हिथ्रो विमानस्थल विस्तार : के हो दशकौं पुरानो विवाद ? 

माघ २२, २०८१

प्रविना पौडेल

Heathrow Airport Expansion: What is the decades-old dispute?

काठमाडौँ — दुई दशकभन्दा बढी समयदेखि विवादमा आएको बेलायतस्थित हिथ्रो विमानस्थलको तेस्रो धावनमार्ग निर्माण गर्ने योजनामा पुनः बहस सुरू भएको छ । बेलायती अर्थमन्त्री रेचल रिभ्सले हालै तेस्रो धावनमार्गमा सरकारको समर्थन रहेको बताएपछि फेरि यसबारे बहस सतहमा आएको हो ।

रिभ्सले तेस्रो धावनमार्गका लागि अनुमोदन गरिसकेकी छिन् । धावनमार्गले देशको दीर्घकालीन आर्थिक वृद्धिमा टेवा पुर्‍याउने, लगानी र निर्यात बढाउने तथा ‘कनेक्टिभिटी’ सुधार गर्ने उनको भनाइ छ । 

अर्थमन्त्री रिभ्सले विमानस्थल निर्माण गर्ने निर्णयले अर्थतन्त्रसमेत सुधार हुने उनको भनाइ छ । अक्सफोर्डसायरमा भएको एक कार्यक्रममा उनले हिथ्रोको विस्तार अत्यावश्यक रहेको बताएकी छन् । ‘हिथ्रोमा तेस्रो धावनमार्ग बनाएर बेलायतलाई व्यापारको हब बनाउन सकिन्छ,’ उनले भनेकी छन् । 

वातावरणविद् तथा केही राजनितीज्ञले भने विमानस्थल विस्तारको विरोध गरिरहेका छन् । विमानस्थलको विस्तारले ध्वनी तथा वायु प्रदुषण बढाउने उनीहरूको भनाइ छ । धावनमार्ग निर्माणले बेलायतको जलवायु सुधारका लक्ष्य पूरा गर्न कठिन हुने विस्तार विरोधी पक्षहरूको दाबी छ । यद्यपि रिभ्सले वातावरणीय र जलवायुसम्बन्धी मापदण्ड पालना गरेर निर्माण कार्य अघि बढ्ने दाबी गरेकी छिन् ।  

हिथ्रो विमानस्थल विस्तारको प्रस्ताव पहिलो पटक सन् २००३ को मेमा ‘बीएए पीएसी’द्वारा ल्याइएको थियो । हिथ्रोको संचालक कम्पनी बीएए पीएसीको प्रस्ताव २००३ कै डिसेम्बरमा बेलायत सरकारले अनुमोदन गरेको थियो । १२ वर्षमा विस्तारको काम सक्ने भनेर योजना बनाइएको थियो । 

सन् २००७ सम्म आइपुग्दा तत्कालीन प्रधानमन्त्री गोर्डन ब्राउन नेतृत्वको सरकारले हिथ्रो विमानस्थल विस्तारका लागि औपचारिक समर्थन जनाएको थियो । तर वातावरणविद्, स्थानीय बासिन्दा र राजनीतिक नेताहरूले भने यसको कडा विरोध गरे । कार्बन उत्सर्जन बढाउने, ध्वनि प्रदुषण गर्ने, आसपासका स्थानीयलाई विस्थापित हुने खतरा रहेको उनीहरूको भनाइ थियो । व्यापक विरोध प्रदर्शन र कानुनी चुनौती समेत देखिएको भएपनि सरकारको समर्थन भने कायमै थियो । 

तर सन् २०१० मा डेभिड क्यामरुन नेतृत्वको सरकारको पालामा वातावरणीय चिन्ताका कारण देखाउँदै  परियोजना रद्द गरियो । त्यसपछि सन् २०१६ मा प्रधानमन्त्री थेरेसा मेले योजना पुनः अघि सारिन् । यद्यपि यसअघि पनि यो विस्तारबारे निरन्तर समीक्षाहरू भए । थेरेसा मेले मेले मुख्यतः आर्थिक लाभलाई औंल्याउँदै धावनमार्ग विस्तारलाई अनुमोदन गरेकी थिइन् । 

सन् २०१८ मा, बेलायती संसद्ले आधिकारिक रूपमा तेस्रो रनवेको पक्षमा मतदान गर्‍यो । ४ सय १५ सांसद विस्तारको पक्षमा थिए भने १ सय १९ जनाले विपक्षमा मत दिए । यद्यपि संसदीय स्वीकृतिपछि पनि विमानस्थल विस्तारका कानुनी र वातावरणीय चुनौतीहरू कायम रहे । 

मतदान पछि हिथ्रो विस्तारको योजना अघि बढिरहेकै थियो । तर सन् २०२० मा, अदालतले बेलायती जलवायु प्रतिबद्धतासँग बाझिने तर्क गर्दै विस्तारलाई अवैधानिक ठहर गर्‍यो । अदालतको यही निर्णयले सरकारलाई यस परियोजनामा पुनः समीक्षा गर्न बाध्य बनायो । 

अदालतको यही निर्णयलाई सन् २०२१ मा सर्वोच्च अदालतले उल्ट्याउँदै हिथ्रोको तेस्रो धानवमार्ग विस्तारका लागि कानुनी बाटो खुलाइदियो । यसपछि बीएए पीएसीले सन् २०२३ मा, हिथ्रो विमानस्थलको तेस्रो धावनमार्गको पुनः संशोधित प्रस्ताव दर्ता गर्‍यो । जसले पुरानै विवादलाई पुनर्जीवित गर्‍यो । Heathrow Airport Expansion: What is the decades-old dispute?

तर अर्थमन्त्री रिभ्सले हालै धावनमार्गमा सरकारको अनुमोदन रहेको बताएपछि यसको बहस थप चर्किएको छ । विस्तारका समर्थकहरूले तेस्रो रनवेले महत्वपूर्ण आर्थिक लाभ पुर्‍याउने, हजारौं रोजगारी सिर्जना गर्ने र बेलायतलाई एक प्रमुख अन्तर्राष्ट्रिय उड्डयन केन्द्रको रूपमा स्थापित गर्ने दाबी गर्छन् । 

तर, विरोधीहरूले वातावरणीय र सामाजिक असरबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । कार्बन उत्सर्जन, ध्वनि प्रदूषण र सयौँ घरहरु नष्ट पार्नुपर्ने कारण देखाउँदै आलोचकहरूले कडा आपत्ति जनाएका हुन् । 

पर्यावरण सम्बन्धी संगठन ‘डब्लूडब्लूएफ’ले पनि विमानस्थल विस्तारको निर्णयलाई गम्भीर गल्तीको रुपमा औंलाएका छ । ‘विमानस्थलको विस्तार जस्ता महँगा परियोजनाहरू बनाइरहनु गलत हो । यसैमा दशकौं समय लाग्छ, कार्बन उत्सर्जन बढाउँछ र वास्तविक आर्थिक वृद्धिलाई अवरुद्ध गर्छ,’ डब्लूडब्लूएफले भनेको छ । 

पछिल्लो निर्णयसँगै कार्बन उत्सर्जनको सीमा अर्थात् ‘कार्बन बजेट’ सम्बन्धी बेलायती कानुन पनि उल्लंघन हुन सक्छ । कार्बन बजेट भनेको कुनै निश्चित समय अवधिमा वातावरणमा उत्सर्जन गर्न सकिने अधिकतम सीमा हो । बेलायतले सन् २००८ को जलवायु परिवर्तन ऐन अर्न्तगत कानुनी रूपमा बाध्यकारी कार्बन बजेट अपनाएको छ । हिथ्रोको तेस्रो धावनमार्ग बनाउँदा कार्बन उत्सर्जन बढ्छ, जसले बेलायतलाई आफ्नो कानुनी लक्ष्य पूरा गर्न कठिन हुन सक्छ । 

बेलायतले जलवायु परिवर्तन न्यूनीकरण गर्न २०५० सम्म ‘नेट जिरो’ उत्सर्जन गर्ने लक्ष्य लिएको छ । यसको अर्थ कानुन उत्सर्जन शून्यमा ल्याउनु वा जुन मात्रामा कार्बन उत्सर्जन हुन्छ त्यो बराबरको कार्बन वातावरणबाट हटाउनु हो । 

वातावरणविद्हरूले यसविरुद्ध मुद्धा हाल्ने तयारी गरिरहेका छन् । त्यसैले तेस्रो धावनमार्ग विस्तारको भविष्य भने अझै अन्योल देखिएको छ । हिथ्रो विमानस्थल बेलायतको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल हो । व्यस्त समयमा पनि हिथ्रो विमानस्थलमा हरेक ४५ सेकेन्डमा एउटा विमान अवतरण गर्न सक्छ । यो विश्वभरका यात्रुहरूका लागि प्रमुख ट्रान्जिट हब पनि हो । 

संसारकै सबैभन्दा ठूलो विमानस्थलमध्येको एक हिथ्रोले सन् २०२४ मा मात्र ८ करोड ३० लाखभन्दा बढी यात्रुलाई सेवा दिएको थियो । विमानस्थलमा अधिकतम वार्षिक ४ लाख ८० उडान क्षमता छ । तर दुईवटा मात्र धावनमार्ग भएकाले हिथ्रो निकै व्यस्त छ । त्यसैले यसको तेस्रो धावनमार्गको विस्तारको दबाब बढेको हो । 

(एजेन्सीहरूको सहयोगमा)

प्रविना पौडेल प्रविना कान्तिपुरकी मल्टीिमिडिया रिपाेर्टर हुन् । उनी युवा पुस्ता, प्रविधी र मनाेस्वास्थ्यका बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully