चीन र रुसबीच हालसम्मकै उच्च व्यापार

पुस २९, २०८१

रासस

Trade between China and Russia at an all-time high

बेइजिङ — चीन र रुसले सन् २०२४ मा २ खर्ब ४४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको व्यापार गरेको तथ्यांक सार्वजनिक भएको छ । यो दुई देशबीचको हालसम्मकै उच्च मूल्यको व्यापार हो । चीनको भन्सार प्रशासन महाशाखाले प्रकाशित गरेको तथ्यांक अनुसार दुई देशले सन् २०२३ मा २ खर्ब ४० अर्ब १० करोड डलर बराबरको व्यापार गरेका थिए ।

पछिल्लो तथ्यांकले मस्कोमाथि पश्चिमा देशहरूको प्रतिबन्ध हुँदाहुँदै पनि दुई देशबीचको बलियो आर्थिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ । गत वर्षको वृद्धिले ठूला छिमेकी देशहरू बीचको व्यापारलाई ऐतिहासिक उच्च विन्दुमा पुर्‍याएको थियो । 

सन् २०२२ को सुरुमा रुसले युक्रेनमा आक्रमण गरेपछि बेइजिङ र मस्कोबीचको राजनीतिक र आर्थिक सम्बन्ध गहिरिएको हो । उक्त सम्बन्धलाई राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूबाट व्यापक आलोचना गरिएको छ र उनीहरूले प्रतिक्रियामा कडा प्रतिबन्धहरू लागू गरेका छन् ।

युक्रेन युद्धका मामिलामा चीनले आफू तटस्थ रहेको देखाउन खोजेको छ । तर उसले आक्रमणका लागि मस्कोको निन्दा गर्न भने बारम्बार अस्वीकार गर्दै आएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले हालै रुसी समकक्षी भ्लादिमिर पुटिनलाई नयाँ वर्षको सन्देशमा दुवै मुलुक ‘गुटनिरपेक्षताको सही मार्गमा निरन्तर हात मिलाएर अगाडि बढेको' बताएका छन् । 

यसैबीच, सन् २०२४ मा विश्वको शीर्ष दुई अर्थतन्त्र चीन र अमेरिकाबीचको व्यापार ३ दशमलव ७ प्रतिशतले बढेर ६ खर्ब ८८ अर्ब ३० करोड डलर पुगेको चिनियाँ भन्सार तथ्यांकले देखाएको छ । आफ्नो पहिलो कार्यकालमा चीनमाथि व्यापक शुल्क लगाउने अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालमा अर्को साता सुरु गर्दैछन् । उनले अमेरिकामा निर्यात हुने समानमा कडा व्यापारिक नीति अख्तियार गर्ने बताउँदै आएका छन् । 

रासस

Link copied successfully