क्यालिफोर्निया — अमेरिकाको क्यालिफोर्निया राज्यमा तीन दिनदेखिको डढेलो अझै नियन्त्रणमा आएको छैन । डढेलोका कारण कम्तीमा ११ जनाले ज्यान गुमाइसकेका छन् भने लाखौं विस्थापित भएका छन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार डढेलोले १० हजारभन्दा बढी घर तथा अन्य संरचना ध्वस्त पारिसकेको छ ।अधिकारीहरूका अनुसार हाल कम्तीमा ६ स्थानमा डढेलो लागिरहेको छ । तीमध्यै सबैभन्दा ठूलो डढेलो पालिसेड्स क्षेत्रमा छ । त्यस्तै, इटन, केनेथ, आर्चर, हर्स्ट, लिडियालगायत स्थानका करिब ३८ हजार एकड क्षेत्रमा डढेलो लागिरहेको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलस (युएलसीए) का विद्यार्थीहरूलाई आफू रहेको स्थान खाली गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरिएको छ ।त्यस्तै, लस एन्जलस काउन्टीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । अधिकारीहरूले धुवाँ र खरानीका कारण हावाको गुणस्तर खराब भएको जनाउँदै स्वास्थ्य संकटकाल घोषणा गर्नुपरेको जनाएका छन् ।
![Wildfires in California [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/cal-fire-12-1112025024655-1000x0.jpg&w=1001&h=0)