कम्तीमा ८ जनाको मृत्यु
काठमाडौँ — प्यालेस्टिनी समूह हमासले गाजा क्षेत्रको युद्धविराममा ढिलाई गरेको भन्दै इजरायलले आक्रमण गरेको छ । आइतबारको आक्रमणमा कम्तीमा ८ जनाको ज्यान गएको सीएनएनले जनाएको छ ।
आइतबार बिहान युद्धविरामको लागू हुने समय सुरु भएपछि इजरायलले उत्तरी गाजामा हवाई आक्रमण गरेको हो । आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको जनाइएको छ । इजरायली सेनाले हमासले रिहा गरिने बन्धकहरूको नाम उपलब्ध नगरेसम्म गाजा क्षेत्रमा आक्रमण जारी रहने चेतावनी दिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले पहिलो चरणमा रिहा गर्ने बन्धकहरूको नाम उपलब्ध नगरेसम्म गाजा युद्धविराम अघि बढ्न नसक्ने बताएका छन् ।
हमासले विज्ञप्ति जारी गर्दै 'प्राविधिक कारण'ले बन्धकहरूको नाम उपलब्ध गराउन ढिलाई भएको जनाएको छ । युद्धविराम सम्झौतामा योजनाबद्ध रूपमा बन्दीहरूको आदानप्रदान हुनुभन्दा कम्तीमा २४ घण्टा अघि नाम उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
हमास र इजरायलबीचको युद्धविराम स्थानीय समय अनुसार आइतबार बिहान ८:३० बजेदेखि लागू हुने बताइएको थियो । तर त्यसको दुई घण्टा बितिसक्दा पनि युद्धविराम कार्यान्वयनमा आएको छैन ।
