काठमाडौँ — जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम लागू भए पनि गाजा क्षेत्रमा विद्यमान भोकमरीको असर त्यहाँका नागरिक र विशेषगरी बालबालिकामा वर्षौंसम्म असर पार्न सक्ने आँकलन गरिएको छ ।
गाजा क्षेत्रमा सहयोग सामग्रीको आपूर्ति बढेसँगै गम्भीर खाद्य संकटलाई तत्काललाई टरे पनि भोकमरी अन्य असरहरु लामो समयसम्म देखिने आँकलन संयुक्त राष्ट्रसंघले गरेको छ ।
रोयटर्सका अनुसार संयुक्त राष्ट्रसंघको जनवरी २२ को अनुमानअनुसार, २०२५ मा गाजा क्षेत्रमा ६० हजारभन्दा बढी बालबालिकालाई गम्भीर कुपोषणको उपचार आवश्यक पर्नेछ । गम्भीर कुपोषणकै कारण केही बालबालिकाहरूको मृत्यु भइसकेको भए पनि कतिको मृत्यु भएको छ भन्ने तथ्यांक यकिन छैन् । रोयटर्सले गएको वर्षभरि हैटीदेखि अफगानिस्तान, सुडान तथा अन्य अफ्रिकी राष्ट्रहरू हुँदै गाजासम्म भोकमरी र गम्भीर खाद्य संकटले लाखौं मानिसहरूलाई प्रभावित बनाएको भन्दै यो चिन्ताको विषय भएको उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार विश्वभर १३ करोडभन्दा धेरै बालबालिकाहरू तीव्र खाद्य संकटग्रस्त क्षेत्रमा बसोबास गर्छन् । जसमा ४ करोड बालबालिका पाँच वर्षभन्दा कम उमेरका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार, झन्डै ५ लाख गर्भवती महिला पनि यस्ता क्षेत्रमा बसोबास गर्छन् ।
बाल्यकालमै भोकमरीमा परेका बालिबालिकाहरुको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने पोषणविद्हरु बताउँछन् । बाल्यकालमा हुने कुपोषणका कारण बौद्धिक क्षमता वृद्धिमा पनि असर पार्ने देखिन्छ । रोयटर्समा बाल्यकालमा र गर्भमा पनि हुने कुपोषणले हुर्किसकेपछि कुनै न कुनै समय हृदयरोग, टाइप २ मधुमेह र अन्य गैर संक्रामक रोगहरूको वृद्धि हुने उल्लेख गरेको छ ।
हमासले सन् २०२३ अक्टुबर ७ गरेको आक्रमणमा इजरायलमा १२ सयको ज्यान गएको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो । गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा ४६ हजार ८ सय प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मारिएका बालबालिकाको संख्या १८ हजार नाघिसकेको छ । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् । इजरायलतर्फ १४ सयभन्दा बढीको ज्यान गएको छ ।
