राजीनामा दिँदै क्यानडाका प्रधानमन्त्री ट्रुडो

पुस २२, २०८१

एजेन्सी

Canadian Prime Minister Trudeau resigns

ओटावा — क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले केही दिनभित्रै राजीनामाको घोषणा गर्न सक्ने सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले सत्तारुढ लिबरल पार्टी नेताको पद छाड्ने विचार गरिरहेको बीबीसीले जनाएको छ । दलको नेताबाट बाहिरिएसँगै प्रधानमन्त्रीका रूपमा ट्रुडोको ९ वर्षे शासन अन्त्य हुनेछ । 

गत महिना उनको अर्थमन्त्रीले क्यानाडेली सामानहरूमा अमेरिकी शुल्क लगाउने डोनाल्ड ट्रम्पको धम्कीलाई कसरी व्यवहार गर्ने जस्ता नीतिगत असहमतिहरूलाई उद्धृत गर्दै राजीनामा दिएका थिए । पछिल्लो समय ट्रूडोको लोकप्रियता पनि मतदाताहरूमाझ घटेको छ । उनको दल यसै वर्ष हुने आमनिर्वाचनमा पराजयको बाटोमा रहेको सर्वेक्षणहरूले देखाएका छन् । 

उनले बुधबार आफ्नो पार्टीको बैठकअघि राजीनामा गर्ने आफ्नो मनसाय घोषणा गर्न सक्ने 'द ग्लोब एण्ड मेल' ले जनाएको छ । तर ट्रुडो तुरुन्तै पद छाड्ने वा नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्री पदमा रहिरहने भन्ने स्पष्ट नरहेको जनाइएको छ । 

आगामी प्रधानमन्त्रीले अमेरिकासँगको सम्भावित व्यापार युद्ध अन्त्य गर्ने चुनौतीको सामना गर्नुपर्नेछ । आगामी जनवरी २० देखि अमेरिकाको राष्ट्रपति पद सम्हाल्ने डोनाल्ड ट्रम्पले क्यानाडेली सामानहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेका छन् । 

क्यानडामा आगामी अक्टोबरअघि चुनाव हुनुपर्ने तालिका छ । तर लिबरल पार्टीको नेतृत्वमा हुने परिवर्तनले आगामी त्यसअघिनै मतदान हुने सम्भावना बढाउन सक्ने देखिन्छ । 

ट्रुडोले अप्रत्याशित रूपमा सन् २०१५ मा आफ्नो पार्टीलाई सत्तामा पुर्‍याएका थिए । त्यतिबेला ४३ वर्षीय नयाँ अनुहारले खुला अध्यागमन नीतिमा केन्द्रित राजनीति गर्ने, धनीहरूमाथि कर बढाउने र जलवायु परिवर्तनसँग लड्ने प्रतिज्ञा गरेका थिए । 

तर उनको पहिलो कार्यकाल विभिन्न घोटालाहरूका कारण विवादित बनेको थियो । तर पछिल्लो समय क्यानडामा बढ्दो महँगी र शासनशैलीका कारण उनको लोकप्रियता घट्न थालेको थियो । जसका कारण उनकै दलका एक दर्जनभन्दा बढी सांसदहरूले समेत ट्रुडोलाई राजीनामा दिन सुझाव दिएका छन् । 

एजेन्सी

Link copied successfully