काठमाडौँ — बलिउड अभिनेता सैफ अली खानको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको छ । बिहीबार बिहानै चक्कु प्रहारबाट घाइते भएका सैफको स्वास्थ्य अवस्थामा सुधार आएको मुम्बईस्थित लीलावती अस्पतालले जनाएको छ । अस्पतालका डाक्टर नितिन डांगीका अनुसार सैफको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
उनको स्वास्थ्यमा पहिले भन्दा सुधार आएको पनि उनको भनाइ छ । उपचारका संलग्न चिकित्सकहरूका अनुसार अहिले सामान्य हिँडडुल गर्न सक्ने भएका छन् उनी । यद्यपि उनलाई धेरै हिँडडुल गर्न भने दिइएको छैन । पूर्ण रूपमा स्वस्थ हुन केही समय लाग्ने पनि अस्पतालले जनाएको छ । उनलाई आईसीयूबाट स्पेसल रुममा सिफ्टसमेत गरिएको छ ।
बिहीबार राति एक व्यक्ति बान्द्रास्थित सैफको घरमा पुगेर उनको शरीरका विभिन्न भागमा चक्कु हानेका थिए । कम्मरको हड्डी र गर्दनमा अलि गहिरो चोट लागेको पनि अस्पतालले जनाएको छ ।
चिकित्सकका अनुसार सैफ रगताम्मे भएर लीलावती अस्पताल पुगेका थिए । उनी ८ वर्षीय छोरा तैमूरसँगै बिनास्ट्रेचर नै अस्पताल पुगेको एनडीटीभीले जनाएको छ ।
एक जना संदिग्ध व्यक्ति पक्राउ
घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ । यद्यपि उनी नै आक्रमणकारी हुन् वा होइनन् भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । आक्रमणकारीलाई पक्राउ गर्न प्रहरीको २० टिम सक्रिय रहेको छ ।
बिहीबार बिहान साढे २ बजेतिर एक अज्ञात व्यक्ति सैफकफ फ्ल्याटमा छिरेर चक्कु हानेका थिए । चक्कु प्रहारबाट सैफको शरीरमा ६ वटा चोट लागेको थियो जसमध्ये २ वटा गम्भीर चोट रहेको चिकित्सकले बताएका छन् । कम्मर र घाँटीनेर अपरेसन भइसकेको पनि अस्पतालले जनारएको छ ।
