के उत्तर कोरियाली सैनिकलाई युक्रेनविरूद्ध लड्न कठिन छ ?

माघ १०, २०८१

बुद्धिसागर मरासिनी

Is it difficult for North Korean soldiers to fight against Ukraine?

काठमाडौँ — दक्षिण कोरिया तथा पश्चिमा देशका अधिकारीहरूले रूस-युक्रेन युद्धमा खटिएका उत्तर कोरियाली सैनिकमध्ये ४० प्रतिशत मारिएको नयाँ तथ्य उजागर गरेका छन् । करिब ११ देखि १२ हजार उत्तर कोरियाली सैनिक करिब तीन महिना अघि रुसी सेनालाई सघाउनका लागि कुर्स्क क्षेत्रमा पुगेका थिए ।

उत्तर कोरियाले लड्न पठाएका सैनिकमध्ये ४ हजारभन्दा बढिको ज्यान गएको तथ्य उजागर भएको हो । केही सैनिक घाइते, बेपत्ता र बन्धक भएका जनाइएको छ । दक्षिण कोरियाली अधिकारीहरूका अनुुसार जनवरी दोस्रो सातासम्ममा १ हजार सैनिक मारिएका थिए । घाइते उत्तर कोरियाली सैनिकको कहाँ उपचार भइरहेको छ भन्नेबारे भने थाहा नभएको पश्चिमा अधिकारीहरूको भनाइ छ । 

एक साताअघि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको कुर्स्क ओब्लास्टमा दुईजना घाइते उत्तर कोरियाली सैनिकलाई युक्रेनी सेनाले पक्राउ गरेको बताएका छन् । युक्रेनविरूद्धको युद्धमा रूसलाई सघाउन गएका उत्तर कोरियाली सेना पठाएयता पहिलोपटक युक्रेनको नियन्त्रणमा पुगेका हुन् । 

गत अक्टुबर २८ मा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेन युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले सेना पठाएको जनाएको थियो । 'हामी विश्वस्त छौं कि उत्तर कोरियाले पूर्वी रुसमा तालिमका लागि  कम्तीमा १० हजार सैनिकहरू पठाएको छ । ती सैनिकले सम्भवतः युक्रेन युद्धमा रुसी सेनालाई सघाउनेछन्,' पेन्टागनका प्रेस उपसचिव सब्रिना सिंहले भनेकी थिइन् । 

'ती सैनिकहरूको एक भाग पहिले नै युक्रेनी क्षेत्रनजिक पुगिसकेका छन् । रुसले ती सैनिकहरूलाई लडाइँमा प्रयोग गर्न वा युक्रेनी सिमामा रहेको रूसको कुर्स्क ओब्लास्टमा युक्रेनी सेनाविरुद्धको  लडाइँमा प्रयोग गर्न चाहेकोमा हामी चिन्तित छौं,' उनले भनेकी थिइन् । 

त्यसअघि उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) ले कम्तीमा ३ हजार उत्तर कोरियाली सैनिक रुस पुगेका जनाएको थियो । दक्षिण कोरियाली गुप्तचर निकायले भने युक्रेनविरूद्धको युद्धमा पहिलो चरणमा ११ सय उत्तर कोरियाली सेना तैनाथ गरिएको जनाएको थियो । 

अमेरिका, दक्षिण कोरिया र नेटोले उत्तर कोरियाली सैनिक रुस गएको जनाएको दुई महिनापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियाली सैनिकहरू घाइते अवस्थामा पक्राउ परेको जनाएका हुन् । जेलेन्स्कीले पक्राउ परेका दुई घाइते सैनिक राजधानी किभस्थित युक्रेनको सुरक्षा सेवा (एसबीयु) को हिरासतमा रहेका र आवश्यक चिकित्सा सहायता पाइरहेको जनाएका छन् । 

बीबीसीका अनुसार जेलेन्स्कीले उत्तर कोरियालीहरूलाई कब्जामा लिएकोमा युक्रेनी प्याराट्रूप र विशेष कारबाही फोर्सका सिपाहीप्रति आफु कृतज्ञ भएको बताएका छन् । 'यो सजिलो काम थिएन,' जेलेन्स्कीले भनेका छन् । युक्रेन विरुद्धको युद्धमा उत्तर कोरियाको संलग्नताको प्रमाण मेटाउन रूस र उत्तर कोरियाली सैनिकहरूले घाइते उत्तर कोरियालीलाई मृत्युदण्ड दिने गरेका उनको दाबी छ । 

युक्रेनी गुप्तचर सेवाले ती सैनिकलाई जनवरीमा पक्राउ गरिएको र त्यसलगत्तै 'जेनेभा अभिसन्धि अनुसार सबै आवश्यक चिकित्सा सहयता प्रदान गरिएको र किभ लगिएको' जनाएको छ । 'उनीहरूलाई अन्तर्राष्ट्रिय कानुन अनुसार नै उपयुक्त अवस्थामा राखिएको छ,' गुप्तचर सेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । Is it difficult for North Korean soldiers to fight against Ukraine?

गुप्तचर सेवाका अनुसार ती युद्धबन्दीहरूले युक्रेनी, अंग्रेजी वा रूसी भाषा बोल्न सक्दैनन् । 'त्यसैले उनीहरूसँग दक्षिण कोरियाली एनआईएस (राष्ट्रिय गुप्तचर सेवा) को सहयोगमा कोरियाली अनुवादकहरू मार्फत सञ्चार गरिन्छ,' युक्रेनी गुप्तचर सेवाको विज्ञप्तीमा जनाइएको छ । 

टेलिग्राम र एक्समा पोस्ट गरिएको एक सन्देशमा जेलेन्स्कीले पक्राउ परेका सैनिकहरूले एसबीयुका अनुसन्धानकर्मीहरूसँग कुराकानी गरिरहेका र पत्रकारहरूलाई पनि पहुँच दिन निर्देशन दिएको जनाएका छन् । 'के भइरहेको छ भन्नेबारे विश्वले सत्य जान्न आवश्यक छ,' जेलेन्स्कीले भनेका लेखेका छन् । 

जेलेन्स्कीको कार्यालयले जारी गरेको विज्ञप्तिमा रुसले 'उत्तर कोरियाका सैनिकहरू हुन् भन्ने तथ्य लुकाउन खोजिरहेको' जनाएको छ । 'तर पक्राउ परेकाहरू वास्तवमा कोरियाली हुन्, तिनीहरू उत्तर कोरियाका हुन्,'  राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । 

गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाली सेना प्रयोग गरिएकोबारे अस्वीकार गरेका थिएनन् । प्रश्नको जवाफमा उनले त्यो रुसको ‘सार्वभौम निर्णय’ भएको बताएका थिए । 

गत डिसेम्बरमा दक्षिण कोरियाको गुप्तचर एजेन्सीले युक्रेन युद्धमा खटाइएका उत्तर कोरियाली सैनिक युक्रेनी सेनाले पक्राउ गरेपछि मृत्यु भएको जनाएको थियो । उनी युक्रेन युद्धका क्रममा ज्यान गुमाएका पहिलो उत्तर कोरयाली युद्धबन्दी भएको बताइएको थियो । 

अमेरिकी राष्ट्रपति कायर्यालय ह्वाइट हाउसले भने युक्रेन युद्धमा ठूलो संख्यामा उत्तर कोरियाली सैनिक हताहत भएको जनाएको थियो । युक्रेनमा कम्तीमा एक हजार उत्तर कोरियाली सेनाले ज्यान गुमाएका वा घाइते भएका ह्वाइट हाउसको दाबी छ । 

तर दक्षिण कोरियाली अधिकारीहरूले युक्रेनम युद्धमा ज्यान गुमाउने उत्तर कोरियाली सैनिकको संख्या कम्तीमा ११ सय पुगेको जनाएका छन् । दक्षिण कोरियाली गुप्तचर निकायले डिसेम्बर १८ सम्ममा कम्तीमा १ सय उत्तर कोरियाली सैनिक मारिएको तथ्यांक सांसदहरूलाई बुझाएको थियो । तर त्यसको एक सातापछि थप एक हजार उत्तर कोरियाली सैनिकले ज्यान गुमाएको गुप्तचर निकायले जनाएको थियो । 

