इरानी थुनामा रहेकी इटालीकी पत्रकार रिहा 

पुस २४, २०८१

एजेन्सी

An Italian journalist imprisoned in Iran is released

रोम — इरानको कारागारमा थुनामा रहेकी इटालीकी पत्रकार सेसिलिया साला रिहा भएकी छन् । बुधबार रिहा भएसँगै उनी इटाली फर्किएकी जनाइएको छ । 

'कूटनीतिक र गुप्तचर संयन्त्रहरूसँगको गहन कार्यपछि २९ वर्षीया सेसिलियालाई बोकेको विमान तेहरानबाट उडेको छ,' इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उक्त जहाज स्थानीय समय अनुसार दिउँसो ३.३० बजे रोमको सियाम्पिनो विमानस्थलमा आइपुग्नेछ ।'

इल फोग्लियोकी रिपोर्टर सेसिलियालाई इस्लामिक कानुन उल्लंघन गरेको आरोपमा डिसेम्बर १९ मा पक्राउ गरिएको थियो । उनी पत्रकार भिसामा इरान पुगेको दिनपछि पक्राउ परेकी थिइन् । 

सेसिलियालाई हिरासतमा लिनुभन्दा केही दिनअघि इटालीको मिलानस्थित मालपेन्सा विमानस्थलमा इरानी इन्जिनियर मोहम्मद अबेदिनी नजाफाबादी पक्राउ परेका थिए । नजाफाबादीमाथि तेहरानलाई ड्रोनका सामग्री आपूर्ति गरेको आरोप लगाइएको छ । उनीविरूद्धको मुद्दामा जनवरी १५ मा सुनुवाई हुने बताइएको छ । 

इरानले सेसिलियाको गिरफ्तारी अबेदिनीको मुद्दासँग कुनै सम्बन्ध नरहेको बताएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सेसिलियालाई उनको रिपोर्टिङ यात्रका क्रममा 'इस्लामिक गणतन्त्रको कानुन उल्लंघन' गरेको आरोपमा पक्राउ गरिएको बताएका छन् ।

इटालीकी प्रधानमन्त्री मेलोनी अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित गल्फ क्लब पुगेको तीन दिनपछि सेसिलिया रिहा भएकी हुन् । 

एजेन्सी

Link copied successfully