अमेरिकामा कामविहिन बन्दै नेपाली विद्यार्थी

माघ २४, २०८१

सुदीप शिवाकोटी

Nepali student becoming jobless in America

अमेरिका — गतसाता कलेज समय सकिएपछि हतारिँदै काममा पुगेकी रितिका मैनाली (नाम परिवर्तन) निराश हुँदै आफ्नो अपार्टमेन्टमा फर्किइन् । म्यानेजरले कामबाट हटाएको सुनाएपछि उनी निराश मात्र भइनन् तनावमा पनि छिन् ।

‘कलेज फि तिर्ने बेला आइसक्यो, यहिबेला म कामविहिन भएँ । नेपालबाट मलाई पैसा पठाउन सक्नुहुन्न अब म के गरुँ,’ गहभरी आँशु बनाउँदै उनले भनिन् । टेक्ससको कम्युनिटी कलेजमा नर्सिङ अध्ययन गर्दै आइरहेकी रितिका अमेरिकाको टेक्सास राज्यको इर्भिङस्थित सेभेन इलाभेन ग्यास स्टेशनमा काम गर्थिन् ।

साताको ४५ घण्टा काम गर्ने उनले बसोबास, खाना र खाजा खर्चसँगै कलेज फि तिर्ने जेनतेन पुर्‍याइरहेकी थिइन् । त्यसमाथि उनले अमेरिका आउँदा लिएको ऋणसमेत तिर्ने योजनामा थिइन् । ‘कामबाट कमाइ ठिकै थियो, बुबा आमामाथि थोपरिएको ऋण विस्तारै तिर्दै जाने सोच थियो, अब खानसमेत धौधौ हुने भयो,’ उनले दुखेसो गर्दै भनिन्, ‘म मात्र होइन मेरा सबै साथीहरूको अवस्था यस्तै छ ।’

रितिका त एक उदाहरण मात्र हुन्, उनी जस्तै हजारौं नेपाली विद्यार्थी अमेरिकामा अहिले कामविहिन भएका छन् । न्युयोर्क युनिभर्सिटीमा स्नात्तकोत्तर अध्ययरत विमला पाण्डे (नाम परिवर्तन) को पनि उस्तै गुनासो छ । रेष्टुराँमा काम गर्दै आएकी उनलाई पनि यसै साता कामबाट निकालियो । न्युयोर्क छाडेर अन्त जाँदा काम पाइन्छ कि भनेर साथीहरूसँग सल्लाह गरिरहेको उनको भनाइ छ ।

‘न्युयोर्क महँगो सहर हो, यहाँ कामबिना कसरी बाच्न सकिएला र ?’ उनी भन्छिन्, ‘रेष्टु‍राँबाट निकालिएपछि अरु स्टोरमा पनि रिक्स लिएर काम दिन सक्दिन भन्छन्, म यो सहरनै छाडेर जाने सोचमा छु । तर अहिलेको अवस्था हेर्दा लाग्छ हामी विद्यार्थीले कहिँ पनि काम पाउँदैनौं ।’ 

सूचना प्रविधि अध्यनरत उनी एक बेडरुम अपार्टमेन्टमा पाँच जना साथीहरूसँग बस्दै आएकी छिन् । आफु मात्र होइन, सँगै बस्ने सबै साथीहरू कामको खोजीमा भौतारिरहेको उनले बताइन् । सबै अरू राज्यमा भएका साथीहरूलाई दिनहुँ सोधिने गरेको र उनीहरूमध्ये कोहीलाई कामबाट निकालिएको र कोही पक्राउ पर्ने डरले आफै छाडेको विमला बताउँछिन् ।

क्यालिफोर्नियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको अवस्था पनि उस्तै छ । एक्जोन ग्यास स्टेशनमा पूर्णकालिन काम गर्दै आइरहेका विकास परियार (नाम परिवर्तन) ले आफन्तको खोजीमा लागिरहेको बताए । ‘अहिलेसम्म मलाई कामबाट निकालिएको छैन, तर जुनसुकै बेला मैले काम छोड्नुपर्ने भनिएको छ,’ उनी भन्छन्, ‘त्यसकारण म आफन्त जहाँ छन्, त्यहीँ जाने सोचमा छु ।’ आफुसँगै एउटै अपार्टमेन्टमा बस्ने सबै साथीहरूले काम छाडिसकेको र महँगी बढी भएकाले अन्यत्र सर्ने सोच बनाइसकेकाले तत्काल अर्को विकल्प खोज्नुपर्ने उनले बताइन् । 

रूपेश सापकोटा (नाम परिवर्तन) ले अध्यनका लागि टेक्सासकै युलेस सहरको एक कलेजमा आएदेखिनै काम पाएका छैनन् । हेटौंडाका रुपेश कामको खोजीमा कलेज ट्रान्सफर गर्दै साइबर सेक्युरिटी अध्ययन गर्न युलेस आइपुगेका हुन् । नेपालबाट आएको चार महिना भइसके पनि काम नपाएपछि उनी दिक्दार देखिन्छन् । ‘अमेरिकामा राम्रै भविष्य देखेर आएँ, पढाइ पूरा गर्नसके राम्रै हुन्थ्यो होला । पढ्न पैसा चाहिन्छ, पैसाको लागि काम गर्नुपर्छ, काम पाएको छैन, अब कसरी पढुँ,’ उनी भन्छन् । काम पाउन निकै समस्या हुने र काम गरिरहेका साथीहरूलाई निकालिरहेको थाहा पाइरहँदा आफुले काम पाउने आशा नरहेको उनको दुखेसो छ ।

