जेजु एयर दुर्घटना : पीडितका परिवारहरूविरूद्ध किन फैलिइरहेको छ घृणा ? 

माघ २, २०८१

कान्तिपुर संवाददाता

Jeju Air Crash: Why is hate spreading against the victims' families?

सोल — गत डिसेम्बरमा थाइल्यान्डको राजधानी बैंककबाट १ सय ७५ यात्रु र चालक दलका ६ सदस्यसहित उडेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका ४ सदस्यसहित १ सय ७९ जनाको मृत्यु भएको थियो । 

चालकदलका ६ सदस्यमध्ये जहाजको अन्तिम सिटमा रहेका दुई क्याबिन क्रुलाई जीवितै उद्धार गरिएको थियो । दुर्घटनालगत्तै एयरलाइन्लेस  मृतकका परिवारजनलाई क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेको थियो । यद्यपि पीडितलाई क्षतिपूर्ति दिने कुराले दक्षिण कोरियामा नकारात्मक टिप्पणी र द्वेशभाव फैलाएको छ । 

मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जेजू एयर विमान दुर्घटनापछि दुर्घटना पीडित र पीडितका परिवारहरूलाई द्वेशपूर्ण टिप्पणी र गलत जानकारी फैलन थालेको छ । जेजू एयर विमान दुर्घटनापछि पीडित र उनीहरूका परिवारलाई लक्षित गरी अनलाइनमा नकारात्मक टिप्पणी र गलत सूचनाहरू फैलन थालेका हुन् । 

सामाजिक सञ्जाल र अनलाइन प्लाटफर्महरूमा पीडितका परिवारलाई अपमान गर्ने टिप्पणी र दुर्घटनासम्बन्धी झूटा विवरणहरू फैलाइएको छ । 'पीडित परिवारहरू क्षतिपूर्ति पाएकोमा रमाएका छन्' जस्ता टिप्पणीहरु धेरै देखिएका छन् । एक ३० वर्षिय पुरुषलाई नकारात्मक टिप्पणी गरेको आरोपमा गिरफ्तार नै गरियो ।

'दुर्घटनाले जसको घरमा धेरै जनाको ज्यान गएको छ, उनीहरु धेरै खुसी भएका छन्,' ती पुरुषले टिप्पणी गरेका थिए । त्यस्तै ‘पीडित परिवारले पैसा पाउँछन्, दुःखी किन हुने’, ‘पाइलट हिरो बन्न खोजेको हो’ जस्ता अपमानजनक कुराहरू लेखिएको फाइएको थियो । 

त्यस्तै ‘क्याबिन क्रु’ बारे पनि गलत सूचनाहरु फैलाइएको थियो । ‘पाइलट’ र ‘कोपाइलट’ दुवै महिला रहेको झूटो सूचना फैलिएको थियो । सोही सुचनालाई आधार बनाएर, स्त्री भएकै कारण दुर्घटना भएको भन्दै नारीद्वेशी टिप्पणीहरू सामाजिक सञ्जालमा आएका थिए । तर विमानका पाइलट र कोपाइलट दुवै पुरुष थिए । 

दक्षिण कोरियामा क्षेत्रीय भेदभाव पहिल्यैदेखि व्याप्त छ । विशेष गरी जिओल्ला र ग्योनसाङ प्रान्तबीच अत्याधिक भेदभाव रहेको छ । मुआन अन्तर्राष्ट्रिय विमानस्थल जिओल्ला प्रान्तमा पर्छ । जिओल्लास्थित मुआनमा दुर्घटना भएको भाष्य निर्माण हुन सक्ने सम्भावना रहेको थियो ।

त्यसकारण दुर्घटनालाई ‘मुआन क्य्रास’ नभइ 'डिसेम्बर २९ जेजू एयर प्लेन क्य्रास’ नाम राखिएको थियो । मुआन क्य्रास नामले जिओल्ला क्षेत्रमा नकारात्मक कुराहरू फैलाउने मद्दत गरेको यातायात मन्त्रालयले जनाएको छ । 

कोरियामा पीडित र पीडित परिवारमाथि द्वेशपूर्ण टिप्पणी आउने घटना विगतमा पनि भएका थिए । ‘सोल दुर्घटना’ र ‘इटावन क्राउड दुर्घटना’मा पनि पीडितका परिवारलाई नकारात्मक र अपमानजनक टिप्पणीहरु गरिएको थियो । 

एक अध्ययनको अनुसार सोल दुर्घटनासँग सम्बन्धित ४६ मानहानि मुद्धामध्ये ४१ वटामा दोषी ठहर गरिएको थियो । त्यस्तै, इटावन दुर्घटनासँग सम्बन्धित मानहानि मुद्धामध्ये १७ वटा प्रहरीबाट अभियोजनकर्ताकहाँ पठाइएको थियो ।

संकवंकवान विश्वविद्यालयका समाजशास्त्रमा प्राध्यापक कु जोंग वुले यस प्रकारको व्यवहार समाजमा सहानुभूतिको कमीका कारण फैलिएको बताएका छन् । ‘मानिसहरूमा बढ्दो असन्तोष र एक्लोपनाले यस्तो अनौठो र अतिवादी प्रतिक्रिया फैलिन्छ । यसरी आफूप्रति अरुको ध्यान केन्द्रित गराउने मनसाय हुन्छ,’ उनले बताएका छन् । 

दक्षिण कोरियाली कानुनअनुसार अनलाइनमा मानहानि वा अपमानजनक सामग्री पोस्ट गर्ने व्यक्तिहरूलाई ‘मृतकको मानहानि’, ‘अपमान’ वा ‘व्यावसायमा बाधा पुर्‍याएको’ जस्ता आरोपहरू लाग्न सक्छ । विगत हेर्ने हो भने सजायहरू सामान्यतया न्यून रहेका छन् ।

उदाहरणका लागि, सोल दुर्घटनाका पीडित परिवारको अपमान गरी परिमार्जित पोस्टर पोस्ट गर्ने व्यक्तिलाई १ मिलियन वन अर्थात (६ सय ८० डलर) जरिवाना मात्र मागिएको थियो । त्यसैगरी, इटावन दुर्घटनामा पीडितहरूमाथि ‘च्याटरूम’मा अपमानजनक टिप्पणी गर्ने व्यक्तिलाई पहिलो र दोस्रो दुवै सुनुवाइमा सफाइ दिइएको थियो । 

यसरी, अनलाइनमा घृणा फैलाउनाले कानुनी समस्या निम्ताउने मात्र नभएर, पीडितका परिवारलाई मनोवैज्ञानिक आघात पनि पुर्‍याइरहेको हुन्छ । पीडालाई अझ थप बढाउँछ । डानकुक विश्वविद्यालयको मनोविज्ञानका प्रोफेसर लिम म्योङ–होले यस्तो क्षति रोक्न सतर्कता अपनाउनुपर्ने बताउँछन् । 

‘अस्पष्ट स्रोतबाट आएको जानकारी वितरण गर्दा पीडितलाई थप क्षति नहुने तरिकाले गर्नुपर्छ,’ लिमले भने । विज्ञहरूले झूटो समाचार र द्वेशपूर्ण टिप्पणीले पीडितलाई पीडा थप्नुसँगै राष्ट्रिय संकटको समयमा सार्वजनिक अविश्वास र विभाजनलाई पनि प्रोत्साहित गर्ने चेतावनी दिएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully