काठमाडौँ — दक्षिण अफ्रिकाको उत्तर पश्चिम प्रान्तको एक सुनखानीमा रहेकामध्ये ६० जनाको शव र १ सय ६ जनाको जीवितै उद्धार गरिएको छ । प्रहरीले दुईदिनको प्रयासपछि 'जामा जामास' भनिने अवैध उत्खननकर्ताहरूको उद्धार गरिएको जनाएको छ ।
'दुई दिनको प्रयासपछि बुधबार १ सय ६ जनालाई जीवितै निकालिएको र अवैध उत्खननका लागि नियन्त्रणमा लिइएको छ । खानीमा रहेकामध्ये ५१ जनाको ज्यान गएको प्रमाणित भएको छ,' प्रहरीले एक विज्ञप्तिमा भन्यो । प्रहरीका अनुसार ९ जनाको शव भने मंगलबार निकालिएको थियो । सीएनएनले भने कम्तीमा १ सय ९ जनाको ज्यान गइसकेको जनाएको छ ।
खानीभित्र कति जना छन् भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । जोहानेसबर्गबाट १ सय ४० किलोमिटर दक्षिण-पश्चिममा रहेको स्टिलफन्टेन नजिकको खानीमा सुनका अवशेषहरू फेला पर्ने आशामा धेरै छिमेकी देशका मानिसहरूले पनि खोजी गर्ने गरेका छन् ।
प्रहरीले गत अगष्टदेखि खानी खाली गर्नका लागि कारबाही सुरू गरेको थियो । त्यसपछि १ हजार ५ सय ७६ जना खानीबाट बाहिरिएका खनिज स्रोत तथा उर्जा मन्त्रालयले जनाएको थियो ।
त्यसपछि अधिकारीहरूले खानीमा खाना तथा पानी आपूर्ती बन्द गरिदिएका थिए । तर गत नोभेम्मबरमा अदालतले खानीमा खाना तथा पानी आपूर्ती बन्द नगर्न आदेश दिएको थियो । अदालतले गत साता खानीमा रहेकाहरूको उद्धार गर्न आदेश दिएको थियो ।
लगत्तै प्रहरीले खानी भित्र रहेको अनुमान गरिएका करिब ४ हजार उत्खननकर्तालाई सहयोग गर्न नसक्ने बताएको थियो । प्रेसिडेन्सी मन्त्री खुम्बुद्जो सरकारले अवैध उत्खनन गर्नेहरू आपराधिक कार्यमा संलग्न भएकाले उनीहरूलाई सहयोग नगर्ने बताएका थिए । २ किलोमिटरभन्दा लामो सुरूङ रहेको खानीमा रहेका जीवितहरूको उद्धार तथा शवहरू निकाल्ने कार्य केही दिनसम्म जारी रहने प्रहरीले जनाएको छ ।
खनिज मन्त्री ग्वेदे मान्तासेले मंगलबार घटनास्थलको अवलोकन गरेका थिए । मानिसहरूले ज्यान जोखिममा राखेर अरूका लागि काम गरेको उनको भनाइ छ । 'सुन खानीबाट पैसा कमाउनेहरूले सुन खोज्नेहरूको ज्यानको जिम्मेवारी लिनुपर्छ,' उनले भनेका थिए ।
विश्वका सबैभन्दा गहिरा सुन खानीहरू रहेको दक्षिण अफ्रिका कुनै समय विश्वको सबैभन्दा ठूलो सुन उत्पादन गर्ने देश थियो । तर पछिल्ला केही दशकहरूमा दक्षिण अफ्रिकाको सुन उत्पादन घट्दै गएको छ । धेरै पहिलेका खानीहरूमा हाल उत्खनन गर्न छाडिएको छ र ती हाल जीर्ण अवस्थामा छन् ।
जसका कारण ती खानीहरू अत्यन्तै जोखिमपूर्ण मानिन्छन् । तर सुनको खोजीमा हजारौं मानिहरू अवैध रूपमा खानीमा प्रवेश गर्ने गरेका छन् । तिनीहरूमध्ये धेरैजसो छिमेकी देशहरू मोजाम्बिक, जिम्बाब्वे र लेसोथोबाट आउने गरेका दक्षिण अफ्रिकी अधिकारीहरूको भनाइ छ ।
अधिकारीहरूका अनुसार पछिल्लो समय अवैध खानीमा हत्या, डकैती र बलात्कारजस्ता हिंसात्मक अपराधमा संलग्न भएकाहरूको दबदबा छ । गत वर्ष जुनमा फ्री स्टेट प्रान्तको बन्द खानीमा मिथेन ग्यास विष्फोटपछि कम्तीमा ३१ जनाको मृत्यु भएको थियो ।
