काठमाडौँ — अमेरिकाको क्यालिफोर्निया सहर अहिले डढेलोले आक्रान्त बनेको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलोका कारण कम्तिमा १६ जनाको ज्यान गएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । बीबीसीका अनुसार १३ जना बेपत्ता छन् ।
हालसम्म ३८ हजार एकडभन्दा धेरै क्षेत्रमा डढेलो फैलिएको छ । अधिकारीहरुका अनुसार डढेलोले १२ हजारभन्दा बढि घर तथा अन्य संरचना नष्ट पारिसकेको छ । डढेलोले ६० वर्ग माइलभन्दा बढी क्षेत्रफल जलेको र हजारौं मानिसहरूलाई विस्थापित गरेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।
क्यालिफोर्नियाको आगलागी नियन्त्रण अधिकारीहरूका अनुसार हाल सहरका चार मुख्य क्षेत्र प्यालिसेड्स, इटन, केनेथ र हर्स्टमा डढेलो नियन्त्रणमा ल्याउने प्रयास भइरहेका छन् । तीमध्यै सबैभन्दा ठूलो डढेलो प्यालिसेड्स क्षेत्रमा छ ।
प्यालिसेड्स क्षेत्रमा कम्तीमा २३ हजार ६ सय एकडभन्दा धेरै क्षेत्रमा डढेलो फैलिएको छ । त्यहाँको डढेलो हालसम्म ११ प्रतिशत मात्र नियन्त्रणमा आएको छ । प्यालिसेड्सको डढेलो ब्रेन्टवुड, एन्सिनो र माण्डेविल क्यान्यन जस्ता चर्चित क्षेत्र तर्फ पनि तीव्र गतिमा अघि बढिरहेको छ ।
त्यस्तै, दोस्रो ठूलो डढेलो इटनमा फैलिएको छ । इटनमा १४ हजार १ सय एकडभन्दा बढि क्षेत्रमा डढेलो फैलिएको छ । इटनमा १५ प्रतिशत डढेलो मात्र नियन्त्रणमा आएको छ । केनेथमा ९० प्रतिशत डढेलो नियन्त्रणमा आएको छ । डढेलोले १ हजार एकडभन्दा धेरै क्षेत्र ओगटेको छ । हर्स्टमा भण्डै ८ सय एकड क्षेत्रमा फैलिएको छ । हर्स्टको डढेलो ७६ प्रतिशत नियन्त्रणमा लिइएको छ ।
राष्ट्रिय मौसम सेवाले बुधवारसम्म लस एन्जलस र भेन्चुरा काउन्टीमा डढेलोको गम्भीर जोखिम कायमै रहने चेतावनी दिएको छ । आगलागीका कारण लस एन्जलसमा विद्युत् आपूर्ति रोकिएको छ । लस एन्जलसका करिब ३५ हजार घरमा अहिले बिजुली छैन । डढेलोका कारण चर्चित हलिउड क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । 
कसरी फैलियो क्यालिफोर्नियामा डढेलो ?
क्यालिफोर्निया डिपार्टमेन्ट अफ फरेष्ट्रि एन्ड फायर प्रोटेक्सन (क्याल फायर)का अनुसार पहिलो आगलागी लस एन्जलसको छिमेक प्यासिफिक प्यालिसेड्समा सुरु भएको थियो । स्थानीय समयअनुसार मंगलबार बिहान साढे दस बजे आगलागि सुरू भएको थियो ।
हालको डढेलो क्यालिफोर्नियाको इतिहासको सबैभन्दा ठूलोमध्येको एक डढेलो भनिएको छ । यद्यपी यो डढेलो लाग्नुको कारण भने पत्ता लागेको छैन । अनुसन्धानकर्ताहरुले डढेलोको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन् । त्यस्तै, डढेलोको अनुकूल अवस्था सिर्जना हुनुमा भने धेरै कारणहरु रहेको विभिन्न सञ्चार माध्यमहरुले बताउँदै आएका छन् ।
क्यालिफोर्नियामा सामान्यतया जुन र जुलाई महिनामा डढेलो लाग्ने गर्छ । तर यस वर्ष हिउादको सबैभन्दा जाडो हुने महिना जनवरीमा डढेलो लागेको छ । हाल डढेलो लागेको दक्षिण क्यालिफोर्नियामा लगातार खडेरी छ । महिनौंदेखि वर्षा भएको छैन ।
अमेरिकाको ‘ड्राउट मोनिटर’को अनुसार गत वर्षको जनवरीसम्ममा क्यालिफोर्नियाको ९६.६५ प्रतिशत क्षेत्र खडेरी मुक्त थियो । थोरै भागमा मात्र खडेरी थियो । तर गत डिसेम्बरसम्मको तथ्यांक हेर्ने हो भने गत डिसेम्बरको अन्त्यसम्ममा क्यालिफोर्नियाको ४०.९ प्रतिशत क्षेत्रमा मात्र खडेरी मुक्त थियो भने बाँकी भागमा खडेरी थियो ।
अमेरिकाको इन्भाइरोमेन्टल प्रोटेक्सन एजेन्सी (इपीए)को रिपोर्टका अनुसार जलवायु परिवर्तनले धेरै क्षेत्रमा डढेलो फैलाउन र डढेलोको संख्या बढाउन योगदान गरेको छ । त्यस्तै, स्यान्टा आना हावा (सुक्खा र तातो हावा)ले खडेरीमा थप बल पुर्याएर डढेलो उत्पन्न गरेको अनुमान गरिएको छ ।
क्यालिफोर्नियाको भित्री मरुभुमि क्षेत्रबाट समुद्रको किनार र बाहिरतिर बग्ने गर्छ । यसले वातावरण सुख्खा बनाउँछ र आगलागीको जोखिम उच्च बनाउाछ । यस्तो अवस्थामा चुरोटको ठुटा, सवारी साधन वा बिजुलीका तारको झिल्काले समेत डढेलो निम्ताउन सक्छ । मंगलबार राति प्रतिघण्टा १ सय ६० माइलसम्म हावा चलेको ‘एक्कुवेदर’का मौसमविद् डेनिएल एहरेसम्यानले अलजजीरामा बताएका छन् ।
सुक्खा वनस्पति मात्र नभएर, लस एन्जलसमा कम उचाइका बिजुली तार र काठका फोन पोलजस्ता जल्नसक्ने वस्तुहरू पनि थिए । विज्ञहरूले यस वर्षको मौसम अवस्था अझ खराब हुने चेतावनी पनि दिएका छन् । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार डढेलो नियन्त्रणलाई सघाउन अमेरिकाका अन्य राज्यका अग्निनियन्त्रक र अन्य देशका अग्निनियन्त्रकहरू पनि क्यालिफोनिया पुगेका छन् । 
डढेलोकै कारण हलिउडको केही भागहरू पनि ठप्प भएका छन् । ओस्कार मनोनयन, क्रिटिक्स च्वाइस अवार्ड तथा धेरै चलचित्र प्रिमियरहरू स्थगित गरिएका छन् । डिज्नीले आफ्नो मुख्यालय बन्द गरेको छ । त्यस्तै, एनबीसी यूनिभर्सलले पनि हलिउड युनिभर्सल स्टुडियोज थीम पार्कलाई बन्द गरेको छ । डढेलोका कारण हलिउड फिल्मसाग सम्बन्धित थुप्रै संरचनाहरूमा पनि क्षति पुगेको विभिन्न सञ्चार माध्यमहरुले बताएको छ ।
डढेलो नियन्त्रण गर्न पानी अभाव
डढेलो नियन्त्रणको क्रममा पानीको अभावको कारण ठूलो चुनौती सामना गर्न परेको थियो । विषेश गरि प्यालिसेड्स क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा पानीको अभाव भएको थियो ।
प्यालिसेड्स क्षेत्रमा भएको १० लाख ग्यालनको तीनवटा पानी ट्याङ्कीहरुको पानी तीवै गतिमा फैलिएपछि छिटै रित्तिए । जसले गर्दा त्यहााका ‘फायर हाइड्रेन्टहरुमा पानी अभाव भएको थियो । अधिकारीहरुका अनुसार हाइल्याण्ड्स जस्ता उचाइको क्षेत्रको लागि पानी भण्डारण गर्ने ट्यांकीहरू र तिनमा पानी पठाउने पम्पिङ प्रणालीहरू बिचको तालमेल नमिल्दा अवस्था जटिल बनेको थियो ।
लस एन्जलसको जल विभागका प्रमुख कार्यकारी अधिकृत जनिस किनोनेसका अनुसार सामान्यभन्दा चार गुणा बढी माग भएको कारण पानी आपूर्ति व्यवस्थापनमा समस्या देखिएको थियो । निर्माण कार्यमा प्रयोग हुने पानी ट्याङ्करहरुको सहयोग पनि लिइएको थियो । त्यस्तै, स्थानीय पोखरीहरूबाट पनि संकलन गरिएको थियो । स्थानीय बासिन्दाहरुलाई पनि घरको पानी बन्द गर्न आग्रह गरिएको थियो । 
डढेलोको मौका छोपेर लुटपाट
लस एन्जलसका विभिन्न क्षेत्रमा डढेलोका कारण मानिसहरूले आफ्नो घर छोड्न बाध्य भइरहेको समयमा आगोबाट जोगिएका घरहरु लुटेराहरू निशानामा परे । घरहरू लुटपाट गरेको आरोपमा करिब २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने रातको समयमा कफ्यु पनि लगाइयो ।
लस एन्जलस काउन्टीका प्रहरी प्रमुख रोबर्ट लुनाले लुटपाटलाई ‘अस्वीकार्य व्यवहार’ रहेको बताएकी छन् । उनले लुटपाटलाई नियन्त्रणमा लिनका लागि क्यालिफोर्निया नेशनल गार्डको प्रयोग गरिएको पनि जानकारी दिइन् । त्यस्तै लस एन्जलसकी मेयर केरेन बासले पनि नेशनल गार्डलाई गैर आपतकालीन भूमिकामा खटाइने र आगोले प्रभावित क्षेत्रहरूको सुरक्षा सुनिश्चित गर्ने बताइन् ।
उनले अर्काको घरमा प्रवेश गरेर सम्पत्ति लुट्ने कार्यमा संलग्न हुनेहरू प्रति शून्य सहनशीलता अपनाइने पनि चेतावनी दिएकी थिइन् । प्रारम्भिक अनुमानअनुसार डढेलोले पुर्याएको कुल क्षति र आर्थिक घाटा ४ सय ६० अर्बदेखि ४ हजार १ सय ३० अर्बसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
क्यालिफोर्नियाका विनासकारी डढेला
‘अगस्ट कम्प्लेक्स फायर’
अगस्ट कम्प्लेक्स फायर ग्लेन, लेक, मेंडोसिनो, तेहामा, ट्रिनिटी र शास्ता काउन्टीमा फैलिएको डढेलोले १० लाख ३२ हजार ६ सय ४८ एकड क्षेत्र ओगटेको थियो । त्यस डढेलोमा करिब ९ सय ३५ संरचनाहरु नष्ट भएका थिए ।
‘मेंडोसिनो नेशनल फरेस्ट’मा धेरै पटक एकै ठाउँमा बिजुली चम्किएर सुरू भएको थियो । डढेलो नोभेम्बरको मध्यसम्म लम्बिएको थियो । डढेलो पूर्ण रूपमा नियन्त्रणमा लिन ८७ दिन लागेको थियो । यो डढेलो दुर्गम क्षेत्रमा लागेकाले सर्वसाधारणको भने मृत्यु भएको थिएन । तर, एकजना अग्नि नियन्त्रकको मृत्यु भएको थियो ।
‘क्याम्प फायर’
सन् २०१८ मा क्यालिफोर्नियाको प्याराडाइज सहरमा लागेको ‘क्याम्प फायर’ १ लाख ५० हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको थियो । यो क्यालिफोर्नियाको इतिहासकै सबैभन्दा घातक डढेलो मानिन्छ । डढेलोमा सहरको ९५ प्रतिशत भाग जलेको थियो ।
नोभेम्बर २०१८ मा लागेको यो डढेलोमा ८५ जनाको मृत्यु भएको थियो भने झण्डै १९ हजार भवन र संरचनाहरू नष्ट भएका थिए । यो डढेलो १७ दिनपछि नियन्त्रणमा आएको थियो ।
यो डढेलो ‘प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिक’ कम्पनीको पावर लाइनमा सर्ट भएर लागेको थियो । गरेको थियो । कम्पनीमा लागेको आगोलाई तीव्र हावाले सुक्खा घाास र पातमा सम्पर्क भएपछि डढेलो फैलिएको थियो ।
‘डिक्सी फायर’
सन् २०२१ जुलाईमा लागेको डिक्सी फायरले बुट, लासेन, प्लुमास, शास्ता, र तेहामा काउन्टी क्षेत्र गरि ९ लाख ६३ हजार ३ सय ९ एकडमा क्षेत्र फैलिएको थियो । यो डढेलो १०४ दिनसम्म लम्बिएको थियो । प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिक कम्पनीको विद्युत् लाइनमा रुख खसेर डढेलो लागेको थियो ।
‘मेन्डोसिनो कम्प्लेक्स फायर’
सन् २०१८ जुलाईमा लागेको मेंडोसिनो कम्प्लेक्स फायरले मेंडोसिनो, लेक, कोलुसा, र ग्लेन काउन्टी गरि कुल ४ लाख ५९ हजार सय २३ एकड क्षेत्रमा फैलिएको थियो । डढेलो पूर्ण रूपमा नियन्त्रणमा आउन १ सय ६१ दिन लागेको थियो । यो डढेलोले २ सय ८० संरचना नष्ट गरेको थियो । डेढेलोका कारण एक जना अग्निनियन्त्रकको मृत्यु भएको थियो ।
‘वुलसी फायर’
सन् २०१८ को नोभेम्बरमा लागेको वूल्सी फायर भेन्चुरा र लस एन्जलस काउन्टीहरूमा फैलिएको थियो । यो डढेलोले ९६ हजार ९ सय ४९ एकड क्षेत्र प्रभाव पारेको थियो । डढेलोले १ हजार ६ सय ४३ संरचना नष्ट भएको थियो । त्यस्तै ८ सय ८३ जनाको मृत्यु भएको थियो ।
(एजेन्सीहरूको सहयोगमा)
