निर्देशक डेभिड लिन्चको निधन

माघ ४, २०८१

कान्तिपुर संवाददाता

Director David Lynch dies

काठमाडौँ — अमेरिकन फिल्मलाई ‘डार्क सरियलिस्टिक’ विधासँग जोडिदिने निर्देशक डेभिड लिन्चको निधन भएको छ । ‘ब्लु भेल्भेट’, ‘ट्विन पिक्स’, ‘मुलहोलन्ड ड्राइभ’जस्ता फिल्म निर्देशन गरेका लिन्चको ७८ वर्षको उमेरमा निधन भएको परिवार स्रोतले फेसबुकमार्फत जानकारी गराएका हुन् । 

‘उहाँ हामीमाझ रहनु भएन, यो संसारकै लागि एउटा छिद्र  हो । तर, उहाँ भन्ने गर्नुहुन्थ्यो नि डुनोटमा ध्यान दिनुस् त्यसमा भएको छिद्र/प्वालमा होइन,’परिवारले लिन्चकै चर्चित भनाई प्रस्तुत गर्दै निधनको पुष्टि गरे । भराइटीले उल्लेख गरे अनुसार लिन्च सन् २०२४ यता ‘एम्फिसिया’ रोगसँग जुधिरहेका थिए, अधिकतम चुरोट सेवनकै कारण उनी यो रोगसँग लड्दै आएका थिए । सास फेर्नमा कठिनाइ हुने हुँदा उनलाई घरभित्रै बस्ने सल्लाह दिइएको थियो । त्यतिबेलादेखि उनी फिल्म निर्माणका लागि घरबाहिर निस्कन पाएनन् । 

डार्क सरिलियस्टिक विधामा क्रान्ति ल्याएका लिन्चका अधिकांश फिल्म अति यथार्थवादी छन् । जहाँ सपनाहरू यथार्थजस्तै देखिन्छन् अनि यथार्थहरु सपनाजस्तै ! लिन्च फिल्मसँग पेन्टिङ, लेखन र संगीतको सम्बन्ध हुने बताउने गर्थे । त्यसैले उनका अधिकांश फिल्ममा कलाका यी पक्षहरूको बेजोड तादात्म्य भेटिन्छ । फिल्ममा प्रयोग गरिएका ध्वनि होस् या कुनै नयाँ प्रयोग नै, यसको मीठो संयोजन उनका फिल्महरूमा भेटिन्छन् । कलाप्रतिको उनको बुझाइ, खोज र अभ्यास अथाह रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ । एब्स्ट्र्याक पेन्टरसमेत रहेका लिन्च फोटोग्राफरसमेत थिए । कलाप्रतिको उनका यी नै बुझाई, लगाव नै ‘ब्लु भेलभेट’ र ‘मुलहोलन्ड ड्राइभ’हरुमा अभिव्यक्त छन् । ‘फिल्म, संगीत, पेन्टिङ र लेखनबीच सम्बन्ध छ,’लिन्च भन्ने गर्थे । युरोपका फिल्ममेकर जान लुक गुडार्ड, फेडरिको फेलिनीबाट उनी प्रभावित थिए । 

सन् १९४६ अमेरिकाको मोन्टानामा जन्मिएका लिन्चको हुर्काइ विभिन्न सहरहरूमा भयो । विद्यालयको पढाइपछि लिन्चले बोस्टनको म्युजियम अफ फाइन आर्ट्समा पढे । त्यहीँ नै उनले आफ्नो पहिलो एनिमेटेड फिल्म ‘सिक्स मेन गेटिङ सिक’ बनाएका थिए । अमेरिकन फिल्म इन्स्टिच्युटमा पढ्दा भने सन् १९७७ मा ‘इरेजरहेड’बनाए । त्यतिबेलै फिल्मकर्मी स्टेन्ली क्युब्रिकदेखि जोन वाटर्सको आँखामा परे । अस्कर मनोनित निर्देशक लिन्चले ‘गभर्नर अवार्ड्स’ पनि प्राप्त गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully