भारत प्रशासित जम्मु कश्मीरमा १७ जनाको रहस्यमय मृत्यु, अनुसन्धान सुरू 

माघ १०, २०८१

एजेन्सी

Mysterious death of 17 people in Indian-administered Jammu and Kashmir, investigation started

काठमाडौँ — भारत प्रशासित जम्मु र कश्मीरको एउटै गाउँमा १७ जनाको रहस्यमय मृत्यु भएपछि भारतीय अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् । जम्मूको रजौरी जिल्लाको दुर्गम गाउँ बधलमा डिसेम्बर ७ यता १७ जनाको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमध्ये १२ जना बालबालिका छन् । 

पीडितहरूले सुरुमा 'फूड पोइजन' भएको लक्षणहरू देखाएका थिए । तर पछि अचानक होस गुमाएका स्थानीय स्वास्थ्य अधिकारीहरूको भनाइ छ । घटनापछि गाउँलाई कन्टेनमेन्ट जोन घोषणा गरिएको छ । यद्यपि  अधिकारीहरूले यो कुनै संक्रामक रोग नभएको र महामारीको डर नरहेको बताएका छन् ।

स्थानीय अस्पतालका प्रमुख डा. एएस भाटियाले सुरुमा अस्पताल भर्ना गरिएका चार बालबालिकासहित पाँच बिरामीमा वान्ता र झाडापखाला लगायतका समस्या देखिएका थिए । अन्य विरामीले घाँटी दुख्ने र सास फेर्न समस्या भएको बताएका थिए । तर केही समयमा ती सबैले अचानक होस गुमाएका उनले बताए । 

घटनाबारे भारतको संघीय सरकारले छानबिनका लागि आदेश दिएको छ । स्थानीय प्रशासनले गठन गरेको विशेष अनुसन्धान टोलीमा प्रहरी अधिकृत, रोगविज्ञ र अन्य विज्ञ सम्मिलित टोलीले हालसम्म दर्जनौं व्यक्तिसँग सोधपुछ गरिसकेको छ । 

प्रारम्भिक अनुसन्धानका अनुसार दूषित खाना र पानीको सेवन कारण स्थानीयको ज्यान गएको बताइएको छ ।  नमूना परीक्षणमा विषादीको मात्रा पाइएपछि गाउँका बासिन्दालाई स्थानीय मुहानको पानी नपिउन आग्रह गरिएको छ ।

१३ जनाको डिसेम्बर ७ र जनवरी १९ बीचमा ज्यान गएको हो । मृतकहरू तीन परिवारका सदस्य भएका जनाइएको छ । मृत्यु भएका बालबालिकामध्ये ६ जना दाजुभाइ भएका र उनीहरूको उमेर ७ देखि १५ वर्ष रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

कम्तिमा १० जनालाई रजौरी, जम्मू र चण्डीगढ सहरका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । रजौरीको सरकारी मेडिकल कलेजका डा सुजा क्वाद्रीले मृतकहरूमा भाइरल, ब्याक्टेरिया, प्रोटोजोल र जुनोटिक संक्रमणको सम्भावना नभएको बताए ।

एजेन्सी

Link copied successfully