि चीनले आफ्नो दुर्लभ खनिज भण्डार भरपुर उपयोग गर्दै ठूलो मात्रामा प्रशोधन उद्योगमा लगानी गरेको छ । पश्चिमी देशहरुमा कडा वातावरणीय नियम भए पनि, चीनले कडा नियमन बिना प्रशोधन सञ्चालन गर्दै आएको छ ।
चीनले दुर्लभ खनिज उत्पादनमा धेरै ‘पेटेन्ट’ दर्ता गरिसकेको छ । यसकारण पनि अन्य देशका कम्पनीलाई ठूलो स्तरमा प्रशोधन गर्न अवरोध पुर्याएको छ । प्रशोधन गर्न निकै महँगो हुने भएकाले पनि धेरै कम्पनीले आफ्नो खनिज प्रशोधन गर्न चीनमै पठाउने गरेका छन् ।
अमेरिका र युरोपले हाल चीनप्रति निर्भरता घटाउन प्रयास गरिरहेका छन् । आफ्नै उत्पादन बढाउने र पुनःप्रयोग गर्ने प्रविधि सुधार गर्ने योजना विभिन्न यूरोपेली राष्ट्रहरुले बनाएका छन् । सन् २०१९ मा, अमेरिका–चीन व्यापार विवाद चर्कँदा, चीनले अमेरिकालाई दुर्लभ खनिज निर्यात रोक्न सक्ने चेतावनी समेत दिएको थियो ।
त्यस्तै, सन् २०१० मा चीनले जापानसँगको सीमा विवादमा दुर्लभ खनिज निर्यात रोकेपछि जापानले यसको गम्भीर असर भोग्नुपरेको थियो । त्यसपछि जापानले अष्ट्रेलियन कम्पनी ‘लिनास’सँग सम्झौता गरेर मलेसियाबाट आपूर्ति सुरू गरेको थियो ।
