कंगोको गोमा सहर विद्रोहीको कब्जामा 

'एम २३' विद्रोहीसँगको भिडन्तमा १७ शान्तिसेना मारिए

माघ १५, २०८१

एजेन्सी

Congo's Goma city captured by rebels

किन्सासा — रुवाण्डा समर्थित विद्रोहीहरूले पूर्वी कंगोको गोमा सहर कब्जा लिएका छन् । 'एम २३' विद्रोही र कंगोको सरकारी सेनाबीच भएको भिडन्तमा कम्तीमा १७ जना विदेशी शान्ति सेनाको ज्यान गइसकेको छ ।

तीमध्ये १३ जना दक्षिण अफ्रिकी भएको बीबीसीले जनाएको छ । अन्य मृतकहरू मलावी र उरूग्वेका हुन् । भीडन्तमा कम्तीमा १२ सर्वसाधारणको ज्यान जानुका साथै ३ सयभन्दा बढी घाइते भएका छन् । दर्जनौं सरकारी फौजले विद्रोहीसामु आत्मसमर्पण गरेका छन् । आक्रमणपछि गोमाको जेलबाट सयौं कैदीहरू भागेका छन् । 

संयुक्त राष्ट्रसंघका अनुसार गोमाका सडकमा शवहरू यत्रतत्र छरिएका छन् । विद्रोही लडाकुहरूले केही स्थानीयको बलात्कार गरेको रिपोर्टहरू आएका राष्ट्रसंघको भनाइ छ । विद्रोहीको आक्रमणपछि गोमाबा६ हजारौं विस्थापित भएका जनाइएको छ । उनीहरू सयौंजना रुवाण्डाको गिसेनी सहर पुगेका छन् ।

गोमामा जारी विद्रोही आक्रमणको आक्रोशमा राजधानी किन्सासास्थित प्रदर्शनहरू भएका छन् । ती प्रदर्शनका क्रममा रुवाण्डा, युगान्डा, फ्रान्स र बेल्जियमका दूतावासहरू निशानामा परेका छन् । फ्रान्सले किन्सासास्थित आफ्नो दूतावासको केही भागमा आगजनी गरिएको जनाएको छ । कतिपय भवनमा लुटपाट भएको छ ।

विद्रोही लडाकूहरूले सोमबार करिब २० लाख मानिसहरूको बसोबास रहेको सहरमाथि आक्रमण सुरू गरेका थिए । कंगोको राजधानी किन्सासाबाट २ हजार किलोमिटर टाढा पर्ने गोमा सहर खर्बौं डलरको खनिज सम्पत्ति भएको क्षेत्र हो । 

'एम २३' विद्रोहीहरूले आफ्नो नियन्त्रणमा रहेको क्षेत्र विस्तार गर्ने प्रयास गरेपछि करिब चार साताअघि कंगोको सेनासँग लडाई चर्केको हो । देशका छिमेकीहरू युगान्डा र रुवान्डाले लामो समयदेखि कंगोको पूर्वी क्षेत्रमा विद्रोही समूहहरूलाई समर्थन गर्दै आएका छन् ।

एजेन्सी

Link copied successfully