'सूचना र गुप्तचरका विभिन्न स्रोतहरूमार्फत हामीले हालै युक्रेनी सेनासँगको लडाइँमा संलग्न करिब एक हजार एक सय उत्तर कोरियाली सैनिक मारिएको आँकलन गरेका छौँ,' दक्षिण कोरियाली सेना प्रमुखले जारी गरेको विज्ञप्तिमा भनिएको थियो । 

दक्षिण कोरियाले रूसलाई सहयोग गर्न थप उत्तर कोरियाली सैनिक तैनाथ गरिने सम्भावना रहेको जनाएको छ । प्योङयाङले पूराना सैनिकलाई फिर्ता बोलाएर वा थप सैनिक तैनाथ’ गर्ने तयारी गरिरहेको बताइएको छ । युक्रेनविरुद्धको लडाईमा रुसलाई थप सहयोग गर्न उत्तर कोरियाले 'आत्म-विनाशकारी ड्रोनहरूको उत्पादन गर्न र उपलब्ध गराउन लागेको' दक्षिण कोरियाली गुप्तचर निकायको दाबी छ । Is it difficult for North Korean soldiers to fight against Ukraine?

उत्तरले रूसी सेनाका लागि २४०-एमएम रकेट लन्चर र १७०-एमएम सेल्फ-प्रोपेल्ड आर्टिलरी दिँदै अएको छ । उत्तर कोरियाले रूस-युक्रेन युद्धमा लडाई अनुभवको आधारमा आफ्नो परम्परागत युद्ध क्षमता आधुनिकीकरण गर्ने लक्ष्य राखेको र त्यसले आफूहरूमाथि सैन्य खतरा बढाउन सक्ने दक्षिणको दाबी छ । 

उत्तर कोरियाले युक्रेन युद्धमा रूसी सेनालाई सहयोग गर्न हजारौँ सैनिक पठाएको छ । तीमध्ये अधिकांश सैनिक युक्रेनी सेनाले यसै वर्षको सुरुमा कब्जा गरेको कुर्कस् क्षेत्रमा खटिएका दक्षिण कोरिया र अमेरिकाको दाबी छ । 

रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रूसबीच सैन्य सम्बन्ध बलियो बनेको छ । प्योङयाङ र मस्कोबीच गत जुनमा हस्ताक्षर भएको ऐतिहासिक रक्षा सम्झौता डिसेम्बरदेखि लागू भइसकेको छ । विज्ञहरूका अनुसार उत्तर कोरियाली नेता किम जोङ-उन रुसबाट अत्याधुनिक प्रविधि र आफ्ना सैनिकका लागि युद्धको अनुभव हासिल गर्न इच्छुक छन् ।

यसअघि अमेरिका र उसका सहयोगीहरूले युक्रेनसँगको युद्धमा उत्तर कोरियाले रुसलाई गरेको समर्थनको आलोचना गर्दै वक्तव्य जारी गरेका थिए । प्योङयाङले उक्त वक्तव्यलाई ‘लापरबाहीपूर्ण उक्साहट’ भनको संज्ञा दिँदै आलोचना गरेको छ ।

उत्तर कोरियासँग करिब १२ लाख ८० हजार सैनिक छन् । रुसी सेनाको विपरीत उत्तर कोरियाली सेनासँग लडाइँमा सामेल भएको ताजा अनुभव भने छैन । उत्तर कोरियाले पुरानो सोभियत शैलीलाई पछ्याएको छ । 

तर उसको 'मोटराइज्ड इन्फेन्ट्री'मा आधारित मुख्य फौज युक्रेनविरूद्धको युद्धमा भने खासै प्रभावकारी हुने देखिँदैन । रुसी प्रणालीसँग घुलमिल नभएका कारण उनीहरूले मुख्य भूमिकामा रहेर लडाइँ लड्न कठिन देखिन्छ । त्यसका साथै, उनीहरूलाई भाषाको समस्या पनि उस्तै छ । जसका कारण उनीहरूको हताहतीको संख्या थप बढ्ने देखिन्छ । 

(एजेन्सीहरूको सहयोगमा)

बुद्धिसागर मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully