ट्रम्पको इन्यागुरेसनमा को-को आउँदै छन् ?

माघ ७, २०८१

कान्तिपुर संवाददाता

Who is coming to Trump's inauguration?

काठमाडौँ — अमेरिकाको राष्ट्रपतिमा दोस्रो पल्ट निर्वाचित भएका डोनाल्ड ट्रम्प आज (नेपाली समयअनुसार सोमबार राती) ह्वाइट हाउस प्रवेश गर्दै छन् । अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा उनको शपथ ग्रहण समारोहमा अमेरिकाका प्रभावशाली राजनीतिकर्मी, खर्बपतिदेखि विभिन्न देशका नेता एवं सेलेब्रिटीहरू स्वागतका लागि जम्मा हुन लागेका छन् । 

टाइम म्यागेजिनका अनुसार ट्रम्पको इन्यागुरेसन कार्यक्रममा वर्तमान राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस आफ्ना जीवनसाथीसहित उपस्थित हुँदै छन् । सन् २०२१ मा बाइडेन राष्ट्रपति हुँदा ट्रम्प उनको इन्यागुरेसनमा गएका थिएनन् । ट्रम्पकहाँ पूर्व राष्ट्रपति बाराक ओबामा, जर्ज डब्लु बुस र बिल क्लिन्टन पनि उपस्थित हुँदै छन् । पूर्वप्रथम महिलामध्ये हिलारी क्लिन्टन र लौरा बुस उपस्थित हुने तय भएको छ भने मिसेल ओबामाले उपस्थित नहुने बताइसकेकी छन् । 

सूचना प्रविधि उद्योगतर्फ अर्बपतिहरूको बाक्लो उपस्थिति देखिँदै छ । विश्वका सबैभन्दा धनी इलन मस्क, जेफ बेजस र मार्क जकरबर्ग उपस्थित हुने मात्रै नभएर समारोहमा उनीहरूलाई विशेष स्थान दिइने तय भएको छ । तीनै जना खर्बपतीहरूलाई पूर्व राष्ट्रपति, ट्रम्पका परिवार र मन्त्रीपरिषद्मा नियुक्त भएको घोषणा गरिएका व्यक्तिहरूसँगै डायसमा राख्ने तयारी भएको छ ।

एक्स, टेस्ला र स्पेस एक्सका प्रमुख मस्कले चुनावमा ट्रम्पलाई जिताउन अर्बौँ डलर खन्याएको हुँदा उनी ट्रम्पका समारोहमा निम्त्याइनु नौलो कुरा भएन । उनलाई ट्रम्पले विवेक रामास्वामीसँग मिलेर सरकारी मितव्ययिता विभागको नेतृत्व सम्हाल्ने जिम्मेवारीसमेत दिएका छन् । अमेजनका संस्थापक एवं वासिङ्टन पोस्टका मालिक बेजसले ट्रम्पलाई सघाउने गरी कमला ह्यारिसलाई समर्थन गरिएको वासिङ्टन पोस्टको सूचना अन्तिम समयमा हटाउन लगाएका थिए । मेटाका प्रमुख जकरबर्गले पनि ट्रम्पलाई रिझाउने गरी पछिल्लो समय कम्पनीका प्रमुख रणनीतिहरू हेरफेर गरिरहेका छन् ।

रोचक चाहिँ, समारोहमा ट्रम्पले टिकटकका प्रमुख कार्यकारी अधिकृत सोउ जी चीउलाई पनि निम्तो दिएको टाइमले जनाएको छ । उनलाई सूचना प्रविधि कम्पनीका अन्य प्रमुखसरह डायसको मुख्य ठाउँमा सिट व्यवस्था गरिएको समाचार बाहिरिएका छन् । ट्रम्पले राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्नुभन्दा दुई दिनअघि शनिबारबाटै अमेरिकामा टिकटक चल्न छोडेको थियो । सोमबारबाट भने ट्रम्कै हवाला दिएर यो फेरि चल्न थालेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । इन्यागुरेसनकै बेला ट्रम्पले टिकटकलाई ९० दिनको समयसीमा थप्नेबारे कार्यकारी आदेश जारी गर्न सक्ने सङ्केत दिएका छन् ।   

च्याटजीपीटी निर्माता ओपनएआईका प्रमुख साम अल्टम्यान, गुगलका प्रमुख सुन्दर पिचाइ, एप्ललका प्रमुख टिम कुक, उबरका डारा खोस्रोशाहीलाई पनि कार्यक्रममा निम्तो दिइएको छ । अल्टम्यान, कुक र खोस्रोशाहीसँगै मेटा, अमेजन, गुगल र उबरले हालै मात्र ट्रम्पको उद्घाटन कोषका लागि जनही १० लाख डलर उपलब्ध गराएका थिए । टेक कम्पनी र तिनका प्रमुख कार्यकारीहरूले ट्रम्पको कार्यकालमा आ-आफ्ना स्वार्थ अनुकूल कर नीति, व्यापार नीति र एन्टि-ट्रस्ट नीतिहरूमा परिवर्तनका लागि भूमिका खेल्न चाहेका छन् ।

समारोहमा विभिन्न देशका राजनीतिकर्मीहरूलाई पनि आमन्त्रित गरिएको छ । यसमा ट्रम्पका नजिकका समर्थकदेखि कटुतापूर्ण सम्बन्ध भएकालाई पनि समावेश गरिएको अलजजिराले जनाएको छ । कुल ५ लाख आगन्तुकमध्ये चीनका उपराष्ट्रपति हान जेङ, अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेइ, ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो, इटलकी प्रधानमन्त्री जर्जिया मेलोनी लगायत उपस्थित हुँदै छन् ।  

कार्यक्रममा गायिका क्यारी अन्डरवुडले ‘अमेरिका द ब्युटिफुल’ गीत गाउने तालिका छ । ट्रम्पले आफ्ना र्‍यालीहरूमा अक्सर बजाउने गरेको अमेरिकी डिस्को समूह ‘भिलेज पिपल’ का गायक भिक्टर विलिसले पनि उद्घाटन सत्रमा सहभागी हुन स्विकार गरेको फेसबुकमार्फत जनाएका छन् । एनबीसीका अनुसार कार्यक्रममा बक्सर माइक टाइसन, हकी खेलाडी इभान्डर केन, फुटबल खेलाडी एन्टोनियो ब्राउन लगायत पनि सहभागी हुँदै छन् ।   

कान्तिपुर

Link copied successfully