यसकारण कामविहिन बन्दै 

राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई निष्काशन गर्ने योजना कार्यान्वयनमा ल्याएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली विद्यार्थीमा पनि परेको छ । गैरकानुनी आप्रवासीको खोजी गर्ने क्रममा प्रहरीले दैनिक हजारौं व्यवसायिक फर्महरूमा छापा मारिरहेको छ । 

यसैक्रममा कानुनी रूपमै बसोबास गरिरहेका र कामदार अनुमति पत्र (वर्क पर्मिट) भएका बाहेकले व्यवसायिक फर्महरूमा काम गरिरहेको भेटिएमा प्रहरीले चेतावनी दिने, पक्राउ गर्ने र केहीलाई निष्काशन गर्दै आइरहेको छ । यसैको प्रभावमा नेपाली विद्यार्थी परेका हुन् । उनीहरूलाई काम गरिरहेको भेटेमा प्रहरीले पक्राउ गर्न सक्छ ।  

गैरआवासीय नेपाली संघ (एआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष अर्जुन बञ्जाडेले इन्डोर कलेजबाहेक अमेरिकामा विदेशी विद्यार्थीले काम गर्न पाउने कुनै प्रावधान नरहेको बताउँछन् । उनले हाल गैरकानुनी आप्रवासीलाई मात्र होइन, गैरकानुनी काम गरिरहेका जो कोहीलाई पनि प्रहरीले पक्राउ र निष्काशन गरिरहेको र यसको जोखिममा नेपाली विद्यार्थी पनि परेको जनाए । 

‘म आफै मेरिल्याण्डमा कलेज पढाउँछु, विद्यार्थीको अवस्था मलाई थाहा छ । अहिले विद्यार्थी समस्यामा परेका छन् । उनीहरू कामविहिन मात्र भएका छैनन्, पढाइ पूरा गर्न पनि नसक्ने अवस्थामा छन्,’ कान्तिपुरसँग उनले भने, ‘विदेशी विद्यार्थीले यहाँ कलेजबाहिर काम गर्न पाउँदैनन् । वर्क पर्मिट लिएर काम गर्ने नेपाली विद्यार्थी अत्यन्त न्यून छन् । वर्क पर्मिट लिन विद्यार्थीलाई निकै गाह्रो हुने भएकोले उनीहरूले आपसी समझदारीमा काम गर्दै आइरहेका छन् ।’

अमेरिकामा कति छन् नेपाली विद्यार्थी ?

एआरएनए अमेरिकाको तथ्यांकअनुसार हाल अमेरिकामा करिब ५० हजार नेपाली विद्यार्थी छन् । एआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बञ्जाडेले पछिल्लो ३ वर्षमा अमेरिकामा नेपाली विद्यार्थीको संख्या बढ्दो रहेको बताए ।

नेपाली विद्यार्थीको संख्या एउटै कलेजमा एक हजारभन्दा बढी रहेको उनको दाबी छ । उनका अनुसार न्युयोर्क, टेक्सास, क्यालिफोर्निया, भजिर्निया, फ्लोरिडा, ओक्लाहोमा, ओहायो, नर्थ क्यारोलाइना, कोलोराडो, वासिङ्टन, मेरिल्याण्ड, मासाच्युसेट्समा नेपाली विद्यार्थी बढी छन् । 

अमेरिकामा विदेशी विद्यार्थीले इन्डोर कलेज वर्क गर्न पाउने प्रावधान छ । प्रायः ठूला युनिभर्सिटीमा सीमित संख्यामा ‘इन्डोर कलेज वर्क’ पाउने भएकोले कम्युनिटी कलेजमा अध्ययन गर्ने विद्यार्थीका लागि व्यवसायिक फर्महरूमा काम खोज्नुको विकल्प छैन ।

युनिभर्सिटीले ‘सोसल सक्युरिटी नम्बर’ (सामाजिक सुरक्षा दर्ता) लिइदिएर करको दायराभित्र रहेपछि मात्र इन्डोर कलेज वर्क गर्न पाइन्छ । यस अन्तर्गत कलेज प्रशासनले लाइब्रेरी, रेसिडेन्ट हल, कन्फरेन्स हल, किचेन व्यवस्थित गर्ने काम साताको २० घण्टासम्म गर्न दिन सक्छ । एकातर्फ संख्या सीमित हुने र धेरै समय नहुने भएकोले अधिकांश विद्यार्थीले भने कलेजबाहिरै काम खोज्ने गर्छन् । जुन अमेरिकामा गैरकानुनी हो । 

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully