हमासद्वारा थप ३ बन्धक रिहा 

माघ १९, २०८१

एजेन्सी

3 more hostages released by Hamas

जेरुसलेम — प्यालेस्टिनी समूह हमासले थप तीनजना बन्धक रिहा गरेको छ । उनीहरूमध्ये दुई जनालाई दक्षिणी गाजाको खान युनिस र एक जनालाई गाजासिटीबाट रिहा गरिएको हो । 

३४ वर्षीय यार्देन बिवास र फ्रान्सको समेत नागरिकता भएका ५३ वर्षीय ओफर काल्दरोनलाई खान युनिसबाट रिहा गरिएको हो । त्यस्तै, ६५ वर्षीय किइथ सिगललाई गाजासिटीबाट रिहा गरिएको हो । उनीसँग इजरायल र अमेरिकाको दोहोरो नागरिकता छ । 

तीनै जनालाई गत जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता अनुसार रिहा गरिएको हो । त्यसको बदलामा इजरायलले १ सय ८३ जना प्यालेस्टिनी बन्दीलाई रिहा गर्दैछ । इजरायलले शनिवार छाड्ने ७० जना आजिवन वा लामो अवधिको कारावास सजाय तोकिएका व्यक्तिहरू भएको जनाइएको छ । दुई पक्षबीच सम्झौता भएयता शनिबार चौथो चरणमा बन्धकहरू छाडिएको हो । 

हमासले ६ साता लामो युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ । त्यसको बदलामा इजरायली जेलमा रहेका करिब १९ सय प्यालेस्टिनी बन्दीहरू रिहा हुनेछन् । 

हमास र इजरायलबीच भएको सम्झौतामा प्रत्येक इजरायली सैनिक बराबर ५० जना र प्रत्येक सर्वसाधारण बराबर ३० जना प्यालेस्टिनी बन्दी छाड्ने उल्लेख छ । युद्धविरामको दोस्रो चरणको वार्ता भने पहिलो चरण सुरू भएको १६ दिनमा हुने सम्झौतामा उल्लेख छ । 

दोस्रो चरणमा बाँकी बन्धकलाई रिहा गरिनुका साथै गाजा क्षेत्रबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने जनाइएको छ । तेस्रो तथा अन्तिम चरणमा गाजाको पुनर्निर्माण अघि बढाइने सम्झौतामा उल्लेख छ । यो चरणमा बाँकी बन्धक रिहा तथा शवहरू फिर्ता गरिने जनाइएको छ । 

हमासले सन् २०२३ को अक्टुबर ७ मा इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको  थियो । २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो । 

गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा ४७ हजार भन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् ।

प्यालेस्टिनी अधिकारीहरूका अनुसार मारिएका बालबालिकाको संख्या १८ हजार नाघिसकेको छ । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् । इजरायलतर्फ १४ सयभन्दा बढीको ज्यान गएको छ । 

एजेन्सी

Link copied successfully